आन्दोलनका स्वरूप बदलौँ

संसद विघटन र ओलीइतर नेताजनहरूको आन्दोलन घोषणा गरिएको घटनासँगै अहिले मुलुकमा राजनीतिक लू चलेको छ ।

चिसो बढेर कठाङ्ग्रिएका मान्छेहरूलाई न्यानो (तातो राख्ने विकल्पझैँ लाग्ने, देशको राजनीतिले ती पराल बालेर सेकिँदै अर्को बिहानीको जीवन कल्पने विपन्न ज्यानहरूलाई अहिले ओलीविरोधी खेमाका गाउँले ठालूहरूले आन्दोलनमा सामेल हुन उर्दी जारि गररिहेको देखेर नेपाली जनता पञ्चायती मण्डलेहरूका हर्कत् सम्झन बाध्य बनेका छन्।

एकातिर राजनीतिमा चरम एकल नेतृत्व शैली अँगालेका ओली र सत्ताबाट ओर्लेपछि “राजनीतिक मृत्यु“को डरमा तिनकै साथमा उभिएका तानाशाही चरित्रका मान्छेहरूले संसद विघटनको कदमलाई जतिसुकै ठीक देखाए पनि त्यो लोकतान्त्रिक पद्धति, देशको अर्थतन्त्र र नेपाली जनतामाथि बलात् अकर्मण्यता हो ।

आफ्नो दलको असली अध्यक्ष बन्न असफल बनेको ओलीसन्कीले विश्व राजनीतिक इतिहासका विख्यात पागल शासकहरूका नाउँ सम्झायो । गलत राजनीतिक निर्णयलाई करेक्सन गर्ने उपायका रूपमा चयन हुने आन्दोलन अहिले ओलीराजविरुद्ध देशभर उर्लंदोछ ।

यतिसम्म खेदजनक परिस्थितिको कल्पना नेपाली जनताले गरेका थिएनन्, हिजो जयजयकार गर्ने उसकै कार्यकर्ताहरू आज सडकमा उसैलाई मूर्दावाद् भन्दैछन् ! यति छोटो अवधिमा युटर्न भएको राजनीतिले मुलुकलाई फेरि खाडलतिर घिसार्दैछ ।

हो, आन्दोलन देशभरि दन्दनी बल्न थाल्यो । तर यो आन्दोलनले अब के झार्छ भन्ने कुरा मण्डले चरित्रका कथित कार्यकर्ताको उर्दी पालन गर्दै सडकमा उफ्रिँदै गरेका आन्दोलनकारीहरू उर्फ जनताहरूले यसबेला पनि अनुमान लगाउने छैनन् ।

तिनलाई बेस्सरी उफारिन्छ, टक्टक्याइन्छ र जे झर्छ, त्यो टपक्क टिपेर टाप ठोक्न ढुकिबसेका टपर्टुइय्याँ नेताहरूलाई चिन्न नसके आन्दोलनकारीहरू फेरि पनि सडकमै छाडिने निश्चित छ ।

हिजो नेपाली जनताले राजतन्त्र तथा सामन्ती व्यवस्थाका विरोधमा आन्दोलन लडेका हुन्, सडकमा धर्ना र जुलुस गरेका हुन्, जनयुद्ध र हिंसात्मक आन्दोलनको अनुभव गरेका हुन् । तर न्याय, समानता र सबैखाले बेथितिका बन्धनबाट उन्मुक्ति पाउने चाहना आन्दोलन सकिनासाथ तुहाइयो ।

फेरि कसका लागि आन्दोलन लडिदिनुपर्ने ? केपी ओली गलत, धूर्त, अट्टेरी, जनद्रोही, राष्ट्रघाती, अलोकतान्त्रिक तानाशाह बन्यो, त्यसलाई सिंहदरबार र बालुवाटारबाट लघार्नैपर्छ । विद्यादेवी विवेकहीन कठपुतली हुन्, तिनलाई पनि शितल निवासमा राज गरिरहन दिनुहुँदैन ।

तिनका ठाउँमा पुरानो व्यवस्थाको कल्पना गर्नु प्रतिगमन हो, राजनीति त अग्रगामी हुनुपर्छ । त्यसो भए के त, प्रचण्ड, माधव, झलनाथ कि शेरबहादुरहरूलाई सत्ता सुम्पिदिऊँ ? यी नेपाली जनताले नचिनेका अनुहार हुन ?
कोरोना महामारीसँगै प्राकृतिक, आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक (साँस्कृतिक विभेद र प्रकोपले थलिएका जनतालाई शान्तिको सास, सन्तुष्टिको गाँस र सुरक्षाको वास बसिस् कि होइन भनी खै गर्न छाडेर आन्दोलन गर्न सडकमा निस्की भनेर उर्दी जारि गर्ने नेता को हुन ? के आन्दोलन जिन्दावाद कि मूर्दावाद भनेर कराउनुमात्रै हो ?

आन्दोलनले जगाएको स्थायी परिवर्तनको चाहना पटकपटक खोसेर आफ्नो “ओलीगार्की“ स्थापना गर्ने यिनै अनुहारहरूलाई फेरि कुन आशामा नेपाली जनताले आन्दोलित भैदिनुपर्ने? ओलीलाई हटाउने, अनि त्यो ठाउँमा प्रचण्डलाई, होइन भने शेरबहादुरलाई चढाउने उद्देश्यका लागि जनताले फेरि पनि आन्दोलन गरिदिनुपर्ने ? पुग्यो, अब नयाँ स्वरूपको निर्णायक आन्दोलन हुनुपर्छ, आफ्नो खेतबारीमा बाँदरलाई गोठालो खटाउने र त्यसले बाली सखाप पारेको देखेपछि अर्को बाँदरलाई खटाउने गल्ती अब दोहो-याउनुहुँदैन ।

छिमेकीको सुखदुःख नबुझ्नेले देशको सुखदुःख बुझेको नाटक नगरोस ! आफू र आफ्नो समुदायको परिवर्तनको लागि सिन्को नभाँच्नेले देश परिवर्तनको गफ नछाँटोस ! त्यसकारण, आन्दोलनका नयाँ स्वरूपहरू खोजी गरिनुपर्छ, राजनीतिमा लोककल्याणकारी सँस्कार र राजनीतिक नेतृत्वमा सेवकीय नेतृत्वको विकल्प खोज्नुपर्छ र आजसम्म नेतृत्वमा लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न कन्जुस्याइँ गर्ने बेइमान मान्छेहरूलाई राजनीतिमा मसिहा ठान्ने दृष्टिकोण बदल्नुपर्छ ।

अबको आन्दोलन विकृत, बदनाम र बेइमान मान्छेहरूका कुरा नपत्याउने र देशप्रेममा प्रतिबद्ध र नैतिकवान नागरिकहरूको अहिंसात्मक र सिर्जनशील क्रान्तिमा परिणत हुनुपर्छ । त्यसकारण भन्नै परेको छ, अब देशमा नयाँ स्वरूप र परिवर्तनका लागि निर्णायक आन्दोलन लड्नुपर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button