दल एकताको सन्दर्भमा उठाउनैपर्ने सवालहरू

एकता सन्दर्भमा हामीले धेरैपल्ट दिमाग घोट्यौं, आफूलाई लागेका प्रस्तावहरू पेश गरेर बहस चलायौं तरै पनि एकता प्रक्रिया असफल प्रयासका रूपमा तुहियो – धेरै पटक । त्यो एकता सम्वाद र प्रक्रिया किन सफल भएन त?

तपाईंले पनि प्रश्न गर्नु परेको थियो वा तपाईंलाई नै कसैले सोधेको थियो, किन ती मिलेनन्? उक्त प्रक्रियामा हामीसँग सरोकार राख्ने दलको विषयमा तथ्यपरक जानकारी राख्नु उचित ठानेर यो छोटो लेख तयार गरेको छु। उसबेला के भएको थियो त?

उसैबेला सम्बन्धित साथीहरूलाई लिखितरूपमा गरिएको प्रस्तावमा समावेश भएका मूल कुराहरू समेटेर मैले यहाँहरूलाई हेर्न पढ्न र बुझ्न सहज होस् भन्ने उद्देश्यले राजनीतिक दलहरूलाई एकीकरण गर्ने सवालमा यसअघि पनि सम्बद्ध साथीहरूसमक्ष एउटा यस्तो प्रस्ताव राखेको थिएँ, मलाई लाग्छ यसमा सहमत र हार्दिक अपनत्व गरिदिने काम सबैपक्षबाट हुन्थ्यो भने एकता सफल हुनेथियो।

पार्टी संगठनको संरचना र पार्टीलाई विधिसम्मत ढंगले शिष्टता र आन्तिरक अनुशासनपूर्वक परिचालन गर्न मूल्यमान्यतामा आधारित एउटा व्यवहारिक मार्गचित्र स्वीकृत हुनुपर्थ्यो । सोही अभिप्रायले राखिएको उक्त प्रस्तावमाथि कति साथीहरूले त्यसमा समर्थन जनाउनु पनि भएको थियो।

तर जसले पार्टीको शिर्षस्थ जिम्मेवारी लिने दर्शन आफूमा भएको जिकिर गर्दै आउनुभएको हो, उहाँहरू नै यस कुरामा मौन बस्नु भएकोप्रति म स्तब्धताको स्थितिमा पुगेको कुरा अवगत गराउँछु।

राजनीतिक दल नीति–सिद्धान्त र मूल्यमान्यतामा चल्नुपर्छ। होइन भने कानुनी राज्य स्थापित गर्ने लक्ष्य बोकेका नेताहरूले झूटो बोल्दैछन् भनी बुझ्नुपर्छ।

राजनीतिका नेताहरू सर्वप्रथम आफैं विधिसम्मत् चल्नुपर्छ । त्यसका लागि पार्टीभित्रैको एउटा बलियो कानुनले आफैंलाई बाँध्ने चाहना हामीमा रहेन भने भोलि सत्तामा पुगेपछि हामीले के गरौंला? कुनै पनि समुह वा दल विधिमा चलेन भने त्यसले हदैसम्मको अराजकता स्वीकार्छ।

दलका नेताहरूले आफैंलाई विधिसम्मत नचलाएको परिणाममा त्यो अराजकता अहिले जतासुकै देखिएको छ । हामी आफैंले आफ्नो लागि विधि स्वीकार नगर्ने हो भने कस्तो दल हामीले बनाऔंला त्यसको अनुमान पक्कै गर्न सकिन्छ।

अहिले पार्टीमा कसले आफूसँग बलियो बहुमत र निरंकूश शक्ति सुरक्षित राख्ने भन्ने रणनीतिसाथ गरिएको एकता प्रस्तावले फरक मत राख्ने व्यक्ति वा पक्षलाई निषेध गर्ने सम्भावना प्रष्टै देखियो। त्यस्तो राजनीतिले दलमा सामुहिक नेतृत्व स्थापित गर्ने हाम्रो मान्यतालाई माथि उकास्दैन र साँचो विनम्रतामा समर्पित हाम्रै साथीहरूले लज्जित बन्नुपर्ने दिन आउने छ।

त्यसकारण पहिले विधि सिद्धान्त र पदीय मर्यादाका मापदण्ड तोकौं, तिनलाई मान्ने शपथ सृष्टिकर्ता परमेश्वर र हाम्रा सहकर्मीहरूका सामुन्ने पहिले गरौं भन्ने हार्दिक अनुरोधसाथ यो विषयमा गम्भीर भैदिनुहुन अपील गर्दछु ।

उसबेला मैले पार्टीमा निर्णय र कार्यान्वयन पद्दतिका लागि बयलगाडाको चक्काके उदाहरण दिँदै सामुहिक नेतृत्व पद्दति अङ्गीकार गर्नुपर्ने प्रस्ताव निम्नानुसार राखेको थिएँ:

१. फलाम र काठको चक्का वा घेराः केन्द्रीय कार्यसमिति, जसले पाटीका लागि नियम विधिहरू पारित गर्ने र दुई महाधिवेसनका बीचमा पार्टीलाई जीवन्त राख्ने निर्देशन दिनेसमेतको अधिकार आफूमा सुरक्षित राख्छ ।

२. हाता वा स्पोकहरूः केन्द्रीय स्थायी समिति, जसले पार्टीको आवश्यक नीति–नियम तथा कार्यक्रमहरू बनाउँछ र सचिवालयलाई निर्देशन तथा परिचालन गर्छ ।

३. मादल वा स्पोकबक्सः केन्द्रीय सचिवालय, जसले स्थायी समितिको निर्देशन, पार्टी विधान र नियमावलीमा तोकिएको जिम्मेवारी कार्यान्वयन गर्छ ।

४. धूरो वा हबः पार्टीको घोषणापत्र, विधान, नियमावली, आचारसंहिता साथै पार्टीले स्वीकार गरेका अन्य दस्ताबेजहरू, जसले पार्टीलाई शिष्ट र अनुशासनमा जीवित राख्छ ।

हामी जब जुट्छौं त्यसपछि हामी सबैले नै सकेको जति योगदान गर्दै सिङ्गो पार्टीलाई अपराजयी यात्रामा नेतृत्व दिनुपर्छ। यो अभियान बि. पी. खनाललाई कि भरत गिरीलाई वा अर्को कुनै व्यक्तिलाई जिताउने अभियान बन्नुहुँदैन।

हाम्रो प्रयत्नले पार्टीभन्दा पनि देशलाई विजयी बनाउने दर्शन सुनिश्चित गर्नुपर्छ। हामीमध्ये कसैले राजनीतिमा पहिले केही प्रष्ट दर्शन पाएका हुनसक्छौं तर त्यसको अर्थ बि. पी. खनालले वा भरत गिरीले मात्रै राजनीतिको यो दर्शन पाएको र बाँकी सबैले उनीहरूको सेवामा जीवन समर्पण गरिदिनुपर्छ भन्ने आग्रह हामीमा कहिल्यै आउनुहुँदैन ।

म भन्छु, हाम्रो समुदायबाट नेपाली राजनीतिलाई थोरैले अध्ययन गरेका र बुझेका छन् र मेरो नाउँ पनि तिनै थोरै मानिसहरूसित जोडिन्छ।

हामीले बुझेको राजनीति र त्यसको वास्तविक अभ्यासका लागि माथि चित्रमा देखाइएकै जस्तो विधि आत्मसात् गर्नुपर्छ । त्यसकारण पनि प्रस्तावित सैद्धान्तिक आधारभन्दा बाहिर मोडेर राजनीति गर्ने दुस्साहस स्वीकारेर कसैका दम्भ र ध्वाँसका पछि लाग्ने काम मबाट हुने छैन।

म आफैंचाहिँ प्रष्ट छु, कम्तिमा पनि यो देश र हामीले निर्माण गर्न लागेको पार्टीलाई भन्दा बढी महत्व दिएर कुनै व्यक्तिको निजी हित हुने किसिमको ‘सेवा’ गर्न अबचाहिँ म कदापि तयार हुनेछैनँ। धार्मिक आस्थाको सवालमा मैले धेरैपल्ट गरेको गल्ती मैले फेरि गर्नुहुन्न।

प्रभु येशू ख्रीष्टलाई पछ्याउने निर्णय गरेर सहधर्मी समुदायको सेवामा समर्पित गरेका ३० वर्ष बिताउँदै गर्दा मैले ख्रीष्टको एक साक्षीका रूपमा राजनीति र पत्रकारिता गर्दाको अनुभवमा होस् वा ख्रीष्टियन समुदायको साझा हितमा काम गर्दैगर्दा होस्, धेरै उतारचढाव, लुछाचुँडी र धोकापूर्ण ढंगले निजी स्वार्थका लागि आफूलाई उचाल्ने दर्जनौं मानिसका अनुहारहरू अहिले पनि मेरा आँखाअघि नाचिरहेका छन्।

साँच्चै भनूँ, मैले धेरैपटक धेरैबाट धोका पाएँ, धेरैले आफ्नो निजी स्वार्थका लागि मलाई प्रयोग गरे। तरै पनि त्यो धोकाबाट मलाईबाहेक मेरो देश र निज समुदायलाई ज्यादै ठूलो क्षती नभएकोले ती कपटपूर्ण व्यवहारहरू सहजै सहन गर्न सकेँ। तर अहिलेको सन्दर्भ निकै गम्भीर, पेचलो र संवेदनशील छ।

किनभने अहिले हामी नेपाल राष्ट्रमा कस्तो राजनीतिक संस्कृति स्थापित गर्नुपर्ने भन्ने विषयमा कसरत गरिरहेका छौं। यसबेला हामीले कदाचित अर्को गल्ती गर्नुहुँदैन। किनभने राजनीतिक दल अमुक व्यक्ति, वर्ग, क्षेत्र वा समुदायका लागि बन्नुहुँदैन। यसले समग्र राष्ट्रका लागि लोककल्याणको मार्गदर्शन पहिल्याउँछ ।

हो, राजनीतिले नीतिविधिमा मूल्यमान्यता कोर्छ र त्यसमा सम्झौताहिन अडान कायम राख्दै सम्पूर्ण राष्ट्रको सर्वाङ्गीण र दीगो विकासको मार्ग तय गर्छ र न्यायमा आधारित समृद्धशाली समाजको परिकल्पनालाई साकार तुल्याउँछ।

तर अहिले हामीमाझ भैरहेको राजनीतिक अभ्यासले त्यो सम्भावनालाई अझै अनिश्चित भविष्यतिर धकेल्दै गरेको हामीले दिखरहेका छौं, किनभने हाम्रा राजनीतिक पात्र तथा तिनले अवलम्बन गरिरहेको चरित्रले मुलुकलाई साँच्चिकै धोका दिइरहेको छ।

जब इमानदारिता, सच्चरित्रता एवं धार्मिकताको हवाला दिँदै उही आडम्बरी चरित्रले हामीभित्रै अझै पनि राजनीतिको नेतृत्व हत्याउने दाउपेच चालिरहेको छ भने त हाम्रो देशले इतिहासमै सबैभन्दा दर्दनाक दूर्गति भोग्ने छ। त्यसकारण अवश्यम्भावी देखिएको दुर्घटनालाई बेवास्ता गरेर फेरि पनि कसैका लागि प्रयोग नभैदिन तपाईं र मैले एउटा सभ्य असहमति जनाउनैपर्छ ।

तपाईं र मबाट देशले फेरि धोका खानु हुँदैन । तपाईं र म निजी लाभका लागि छलछामको राजनीति गर्न जुटेका होइनौं, हामीबाट त्यस्तो कार्य कदापि नहोस् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *