पत्रकार र पत्रकारितालाई शुद्धिकरण गर्ने चुनौती

वि.सं. २००७ साल अगाडिको जाहनिया राणा शासन पश्चातको बन्द पञ्चायती समाज । त्यस पछिका आवधिक खुल्लापन । दश वर्षसम्म माओवादी क्रान्तिका नाममा हिंसात्मक विद्रोहका कयौं कष्टकर चरण । नेपाली मनमस्तिष्कले कल्पना नै गर्न नसकेको शाही संहार ।

संकटकाल, राजा ज्ञानेन्द्रको सक्रिय शासन र फेरि बन्द, हड्ताल, जनआन्दोलन, मधेसी आन्दोलन, शान्तिप्रक्रिया, गणतन्त्र, प्रतिनिधिसभा, नयाँ संविधान, नाकाबन्दी, संघीय संरचना आदि छोटै अवधिमा ठूला घटनाहरु देख्न पाउने हाम्रो पुस्ता । लाग्छ यि कयौं परिवर्तनमा पत्रकारिताको विन्दुले अहम भुमिका निभाइएको त्यो सत्यलाइ हामीले कदापी नजरअन्दाज गर्न सक्दैनौ ।

नेपाल जस्तो यथार्थको हिसाबले नितान्त प्राचीन परम्परागत चाहनाले जेलिएको र हमेसा नयाँ बिचार ग्रहण गर्न नसक्ने भनेर चिनिएको मुलुकमा पत्रकारितालाई मानिसहरुले त्यति सजिलै ग्रहण गर्ने कुरा कल्पनाका सीमारेखा बाहिरका थिए ।

सामान्यतया भनिन्छ पत्रकारिता भन्नाले सत्य घटनाहरुमा आधारित रहि सञ्चार माध्यमबाट आम नागरिकलाई जानकारी गँराउनु बुझिन्छ । जसको परिणाम स्वरुप पत्रकारितालाई मुलुकका हरेक परिवर्तनका संवाहकका रूपमा लिइन्छ । यस्तो परिवर्तनका संवाहकका साँचो सम्हालेका पत्रकार अनि पत्रकारिताको विश्वसनीयता र सम्मान दुवैका अवस्था आज जीर्ण रहेको छ ।

देश परिवर्तनका बाटोमा लाग्दै गर्दा पत्रकारितामा पनि केही परिवर्तनका दृश्यहरु भने अवस्य देख्न सकिन्छ । हिजोका दिनमा हातैबाट लिखितम गरि प्रकाशन गरिने पत्रपत्रिकाका आजकाल आधुनिक प्रविधिको प्रयोगबाट प्रकाशन भएका छन् ।

पत्रकारिताका लागि विभिन्न आधुनिक उपकरणका विकाससँगै यस्ता कुराका प्रयोगले पत्रकारितामा केही नवीनतम परिवर्तनको आभास भनी पक्कै दिलाइदिएको भेटिन्छ । तर लामो पत्रकारिताको इतिहास मुलुकले बोकी रहदा जुन कुरामा वास्तविक गुणस्तरीय परिवर्तन देखिनु पर्ने हो, त्यो वास्तवमानै शून्य पाइन्छ ।

पत्रकारितामा विचार, प्रक्रिया, आदर्श, निष्ठा , सिद्धान्त सबै मौन भएको हामी पाउछौ । समयको बिकास अनि परिवर्तनसँगै ज्ञान, चिन्तन र अनुशासनको निरन्तरता र बिकास पत्रकारितामा पनि भेटिनु पर्ने हो । कयौं परिवर्तनहरु सँगै ज्ञान, चिन्तन र अनुशासनमा लामो पत्रकारिताको इतिहास मुलुकले बाकी रहदा यी यथावत कुरामा परिवर्तन र निरन्तरता नहुदा, पत्रकारिताका नाउमा भएका कयौं परिवर्तन आज अर्थहीन साबित भइरहेका छन् ।

यसका कैयौं आधार-कारकतत्व हुन सक्छन, कयौं मध्ये हाम्रो देशमा जागरुक पत्रकार, क्रियाशील पत्रकार र कर्मयोगी पत्रकार भन्दा पत्रकारिताको ज्ञान नभएका बरिष्ठ पत्रकारहरूको जगजगी अत्याधिक छ ।

प्रेस स्वतन्त्रताको आवाज बुलन्द गर्ने, पत्रकारका हक अधिकार अनि कामकारबाहीलाई आत्मसाथ गर्ने पत्रकार महासंघनै कयौं पत्रकारितामा विकृतिको खेती श्रुजना गर्ने कारखानाका रुपमा देखिएका छन् । पत्रकार महासंघ यहाँ पत्रकारिता कम र पार्टीकारिता ज्यादा गर्ने र गराउन सिकाउने तालिमि शिक्षालयका रुपमा देखिएका छन् । नत्र पत्रकारिता भित्रका ती कयौं ताण्डवको प्रताडितलाई रोक्नु पर्ने हो ।

प्रसङ्ग पत्रकार महासघं बाट प्रकाशित नामावलीले मलाई यो लेख लेख्न बाध्य पार्यो । नामावलीलाई सरसर्ती निहाल्दा वास्तवमानै पत्रकारिताको मूल मर्म माथी नराम्रोसँग प्रहार गरिएको देखियो । सामान्यतया पत्रकारिताको वास्तविक अर्थ नबुझी हल्लाको भरमा समाचार सम्प्रेषण गर्नेहरुबाट पत्रकारिता माथि हमला भएको सामान्यतया बुझिन्छ ।

समाचार नै चिन्न नसक्ने तर आफूलाई पत्रकार भनेर चिनाउन खोज्ने बाट पत्रकारिता निकै प्रताडित भएको अवस्थामा मात्र होइन, अनलाइन पत्रिका, राष्ट्रिय पत्रिका, दैनिक, आर्थिक, मासिक पत्रिका छुट्टाउन नसक्ने, क्यामारा ,माइक आदि शब्दको प्रयोग गर्दा वास्तवमा नै यी शब्दहरु नितान्त नौलो लाग्ने ।

पत्रकारिता बाहेक नितान्त छुट्टै व्यवसाय पेशा गरेका व्यक्ति विशेषहरुले अहिले पत्रकारका बिल्ला भिडेर पत्रकार महासंघको आगामी चुनावका लागि कृयाशिल पत्रकारका रुपमा देखिनु वास्तवमा नै पत्रकारिता माथिको तीखो प्रहार हो । जुन प्रवृत्तिले वास्तवमा पत्रकारिता माथि नै प्रश्न खडा गराइराखेको सो त देखिन्छ भने आगामी दिनमा कस्तो पत्रकारितालाई प्रसय वा जन्माउँदै छौ भन्ने प्रश्न पनि आफैंमा गराइराखेका छौं ।

जसले गर्दा समग्र पत्रकारितालाई हल्का रूपमा नेपाली समाजमा चित्रण हुन थालीरहेकोमा कुनै दुइमत छैन । सामान्यतया व्यक्ति हिसाब ज्ञानले सञ्चारमाध्यमलाई बुझ्ने परिवेशको ज्ञानको आवश्यकता हुन्छ ? यस्तो परिवेशको ज्ञान एक पत्रकारसँग कतिको छ ?

पत्रकारितामा लागेको मानिसको क्षमता कति छ ? कति जोस अनि जागर छ, लाग्छ यिनै प्रधान हुनुपर्ने पत्रकार महासंघको उम्मेदवारी वा भोटरका लागि । पत्रकारसँग जे छ, त्यो क्षमता हो । त्यो क्षमतालाई कुनै पनि हालतमा विस्थापनमा पठाउनु हुँदैन ।

महासंघको चुनावमा मात्र उदाएका अन्य समयमा हराउने बिल्लाधारी पत्रकारबाट कयौं कृयाशिल अनि कर्मयोगी पत्रकारका क्षमतालाई विस्थापिन गराउन अहम भूमिका खेलिरहेको सत्यबाट हामी कदापी भाग्न सक्दैनौ । पत्रकारिताको विषयमा अध्ययन गर्दा कहीँ कतै लेखिएको थियो ।

पत्रकारले जुन विन्दुबाट रिझाउने काम थाल्छन, पत्रकारिताको अन्त्य त्यहीबाट हुन्छ । भनिन्छ, जुनदिन देखि पत्रकारले पार्टीको कसम खाएर पत्रकारिता गर्छन त्यही दिनदेखि पत्रकारिता मर्छ । पत्रकारिता भनेको भक्तिगान होइन, यो त एक आलोचनात्मक चेत हो ।

यो कुनै पेशा मात्र होइन, यो त एक धर्म हो भने पत्रकार महासंघ पत्रकारका लागि मन्दिर हो । तर मन्दिरमा आफ्नो हकदाबी जनाउँदै कयौं नश्यिल र उपनिवेशवादी चिन्तनका पूजारीहरुले आफ्नो अधिपतिमा राख्न खोज्नु समग्र धर्म प्रतिको तिखो प्रहार हो ।

पत्रकारहरुले सदैब सहि बाटोमै उभिनका लागि प्रयत्न गर्ने हो । सहिको मार्गमा उभिदा कतिको सफल होइन्छ या होइन्न, त्यो फरक पाटो हो । पत्रकारिताको सुरुवात न्याय अनि सहि बाटोबाटै हुनुपर्ने हुन्छ । जुन आफैंमा पत्रकारिता क्षेत्रको सर्वोच्च धर्म भित्र पर्छ । तर बिडम्बना यहाँ यस्तो हुँदैन ।

सम्पत्तिवाद, नातावाद, जातिवाद स्वार्थ दबाब, प्रभाव र सत्ताको खेलले सिकिस्त पारिएको छ पत्रकारिता । पत्रकारिता विषय आफैमा अध्ययन गर्नुपर्ने विषय भएकोले पत्रकार बन्नका लागि अध्ययन अति आवश्यक रहेको मानिन्छ ।

अध्ययन विनाको पत्रकारिता हामीले कल्पना पनि गर्न सकिन्दैन। तर यहाँ वर्तमानमा देखिएका अधिकांश पत्रकारहरुमा शैक्षिक अध्ययन लगभग सामान्य कास बन्न आवश्यक शैक्षिक योग्यता पनि हामी पाउँदैनौ भने व्यवहारिक शिक्षाको कतिपय पत्रकारमा सुन्ने नै रहेको देखिन्छ ।

अब प्रश्न उठ्छ शैक्षिक अध्ययन र व्यवहारिक शिक्षाका कमि रहेका पात्रहरु यदि पत्रकारितामा हाबी रहनु भनेको दिनप्रतिदिन पत्रकारिता चुनौतीका दिशामा लम्किनु सिवाय केही सम्भावना देखिन्न ।

दासत्वलाइ प्रधान सम्झी हाँसिहाँसि दासत्व स्वीकार्यका पात्रहरुले, आफ्नो कारणले तमाम पत्रकारिता पेशा नै निर्लज्जाको सिकार भएको र आफु पत्रकारिता पेशा भित्रका भष्मासुरका उपनामले तमाम निष्ठावान, कर्मयोगी पत्रकारका माझ चिनिन्दासम्म पनि आफ्नो नांगिएको शरीरलाई कसरी छोप्ने भन्दा पनि पत्रकारको आबरणमा महासंघको चुनावमा सहभागि जनाउन महासंघबाट प्रकाशित अन्तिम नामावलीमा कतै आफ्नो नाम छुट्यो कि भन्दै, आफ्नो नामावलीलाई मेल गराउनु वास्तवमै एक चरित्रहीन नैतिक पतन व्यक्तिको कार्य सिवाय अरु कसैको हुँदैन ।

मानव भएर गरिने यस्तो कार्यलाई मानवताको न्यूनतम गुण पनि नभएको प्राणीका रुपमा प्राकृतिक नियमले चितरण गर्दछ । प्रश्न उठ्छ यस्तो विकृति र विसंगतिको ताण्डव पत्रकार महासंघको चुनावका नाउँमा देखिँदा सम्म पनि, पत्रकारको हक अधिकारका नाउमा कागजी पत्रकार तर फर्जी पत्रकारहरूको कहिँकतै वर्चस्व र तिनका वर्चस्वले जिताएको चुनाव वा हराएको चुनावले वास्तवमा नै फरक पार्दैन ।

मानवता , सिद्धान्त,आदर्श नैतिकता अनि मूल्य र मान्यता हराएर वा अपहरण गरी गराएको कुनै चुनावमा भएको हार र जितले कुनै अर्थ राख्दैन सामान्य व्यक्ति ज्ञान । आफूलाई पत्रकार भनेर चीनाउन महासंघबाट कागजी मेल मिलाएर पत्रकारका बिल्ला पाउनु ठुलो कुरो हो जस्तो लाग्दैन ।

कुरा त पत्रकारितामा उसको क्रियाशीलता, निरन्तरता र पत्रकारिता सम्बन्धी सामान्यभन्दा सामान्य ज्ञानको प्रथम त योगदान हो जस्तो लाग्छ एक पत्रकारका लागि । पछिल्लो समय पत्रकारितामा देखिएका कयौं विकृति र विसंगतिले र चुनावका बेलामा देखापर्ने पत्रकारका कारण कयौंपटक महासंघनै विवादमा तानिएका कयौं उदाहरण हामी माझ आज पनि जीवितै छन ।

पत्रकारिता भित्र देखिएका कयौं विवाद अनि विकृतिले आज पत्रकार भन्नेबित्तिकै राजनीतिक दलको कार्यकर्ता त कतै होइन भनेर मूल्याङ्कन गर्ने परिपाटीको विकास भएको छ र संचार माध्यम भन्ने बित्तिकै कतै न कतैबाट पालनपोषण भएको, कुनै संघसंस्था व्यक्ति वा राजनीतिक दलको मुखपत्रको रुपमा लिने गरिन्छ ।

जुन पत्रकार र पत्रकारिता विकासको सपना देख्नेहरु को लागि वास्तवमा हृदयबिदारक देखिन्छ । यस्तो पत्रकारितामा रहेको विसंगतिलाई मिल्काएर पत्रकारिताको विकासमा आफ्नो पाइला लम्काउनु पर्ने पत्रकार महासंघ नै जसको त्यहाँ वर्चत्व छ उसैको भजनमण्डलीका रूपमा देखिन्छ । त पत्रकार अनि पत्रकारिताको बारेमा विशुद्ध कलम चलाउने को ? एक गम्भीर प्रश्न ।

प्रसङ्ग पत्रकार महासघंको चुनाव पूर्वतयारीमा पत्रकार महासंघमा आवद्ध पत्रकारहरुको नामावली हेर्दा अधिकांश पत्रकारहरु मात्र आवरणका पत्रकार रहेको देखिन्छ । बाल्यकालमा एउटा कथा पढेको झझल्को आउछ एउटा गोठालोले गधा पालेको थियो ।

गधालाइ पालनपोषण गर्ने हैसियतमा उसको कमी देखापरेपछि उसले गधालाई बाघको आबरणमा (बाघको खोल ओढाएर) प्रायजसो किसानको धानबारीमा धान खानाको लागि छाडिदिने गर्दथ्यो । एकातिर किसानहरु बाघको डरले धानबारीमा जान डराउँथे भने आर्कातिर बाघ धानबारीमा आएतापनि बाघले धानमा कुनै क्षति नगर्नेमा ढुक्क थिए ।

तर दिनप्रतिदिन धानबारीको धानवालीहरु सिधिदै गएपछि किसानहरुले बाघको आवरणमा रहेको गधाको वास्तविकता चाल पाए । त प्रश्न कथाको सार झै आवरण दिलाएर केही स्वार्थ पूर्तिका लागि ल्याइएको पत्रकारहरु त एक मानिस हुन् नि ! विचारा त्यो पशु थियो, हामीले जे गर्छौ त्यो गर्नु उसको बाध्यात्मक रहेको हुन्छ वा थियो ।

हामी मानव भएर पनि, त्यो पनि पत्रकार जस्तो जिम्मेवार र गरिमामय पेसामा आच पुर्याउने वा कसैको कठपुतली बन्नु एक विवेकशिल प्राणीको शोभनीय भित्र पर्छ ? लाग्छ, पटक्कै पर्दैन ।

वास्तवमा नै भन्नुपर्दा यस्ता आवरणधारी पत्रकारहरुका आवरणले पत्रकारिता माथि गम्भीर प्रहार गरिरहेको छ । हो महासंघको चुनावमा कुनै न कुनै राजनीतिक दलप्रतिको झुकाव राख्दै उम्मेदवारीको घोषणा गरिन्छ त्यो सत्य हो । तर आफ्नो उम्मेदवारीलाई जितमा परिणत गराउनको लागि आफ्नो पकेट भोट चुनावका केही महिना वा वर्ष अगाडि नै सुरक्षित बनाइन्छ ।

पकेट भोट्का नाममा आफ्नै श्रीमती, सालासाली, भाई, छोराछोरी लगायत कयौं आफ्ना विश्वासिला मानिसलाई महासघंको कागजी प्रक्रियालाई पूर्णता दिलाउँदै पत्रकारितासम्बन्धी अनभिज्ञ छन् भन्ने जान्दाजान्दै पत्रकारिताका आवरण दिलाउनु वास्तवमा नै एक पत्रकारिता क्षेत्रको गम्भीर अपराध हो ।

यसरी विभिन्न राजनीतिक पार्टीका केन्द्र, जिल्ला र भातृ संगठनमा सक्रिय रहेका मात्र पत्रकारिता पेशामा पटक्कै नरहेका नेता देखि क्रियाशील पत्रकार स्वयंले विभिन्न पेशामा रहेका आफ्ना श्रीमती, छोराछोरी, सालासालीलाई समेत पत्रकार महासघंको सदस्य बनाएर पत्रकारको बिल्ला भिराएको प्रष्ट व्यवहारिक पाटोबाट देखाउँछ ।

घरमा फुर्सदमा रहेको बेला सामाजिक सञ्जाल चलाउनेलाई पत्रकारिता भनिन्छ भने, भन्नु केही छैन । तर यस्तो नकाबधारी पत्रकार अनि यसलाई बढवा दिने पत्रकारिता रहुन्जेल सम्म देशले निष्पक्ष पत्रकारिता र जनताले सत्य तथ्य र निष्पक्ष समाचार को अपेक्षा गर्नु बेकार हुनेछ । जुन तीतो छ तर वास्तवमै सत्य यही हो ।

पत्रकारिता भित्र पनि सीमित वर्चस्व भएका व्यक्तिहरुले आफ्नो वर्चस्व यथावत् राखीराख्नका लागि पत्रकारिताको मूलमर्म माथि नै यसरी कुल्चिँदा सम्म पनि ती तमाम कर्मयोगी पत्रकारहरु आनन्द मानेर सहने हो भने पत्रकारितामा शुद्धीकरणको कल्पना वास्तवमा नै कल्पनाका सीमारेखा बाहिर रहेने छ ।

पत्रकारले दासत्व स्वीकार्दैनन र मालिकको नियन्त्रणमा बस्नु हुँदैन भनेर पढेका तमाम पत्रकार र तिनका पत्रकारिताले, पत्रकारिता भित्रको कालो बादल र पत्रकारिता भित्रको ताण्डबलाई सहेर बस्नु भनेको आफ्नो पत्रकारिता भित्रको निश्पक्षता, निष्ठा, सिद्धान्त त्याग, तपस्या र कयौं बलिदानका ठेलिहरुलाई कुनै भट्टीमा जलाएको पक्कै हुनुपर्दछ ।

नत्र स्वतन्त्रताको पक्षमा कलम चलाउनेहरु नै आफ्नो स्वतन्त्रता माथि कयौं बादल मडादिरह्दा सम्म पनि कतिञ्जेल मौन, एक प्रश्न ? स्वतन्त्रताका नाउँमा कलम चलाउनेहरु नै यसरी निहत्या र सिथिल भएपछि पत्रकारको नाउ र पहिचानका खोजी कहाँ खोज्ने ? यसको जवाफ दिन सक्नुपर्दछ ।

आलेखको कसैलाई ठेस पुर्याउने अभिलाषा लिई लेखिएको होइन, वास्तवमा नै पत्रकारिता भित्रको विकृति र विसंगतिलाई सुधार्ने र स्वतन्त्र पत्रकारितालाई मजबुत बनाउने एकमात्र उद्देश्यले लेखिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button