ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय प्रचण्डलाई

काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय गरेको छ।

आज पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कहिलेदेखि फिर्ता लिने भन्ने निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई दिएको प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिए।

‘समर्थन फिर्ताको औपचारिक पत्र कहिले दिने भन्ने बारेमा अध्यक्षले निर्णय गर्नुहुनेछ’, उनले भने, ‘जुन छिट्टै हुनेछ।’

माओवादी केन्द्रले प्रतिनिधिसभा विघटन गरेसँगै वर्तमान सरकारलाई आफूहरुको समर्थन नरहने बताउँदै आएपनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय संघीय संसद् सचिवालयलाई दिएको छैन।

वैकल्पिक सरकार गठनको पहलकदमी लिइरहेको दाबी गर्दै आएको माओवादी केन्द्रले समर्थन फिर्ताको निर्णयमा पुग्न सकेको छैन।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग बारम्बार द्विपक्षीय, त्रिपक्षीय छलफल भए पनि उक्त छलफलले आकार लिन सकेको छैन।

कांग्रेसले केन्द्रीय कार्य समितिबाट आफ्नै नेतृत्वमा नयाँ सरकार निर्माण गर्ने निर्णय गरिसकेको छ भने जनता समाजवादी पार्टीले पनि यसबारेमा स्पष्ट निर्णय लिइसकेको छैन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button