images
images
  • Latest Update

    Trending

    कम्पनीका लागि सीईओको भूमिका महत्वपूर्ण : उपराष्ट्रपति यादव

    काठमाण्डौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कुनै पनि संस्था/कम्पनीका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) महत्वपूर्ण पद भएकोले यो पदमा आसिन भएकाहरुले आफ्नो भूमिका कौशलताका साथ निर्वाह गर्नुपर्ने बताउनु भएको छ ।

    नेपाल व्यवस्थापन संघ (म्यान) द्वारा शुक्रबार काठमाडौंमा आयोजित ‘सीईओ कन्फेरेन्स, २०२४’ सम्मेलनको समुद्घाटन गर्दै उक्त कुरा बताउनु भएको हो । उहाँले आफ्नो सम्वोधनका क्रममा वित्तिय तथा गैर–वित्तिय क्षेत्रमा कार्यरत नेतृत्व तहलाई नेपालसहित विश्वमा बदलिदो परिवेश, नविनतम प्रविधि विकास, खस्कदो अर्थतन्त्र र संस्थाको नेतृत्व तहले कम्पनीको समस्या समाधान र उन्नयनका लागि अवलम्बन गर्न सक्ने विषयबारे यो सम्मेलनले प्रचुर ज्ञान आर्जन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    ‘यस सम्मेलन मार्फत् सरोकारबालालाई प्रविधि, उदयमान उद्योग, नवप्रवर्तनमा आधारित व्यवसायिक मोडलबाट परिचालित कार्यस्थलको सुनौलो भविष्यका लागि मार्गदर्शन गर्न सहयोग पुग्ने अपेक्षा पनि गरेको छु ’ उहाँले भन्नुभयो, ‘ठूला कम्पनीमा कार्यरत सीईओ अन्य क्षेत्र र अधिकारीहरुसंग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले उहाँहरुले आफ्नो व्यक्तिगत हितको तुलनामा कम्पनीका लागि ईमान्दारिताका साथ भूमिका निर्वाह गर्नु पर्दछ । त्यो ईमान्दारिता कायम गर्न नसकेको अवस्थाका संस्था/कम्पनी धरासायी हुने सम्भावना रहन्छ । त्यसैले पदिय दायित्व, गरिमा र ओजलाई कायम राख्न कुनै कसर बाँकी राखिनु हुन्न । ’

    उपराष्ट्रपति यादवले नवप्रवर्तन (स्टार्टअप्स) कम्पनीमा कार्यरत सीईओले सबै व्यावसायिक दिनचर्याहरुमा आफ्नो मिहिन दृष्टि राख्दै त्यसमा सहभागि हुन सक्नु पर्ने समेत बताउनु भयो । ‘यो पदमा बस्नेहरु सक्षम र दक्ष नहुनु कै कारण धेरै कम्पनीहरु उठ्नै नसक्ने अवस्थामा पुगेको उदाहरणहरु हामी सामु प्रशस्तै छन्’ उहाँले भन्नुभयो, ‘यो गम्भिर विषय हो, सरोकारवालाको ध्यान जानै पर्दछ ।’

    उहाँले सीईओले कम्पनीको संगठनात्मक संस्कृतिको प्रवक्ताको भूमिका निर्वाह गर्दै संस्थालाई सफल दृष्टिकोण, मिसन र उद्देश्यका साथ संचालन र विकास उन्मुख बनाउनु पर्ने पनि बताउनु भयो । ‘सीईओ कुनैपनि संस्थामा आइपरेको समस्या समाधानमा रणनीतिक योजना मार्फत अघि बढ्न निर्देशित गर्न सक्ने पनि हुनु पर्दछ ’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘ एउटा सीईओका लागि संस्थामा राम्रो टिम हुनु अति आवश्यक शर्त हो । टिमको विश्वास र समर्थन बिना सफल हुन सकिन्न । कुनै गुनासा र आरोप पछि त्यसको समाधान गर्न आत्मचिन्तत अपरिहार्य हुन जान्छ । यसले जीवनमा विनम्रता मात्रै ल्याउँदैन आफ्नो व्यवहार र कार्यहरुको विश्लेषण गर्दै अघि बढ्न तथा संस्था/कम्पनीलाई सफलताको उचाईमा पुर्याउन सहयोग गर्दछ । ’

    उहाँले हरेक म्यानेजर (प्रबन्धक), लीडर (नेतृत्वकर्ता) हुन नसक्ने उल्लेख गर्दै समादर, शिष्टता, सदाचार, सद्–व्यवहार र आत्मविश्वासका साथ नेतृत्व गर्न सक्नेले नै सम्मान पनि पाउने बताउनु भयो । ‘एउटा सीईओ आधुनिक कार्यस्थलमा स्वयंलाई मात्र होइन संस्थालार्ई स्थापित गर्ने कलाको पारखी पनि बन्न सक्नु पर्दछ ’ उहाँले अगाडि भन्नुभयो, ‘ कुनै पनि लगानीको भविष्य तब मात्रै सुनिश्चित हुन सक्दछ, जब हामी परिवर्तित परिवेश, माटो र भूगोल सुहाउँदो वातावरणबारे सही तथ्य र ज्ञानका साथ अघि बढ्न सक्दछौं । खासगरी, नवीनतम प्रविधिहरुको प्रयोग र त्यसबाट सिर्जित अवसर एवं चुनौतिहरुको पहिचान गर्दै अघि बढ्न नितान्त जरुरी छ ।’

    उहाँले यो क्षेत्रमा नेपालले अंगीकार गर्नुपर्ने आवश्यक रणनीतिहरुको तर्जुमा गर्दै समस्या समाधानसहित लगानीका अवसरहरुलाई बढी भन्दा बढी उपयोग गर्नु पर्ने उल्लेख गर्दै भन्नुभयो, ‘आजको युग नवीनतम प्रविधिको प्रयोग गरि व्यवसायमा सफलता हासिल गर्ने युग पनि हो । यसै प्रविधि अन्तर्गत परिवर्तनलाई कसरी अंगीकार गर्न सकिन्छ भन्ने मूल ध्येयका साथ अगाडि बढन सके हामी हरेक क्षेत्रमा सफल हुन सक्छौ ।’

    उपराष्ट्रपति यादवले पछिल्लो समय विश्व एउटा कठिन आर्थिक, प्राकृतिक, प्रविधिक जटिलता उन्मुख अवस्थामा रहेकोले त्यसबाट त्राण पाउन सम्बन्धित सबैलाई थप सजग, सचेत र सावधान हुन यो सम्मेलन कोशेढुंगा बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । उहाँले कार्यक्रममा सहभागि सम्पूर्ण स्वदेशी तथा विदेशी विज्ञहरुले सम्मेलन मार्फत् समस्याग्रस्त विश्वका लागि एउटा महत्वपूर्ण साझा सूत्रको पहिचान गर्दै यस क्षेत्रमा देखिएका वा देखिने संभावित विकृति, विसंगति र अस्तव्यस्तताको समाधान हेतु परिवर्तनलाई आत्मसात गर्न सक्ने मार्ग प्रशस्त गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्