images
images
  • त्रिपुरासुन्दरीमा “आमा बचाउ अभियान”: पाठेघरको शल्यक्रियापछि उज्यालिए आमा

    रातोपाटीन्यूज संवाददाता । सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका २ चोकटी गाउँकी ४९ वर्षकी नेप्टी थामी भक्तपुर अस्पतालमा पाठेघरको सफल शल्यक्रियापछि खुबै उज्यालो देखिएकी थिइन् । वर्षौदेखि ढाड, कम्मर तथा सानो पेट दुख्ने पोल्नेजस्ता शारीरिक पीडा व्यर्होदै आएकी उनी मृत्यु हुनुअघि यस्तै कठिन हुने अनुमान गर्थिन् ।

    घाँसपात होस् या दाउरा बटुल्नु यस्ता घरधन्दाको चटारोबीच समय निकालेर थामी बारम्बार यही असह्य पीडाबारे बुझ्न स्वास्थ्य चौकी र केन्द्र पुग्थिन् । स्वास्थ्यकर्मीले काठमाण्डौस्थित अस्पताल गएर स्वास्थ्य परीक्षण गर्न र शल्यक्रिया गर्नुपर्ने सल्लाह दिन्थ्ये । तर, आर्थिक अभावबीच संघर्ष गरिरहेकी उनका लागि यो लगभग असंम्भवजस्तै थियो । कयौपटक चोकटीका लक्षेश्वर महादेवको मन्दिरलाई पुकार गर्दै उनी रुने गर्थिन्, “लौ भगवान् मेरो यो असह्य पाप कटोस् ।”

    संयोगवश त्रिपुरासुन्दरी गाउँपालिकाबाट वडापिच्छै संञ्चालित “आमा बचाउ अभियान” अन्र्तगत स्वास्थ्य परीक्षण शिविरमा उनी सहभागी भइन् । आर्थिक वर्ष ८०/८१ भर पाठेघर झरेकाहरुको शल्यक्रियामा छानिएर उनीसहित २४ जनालाई गाउँपालिकाले भक्तपुर अस्पतालमा उपचारका लागि लग्यो । केही दिनमा झरेको पाठेघरको सफल शल्यक्रिया पाएपछि थामी आहिले हर्षित छिन् ।

    “अपरेसनबाट पुर्नजिवन पाएको महसुस गरेको छु, आमा बचाउने अभियान सुरु गर्ने गाउँपालिका र यो पीडाबाट मुक्ती दिने स्वास्थ्यकर्मीलाई धेरै धन्यवाद, थामीले भनिन् ।” उनीझै गापाप्रति धन्यवादी देखिएकी थिइन्, त्रिपुरासुन्दरी गापा ४ पिस्करकी ८० वर्षकी सोममाया तामा

    उपचाररत सबैको स्वास्थ्य अवस्था बुझ्न आएका गापा अध्यक्ष भक्तध्वज बोहोरालाई भेटेर उनको हौसला झनै बढ्यो । “छोरा तिमिले गर्दा मेरो उपचार भयो, थाहै थिएन्, पाठेघरमा समस्या भएको रहेछ, अब मर्नेबेलामा भएपनि आनन्दले मर्छु, ” तामाले गापा अध्यक्षको शिर मुर्सार्दै भनिन् । गाह्रो काम गर्दा र बस्दा केही खसेको अपठ्यारो अनुभवबीच उनले लामो समय गुजारिन् । आफुले यसलाई वृद्धअवस्थाको सामान्य समस्याको रुपमा लिएर वेवास्ता गर्दै आएको उनको भनाइ छ । “खप्नै नसकिने पीडा भयो भने भगवानलाई सम्झन्थ्ये ,नभन्दै गाउँपालिका भगवान बनेर आयो, अनि मैले उपचार पाए,” उनले भनिन् ।

    त्रिपुरासुन्दरी गापा ५ की ६८ वर्षकी कृष्णकुमारी विकको कथा पनि खासै फरक छैन् । महिलाको गहिरो स्वास्थ्य समस्यालाई बुझेर गापाले उपचार गरेकोमा आफुलाई धेरै खुशी लागेको बताउँछिन् उनी । “साच्चिँकै आमा बचाउने काम भएको छ, यसले हामीलाई सन्तुष्टि प्राप्त भएको छ, हामीले यँहा आएपछि आफ्नो रोग र समस्या थाहा पायौ, उपचारपछि शरिर फुर्तिलो भएको अनुभव गरिरहेको छु,” विकले भनिन् ।

    त्रिपुरासुन्दरी गापा स्वास्थ्य शाखाका संयोजक चन्द्रनारायण साहकानुसार थामी, तामार विकजस्तै गापाभरका पाठेघरमा खस्ने समस्या भएका २४ जनालाई शल्यक्रियाको लागि छानिएको थियो । जसमा १९ जनामध्ये १३ जनाको भक्तपुर अस्पतालमा सफल शल्यक्रिया भइसकेको उनले बताए ।

    “बाँकीको पाठेघरभित्र घाउ देखिएकाले केही जटिल हुने कारण आवश्यक उपचार भइरहेको छ, यसअघि ३९ जना आमालाई स्वास्थ्यकर्मीको सल्लाहमा रि पेसरी राखिएको थियो,” साहले भने । “आमा बचाउ अभियान” अन्र्तगत गापाको ६ वटा वडापिच्छै गरिएको एकदिने स्वास्थ्य शिविरमा ५ सय २१ जना सहभागी भएका थिए ।

    यसअघि परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालको सहयोगमा गाउँपालिकाले यस्ता समस्या भएका २१ जनाको शल्यक्रिया र उपचार गरेको थियो । यसपटक त्रिपुरासुन्दरी गाउँपालिकाको दुई लाख ७५ हजार बजेटमा भक्तपुर अस्पतालले सहुलियत शुल्कमा शल्यक्रिया र अन्य उपचार गरेको त्रिपुरासुन्दरी गापा अध्यक्ष भक्तध्वज बोहोराले बताए । “अन्य आवश्यक बजेट गापाले व्यर्होनेछ, किनकी जनताको स्वास्थ्य स्थानीय तहको जिम्मेवारी हो,” उनले भने ।

    यहाँ दुर्गम भेगका महिलामा स्वास्थ्य सचेतनाका अभावका कारण वृद्धामा पनि पाठेघरसम्बन्धी समस्या देखिएको उनले प्रष्ट्याए । अधिकाशं महिलामा यस्तो समस्या देखिएपछि आफ्नो कार्यकाल सुरुभएलगत्तै यस्तो अभियान सुरु गरेको उनले जनाए ।

    सानो उमेरमा बिबाह, धेरै बच्चा जन्माउनु, गह्रौ भारी बोक्नु र टुक्रुक्क बसेर धेरै काम गर्नुजस्ता कामले पाठेघर खस्ने समस्या पहाडी भुभागमा व्यापक देखिएको उनको कथन छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै