images
images
  • मौद्रिक नीति शुक्रबार नै ल्याउने राष्ट्र बैंकको तयारी, कस्तो आउँदैछ मौद्रिक नीति?

    काठमाडौं- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति ल्याउने अन्तिम तयारी गरेको छ। शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने गरी केन्द्रीय बैंकले नीतिको मस्यौदा तयार पारिसकेको हो।

    मौद्रिक नीतिको विषयमा निर्क्योल गर्न आजै राष्ट्र बैंकको व्यवस्थापन समिति बैठक बस्दैछ। शुक्रबार बिहान बस्ने सञ्चालक समितिको बैठकले मौद्रिक नीति अनुमोदन गरी सार्वजनिक गरिने राष्ट्र बैंकका एक अधिकारीले बताए।

    मौद्रिक नीतिको विषयमा केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री विष्णु पौडेलबीच मंगलबारै छलफल भएको छ।

    अर्थमन्त्री र गभर्नरबीच लचिलो मौद्रिक नीति ल्याउने समझदारी भएको ती अधिकारीको भनाइ छ। केन्द्रीय बैंकले यसपल्ट लचिलो मौद्रिक नीति ल्याएर मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलोबाट लचिलो बनाइँदै लगिने उनको भनाइ छ।

    ‘गभर्नरसाबले पहिलो कार्यकालमा अत्यन्तै लचिलो मौद्रिक नीति ल्याउनुभयो, त्यसपछि कठोर नीति ल्याउनुभयो तर अहिलेको परिस्थितिलाई हेरेर उहाँले लचिलो खालको नीति ल्याउँदै हुनुहुन्छ। यो कार्यकालको अन्तिम मौद्रिक नीति पनि हो,’ उनले भने। निर्माण क्षेत्र, थोक तथा खुद्रा क्षेत्रमा कर्जा विस्तार गर्ने गरी मौद्रिक नीतिको मस्यौदा तयार भएको उनले जानकारी दिए। त्यस्तै, कर्जा बढाउन सेयर बजार, घरजग्गा र सवारीसाधन कर्जामा लोन टू भ्यालु रेसियो र जोखिम भारमार्फत् सहजीकरण गर्न खोजिएको उनको भनाइ छ।

    राष्ट्र बैंकका गभर्नर अधिकारी भने मुलुकको वर्तमान आर्थिक, वित्तीय स्थायित्व र सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यमा आधारित भएर मौद्रिक नीति आउने बताउँदै आएका छन्। साथै बैंकिङ क्षेत्रलाई हालको चुनौतीसँग सामना गर्न सक्ने गरी मौद्रिक नीति ल्याउने उनको योजना रहेको छ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै