images
images
  • हवाई क्षेत्रको सुधारका लागि विज्ञ सम्मिलित छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन

    काठमाडौं । संसदीय समितिले नेपालको हवाई उडानको क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सिफारिस गर्न विज्ञहरुको संलग्नता एक स्वतन्त्र छानविन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ ।

    बिहीवार सिंहदरबारमा बसेको एयर डाईनेष्टी हवाईजहाज दुर्घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बोलाइएको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकले सरकारलाई सो निर्देशन दिएको हो ।

    पछिल्लो समयमा निरन्तर भईरहेको हवाई दुर्घटनाका सम्बन्धमा दुर्घटनापिच्छे नै छानविन समितिहरु बन्ने गरेका भएतापनि समग्र हवाई सुरक्षाको अवस्थामा सुधार आउनुको सट्टा झन कमजोर बन्दै गईरहेको देखिएकाले सो सम्बन्धमा नेपालको हवाई सुरक्षा, सुरक्षामापनको अवस्था तथा नेपालको विद्यमान नागरिक उड्डयन सम्बन्धि कानून एवं अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कार्यान्वयन भए÷नभएको सम्बन्धमा १५ दिनभित्र छानविन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको सिफारिस गर्न विज्ञहरुको संलग्नतामा एक स्वतन्त्र छानविन समिति गठन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको समितिका सभापति राजकिशोर यादवले जानकारी दिए ।

    त्यसैगरी बैठकले हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित नेपाल सरकार र मन्त्रालयद्वारा गठित छानविन समिति एवं कार्यदलमार्फत पेश भएका अध्ययन, अनुसन्धानमुलक प्रतिवेदनहरु के, कुन अवस्थामा रहेका छन् ? सो को जानकारीसहितको विवरण समितिलाई यथाशिघ्र उपलब्ध गराउन पनि सरकारलाई सचेत गराएको छ ।

    नेपालको हवाई उड्डयनको सुरक्षा सम्बन्धि छुट्टै नीति आवश्यक देखिएकाले उक्त नीति तर्जुमा गर्न, नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक यथाशिघ्र संघीय संसदमा पेश गर्न, गराउन पनि सरकारलाई निदेश गरिएको समितिले जनाएको छ ।

    समितिका सभापति यादवले हवाई उडडयनको क्षेत्रमा कुनै स्वार्थ समूह भए उनीहरुलाई पनि कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै