images
images
  • वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ — सर्वोच्च अदालतले वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिकाप्रसाद उप्रेतीलाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासले उप्रेतीलाई बोर्डको कार्यकारी निर्देशकबाट हटाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरे‍को हो ।

    चार वर्षको लागि नियुक्त भएका उप्रेतीलाई त्यसअगावै जिम्मेवारीबाट हटाउने कार्य कानुनसम्मत नभएको भन्दै सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश जारी गरेको हो । उप्रेतीको निवेदनको सुनुवाइ गर्दै न्यायाधीश ढकालको इजलासले मन्त्रालयको हटाउने प्रक्रियामा पनि सर्वोच्चले प्रश्न गरेको हो ।

    उप्रेतीलाई मन्त्रिपरिषद्को २०७९ भदौ ६ को बैठकले चार वर्षका लागि बोर्डको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको २०८१ कार्तिक ५ को निर्णयबाट उप्रेतीलाई स्पष्टिकरण सोधिएको थियो । तीन दिने लिखित स्पष्टिकरण सोधिएकै अवधिभित्र उनलाई जिम्मेवारीबाट हटाइएको थियो । वैदेशिक रोजगार नियमावलीमा गरिएको व्यवस्था विपरीत उप्रेतीलाई हटाएको सर्वोच्चको ठहर छ ।

    ‘वैदेशिक रोजगार ऐन, २०४१ मा बोर्डको प्रशासनिक प्रमुखको काम, कर्तव्य र अधिकार अन्तर्गत प्रशासनिक प्रमुखको रुपमा निजले दैनिक कार्यसम्पादन गर्नुपर्ने कार्य परिभाषित गरिएको परिप्रेक्ष्यमा लिखित स्पष्टिकरण सोधिएको मितिमै निवेदकको पदमा अर्को व्यक्तिलाई जिम्मेवारी प्रदान गरेको कार्य प्रथम दृष्टिमा नै उचित र उपयुक्त मान्न मिलेन,’ सर्वोच्चको आदेशमा उल्लेख छ, ‘अतः चार वर्षको अवधिको लागि मिति २०७९ भदौ ८ मा नियुक्ति पाएको यी निवेदकलाई सो अगावै कार्यजिम्मेवारीबाट मुक्त गर्दा निवेदकको हकको हनन हुने अवस्था देखिँदा सुविधा र सन्तुलनको दृष्टिले म२०८१ कार्तिक ६ को विपक्षी मन्त्रालयको चलानी नम्बर ४११ को पत्र एवं सोसँग सम्बन्धित काम कारबाहीहरू प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागुन्जेलसम्म कार्यान्वयन नगर्नु, नगराउनु, यथास्थितिमा राख्नु र निवेदकलाई साविक नियुक्ति पत्र बमोजिम कामकाज गर्न दिनू, दिलाउनू ।’

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै