ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकार शासक नभई जनताकेन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
ललितपुर महानगरपालिकाको १०६ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले वर्तमान सरकार उत्तरदायी भएर जनताका समस्या समाधान तथा विकासका चाहना पूरा गर्नेतर्फ प्रतिबद्ध भएर लागेको बताए ।
“स्थानीय सरकार विगतको जस्तो कर उठाउनका लागि मात्र होइन, हाल यो नागरिक मैत्री पनि भएको छ, सूचना तथा सञ्चार प्रविधिको उपयोगबाट विकृति हटाउने काम भएका छन्, व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्ने भाष्य गलत हो । सोचेअनुरुप विकास नभए पनि विकासको गति बढेको छ”, प्रधानमन्त्री ओलीले भने ।
त्यस अवसरमा सांसद प्रेमबहादुर महर्जनले सरसफाइ अड्डाका रुपमा स्थापना भएको कार्यालय हाल ललितपुर महानगरका रुपमा समृद्धितर्फको यात्रामा लागेको बताए । बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले ‘डिजिटल’ माध्यमबाट सेवा प्रवाह गर्न सुझाव दिए ।
महानगरप्रमुख चिरीबाबु महर्जनले उपभोक्ता समितिमार्फत सम्पदा संरक्षण भइरहेको जानकारी दिए । उनले ठेक्का प्रणालीमार्फत बुङ्गमतीमा रातो मच्छिन्द्रनाथको रथ व्यवस्थापन एवं मन्दिर निर्माणसम्बन्धी काम पुनर्निर्माण प्राधिकरणको विघटनसँगै अन्योलमा परेको गुनासो गरे ।
उपप्रमुख मञ्जली शाक्यले महानगरलाई हस्तकलाको राजधानी घोषणा गर्न आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्