काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधनका लागि सुझाव पेस गर्न कार्यदल बनाएको छ ।
पार्टी स्थायी कमिटीको बैठकले संविधान संशोधनको लागि आवश्यक सुझावसहितको प्रतिवेदन पेस गर्न पार्टी उपाध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
उनका अनुसार कार्यदलमा अन्य सदस्यहरूमा गरिमा शर्मा, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई रहेका छन् । उनले बैठकले केन्द्रीय सचिवालय समिति समेत गठन गरेको बताए । केन्द्रीय सचिवालयमा केन्द्रीय कमिटीका अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेताहरू, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव र सचिवसहित २४ सदस्यीय समिति रहने उनले बताए ।
त्यस्तै बैठकले अगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने र त्यसको तयारीको लागि जनताको बिचमा जाने समेत निर्णय गरेको छ । प्रवक्ता खतिवडाकाअनुसार जनजीविका, सुशासन र भ्रष्टाचारको सम्बन्धमा जनताको चेतना वृद्धि गर्नको लागि जनसङ्घर्ष अथवा आन्दोलनको माध्यमबाट पार्टीको सुदृढीकरण र निर्माण गर्नको लागि आन्दोलन र जनसङ्घर्ष गर्ने निर्णय गरिएको छ । जनसङ्घर्षका कार्यक्रमहरू केही दिनमा सार्वजनिक गरिन उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्