
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयलाई २४ घण्टे स्पष्टीकरण बुझाएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले फागुन १३ गते कार्यकारी निर्देशक कुलमानलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए । उक्त स्पष्टीकरणको जवाफ दिँदै कुलमानले आफूलाई कारबाही गर्ने अधिकार ऊर्जा मन्त्रीसँग नभएको बताएका छन् ।
उनले उर्जामन्त्री र ऊर्जा सचिवसँग आफूलाई स्पष्टीकरण सोध्ने अधिकार नभएको बताएका हुन् ।
कार्यकारी निर्देशक घिसिङले आफूलाई मन्त्रीपरिषद्ले कार्यकारी निर्देशकमा नियुक्ति गरेको भन्दै मन्त्रालयले स्पष्टीकरण सोध्न नमिल्ने बताएका हुन् ।
उनले नेपाल सरकार कार्य सञ्चालन नियमावली र प्राधिकरणको विनियमावली अनुसार उर्जामन्त्री र सचिवसँग त्यो अधिकार नभएको जवाफ दिएका हुन् ।
‘म नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयअनुसार नेपाल विद्युत् प्राधिकरण ऐन, २०४९ को दफा १७ (१) बमोजिम ४ वर्षको लागि नियुक्त भएको हुँ । निवेदकलाई सेवाबाट हटाउने विषयमा स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार मन्त्रालयसँग छैन,’ उनले जवाफमा भनेका छन् ।
कार्यकारी निर्देशक घिसिङले आफूले यसअघि पुस २८ गते बुझाएको स्पष्टीकरण के कारणले चित्तबुझ्दो भइन भनेर उर्जामन्त्री खड्कासँग उल्टै प्रतिप्रश्न गरेका छन् । उनले आफलाइ के आधारमा कारबाही गर्न लागेको हो भनेर मन्त्री खड्कासँग प्रश्न गरेका हुन् ।
‘मेरो पूर्व स्पष्टीकरण के कारणले चित्तबुझ्दो भएन ? स्पष्टीकरणमा आधार कारण खुलेको छैन । आधार र कारणको अभावमा थप पुस्ट्याइँ पेस गर्ने अवस्था भएन । आधार र कारणको अभावमा उचित प्रतिवादको मौका रहेन’ कुलमानले भनेका छन् ।
कार्यकारी निर्देशक घिसिङले कसुर यकिन नगरी गोश्वारा आरोपमा कारबाही गर्न नमिल्ने जवाफमा उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्