
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले विक्रम संवत् २०८२ को शुभारम्भको अवसरमा नेपाली जनतामा शुभकामना सन्देश दिँदै देशको समृद्धिको यात्रालाई रोक्ने बेथिति र कमजोरीको अन्त्य गर्दै सुशासनलाई बलियो बनाउनु अहिलेको पहिलो आवश्यकता भएको बताएका छन् ।
राष्ट्रपतिले नयाँ वर्षलाई केवल पर्वका रूपमा नभई, विगतको समीक्षा गर्ने र भविष्यको संकल्प तय गर्ने ऐतिहासिक अवसरको रूपमा लिनुपर्नेमा जोड दिए । उनले भने, ‘नयाँ वर्ष देशका साझा लक्ष्य तय गर्ने र ती लक्ष्यहरू प्राप्त गर्न सबैले मिलेर अघि बढ्ने दिन हो ।’
उनका अनुसार विक्रम संवत् हाम्रो सभ्यता, परम्परा र सामाजिक जीवनको प्रतिनिधित्व गर्ने ऐतिहासिक संवत् हो, जसले हामीलाई गौरवमय विगत सम्झाउँदै उज्यालो भविष्यतर्फ डोर्याउँछ । राजनीतिक परिवर्तनपछिको जनअपेक्षा पूरा गर्न केही ढिलाइ भएको स्वीकार्दै राष्ट्रपति पौडेलले त्यसलाई आधार बनाई भ्रम सिर्जना गर्न खोज्ने प्रयासहरू क्रमशः कमजोर हुँदै जाने विश्वास व्यक्त गरे ।
सन्देशमा प्रविधिको बढ्दो प्रयोगलाई आत्मसात गर्दै, कृषि, पर्यटन, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगलाई देशको आर्थिक मेरुदण्डका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । ‘उचित नीति, कानुन र अवसर सिर्जना गरेर यी क्षेत्रको समस्याहरू हटाई समृद्ध नेपाल निर्माण गर्न सकिन्छ,’ राष्ट्रपति पौडेलले उल्लेख गरे ।
उनले सम्पूर्ण राजनीतिक दल, नेतृत्व, सरकार र नागरिकहरूलाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बन्ने प्रेरणा दिन आजको दिन सफल होस् भन्ने कामना गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्