२३ असोज, काठमाण्डौँ । नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ नेपाल)को आगामी राष्ट्रिय प्रतिनिधि सम्मेलन तथा अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न सात सदस्यीय निर्वाचन मण्डल गठन गरिएको छ।
विहिवार काठमाण्डौँको वेथशालोम पुतलीसडक चर्चमा सम्पन्न विशेष महाधिवेशनले ६६औँ राष्ट्रिय प्रतिनिधि सम्मेलन तथा अधिवेशन आयोजना गर्नका लागि पास्टर चन्द्रमान नेपालीको संयोजकत्वमा निर्वाचन मण्डल गठन गरिएको एनसीएफएनले जनाएको छ।
निर्वाचन मण्डलको सदस्यहरुमा एनसीएफ नेपालका महासचिव शेरबहादुर ए.सी., गण्डकी प्रदेशका अध्यक्ष नवराज पाण्डे, पावल बस्नेत र अधिवक्ता केदारबहादुर खड्का छन् भने बाँकी तीन सदस्यहरूलाई अन्य प्रदेशका अध्यक्षहरूमध्येबाट चयन गर्ने निर्णय सभाले गरेको छ।
संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना चर्चका वरिष्ठ पास्टर रेभ. सूर्य बहादुर बल तामाङ (हनोक)ले नवगठित निर्वाचन मण्डललाई शुभकामना दिदैँ निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र व्यवस्थित तरिकाले सम्पन्न गर्नका लागि आफनो कार्यसमितिले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यस्तै निर्वाचन मण्डलका संयोजक चन्द्रमान नेपालीले एनसीएफएनको हालको कार्यसमितिको पदावधि पूरा भएसँगै, विशेष साधारण सभाबाट अनुमोदित निर्वाचन मण्डलले नयाँ नेतृत्व चयनका लागि आगामी अधिवेशनको मिति सार्वजनिक गर्ने, निर्वाचन आचारसंहिता बनाउने र निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष र व्यवस्थित एवं नमुनायोग्य तरिकाले सम्पन्न गर्ने जिम्मेवारी पाएकोले अग्रजहरुको सल्लाह सुझावसँगै सदस्य चर्चहरुको म्याण्डेट अनुसार पारदर्शी रुपमा ईमानदारिता र निष्ठापूर्वक आफनो जिम्मेवारी बहन गर्ने बताउनुभयो ।
संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना चर्चका वरिष्ठ पास्टर रेभ. सूर्य बहादुर बल तामाङको सभापतित्वमा सम्पन्न विशेष साधारण सभाले महासचिव ए.सी.द्वारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा नयाँ कार्य योजनाको प्रस्तुत प्रतिवेदन र कोषाध्यक्ष हिमाल राईद्वारा प्रस्तुत आ.ब. २०८१/०८२ को आर्थिक प्रतिवेदन, लेखापरीक्षको नियुक्ति तथा आ.ब. २०८२/०८३ को बजेट सर्वसम्मतले अनुमोदन गरेको छ भने हालको कार्यसमितिले गरेको निर्णयहरुको अनुमोदन पनि गरेको हो ।
वि.सं. २०१७ तदानुसार १९६० मा स्थापना भएको नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ नेपाल) नेपालकै सबैभन्दा पुरानो, ठूलो र सशक्त ऐतिहासिक नेपाली चर्चहरुको अभिभावकीय संस्था हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)

















प्रतिक्रिया दिनुहोस्