images
images
  • ट्राफिक प्रहरीलाई गृहमन्त्रीको निर्देशन: बर्दी लगाएकाहरूलाई देख्दा जनताले आफनोपन महशुस गरुन्

    काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ट्राफिक व्यवस्थापनलाई नागरिकले महसुस गर्न सक्ने गरी प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको शुक्रबार निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछानेले यसो भनेका हुन् ।

    उनले कार्यालयका सहायता कक्ष, गुनासो शाखा, ब्यारेक, कन्ट्रोल रूम लगायत विभिन्न शाखाहरूको निरीक्षण गर्दै विभिन्न जानकारी पनि लिए ।

    निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले विभिन्न समस्या र अभावबीच ट्राफिक प्रहरीले उत्कृष्ट कार्यसम्पादन गर्दै आएको बताए ।

    ती समस्याहरू समाधान गर्न गृहमन्त्रालय कटिवद्ध रहेको उनले बताए । लामिछानेले बर्दी लगाएकाहरूलाई देख्दा जनताले आफ्नै महसुस गर्नुपर्ने बताए ।

    ‘युनिफर्म लगाएका प्रत्येक प्रहरी कर्मचारीहरूले आफ्नो कामप्रति जवाफदेही हुनुपर्छ’, उनले भने, ‘युनिफर्म लगाएको प्रहरीलाई देखेर नागरिकलाई लागोस् कि यो मेरो मान्छे हो । यसका लागि प्रत्येक प्रहरी कर्मचारीले नागरिकसँग गर्ने व्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ ।’

    ट्राफिक प्रहरीले प्रचलित कानून कार्यान्वयनमा कडा रूपमा प्रस्तुत हुनुपर्ने उनले उल्लेख गरे । ‘ट्राफिक नियम मिच्नेलाई छुट दिन हुँदैन, एउटाले नियम मिच्दा अर्काको ज्यान जान सक्छ, त्यसैले चेकिङलाई अझ प्रभावकारी बनाई लापसे, मापसे र लेन अनुशासनमा कसैलाई छुट नदिनुहोस्’, उनले भने ।

    फरक क्षमता भएका व्यक्तिहरू, वृद्धवृद्धा एवम् बालबालिकालाई विशेष ध्यान दिएर ट्राफिक प्रहरीले उत्कृष्ट कार्यसम्पादन गर्नुपर्नेमा उनले बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै