images
images
  • Latest Update

    Trending

    जातिवादको कारक मुगल र पश्चिमा संस्कृति

    प्राचीन समयमा हिन्दु धर्ममा जातिय विभेद र छुवाछुतको प्रसंग कहीं कतै उल्लेख गरिएको पाइँदैन । उदाहरणका लागि सम्राट शान्तनुले माझी कन्यालाई विवाह गरे जसको नाम मत्स्यगन्धा थियो । उनैको सन्तानलाई राजा बनाउनको लागि भीष्म स्वयं क्षत्रीय र ज्येष्ठ पुत्र हुँदाहुँदै पनि भीष्म प्रतिज्ञा लिन पुगे र जीवनभर विवाह नगर्ने निश्चय लिए ।

    माझी समाजको प्रतिनिधित्व गर्ने मत्स्यकन्या (सत्यवती) को सन्तानले विभेद भोग्नु नपरोस भनेर भीष्मले गरेको त्यागलाई हिन्दु समाजमा आज पनि उदाहरणको रूपमा लिईने गरिन्छ । त्यसै गरी महाभारत लेख्ने एवं वेदलाई लिपिबद्ध गर्ने व्यास स्वयं पनि मत्स्यगन्धाको कुमारी अवस्थामा जन्मिएका पुत्र थिए, जसलाई आज हामी महर्षि वेदव्यास भनेर चिन्दछौं । आफ्नो कर्म र विद्वताको कारण व्यास ऋषि एवं ब्राह्मण मात्र भएनन्, उनले गुरुकुल चलाएर कैयौलाई शिक्षासमेत दिएका प्रसंग छ ।

    त्यसै गरी हिन्दु शास्त्र पल्टाएर हेर्ने हो भने अर्का विदुर पनि चर्चित पात्रको रूपमा रहेका छन् । उनलाई महापण्डित भनेर समेत शास्त्रमा उल्लेख गरिएको छ । उनी स्वयं दासीको सन्तान थिए । हस्तिनापुर जस्तो शक्तिशाली राज्यको महामन्त्री बनेर उनले निभाएको कर्तव्य उदाहरणीय एवं प्रेरक छ । उनले लेखेको विदुर नीति, राजनीति महाग्रन्थको रूपमा आज पनि समाजमा विद्यमान छ ।

    त्यसै गरी पाँच पाण्डवभित्रका माइला भाइ भीमले वनवासी (आदिवासी) हिडिम्बासँग विवाह गरेको प्रमाण पाइन्छ । उनीहरू मार्फत जन्मिएको छोरा घटोत्कचको कथालाई महाभारतमा विशेष स्थान प्रदान गरिएको छ । भगवान श्रीकृष्ण पनि दूधको व्यवसाय गर्ने परिवारमा हुर्किनु भएको थियो । त्यसैगरी उहाँको दाजु बलराम खेती किसानी गर्नु हुन्थ्यो र सधैं हलोलाई आफ्नो साथमा राख्नुहुन्थ्यो । यादवहरू गौपालक र कृषक समाजबाट प्रतिनिधित्व गर्दथे । जसलाई हाम्रो शास्त्रअनुसार वैश्य वर्णको रूपमा लिइन्छ तर कालान्तरमा यादवहरू क्षत्रिय भएको प्रमाण पाइन्छ ।

    यादवले भारतवर्षको कैयौ क्षेत्रमा शासन गरेको प्रत्यक्ष इतिहास पढ्न पाइन्छ । बलराम क्षत्रीय हुँदाहुँदै पनि कर्मले वैश्य भएको प्रमाण देख्न सकिन्छ । श्रीकृष्ण यादव कुलको हुँदाहुँदै पनि सबैको पूजनीय हुनुहुन्छ, जसले संसारलाई गीता जस्तो पवित्र ग्रन्थ दिनुभएको छ ।

    गुरुकुलमा रामसँगै पढ्ने उनको एक परममित्र निषादराज थिए जो वनवासी समाजबाट थिए, जसलाई आजको भाषामा दलित भनेर भन्ने गरिन्छ । यदि त्यो समयमा जातिय विभेद यदि चरमसीमामा थियो भने एक दलितको सन्तान र एक राजाको सन्तानले एकसाथ एकै गुरुको गुरुकुलमा कसरी विद्या आर्जन गरे ? निषादराजले गुरुकुलमा शिक्षा लिएको प्रसंगलाई हेर्दा त्यो समयमा नि कथित दलितलाई शिक्षा आर्जन गर्नमा विभेद गरिएको रहेनछ भनेर बुझ्न सकिन्छ । रामको सन्तान लव र कुश पनि महर्षि वाल्मीकिसँग गुरुकुलमा बसेर पढ़ेको प्रसंग आउछ । त्यही लव र कुशको वंशलाई आज पनि वनवासी समुदाय भनेर भारतमा भनिने गरिएको छ । कुशवाह समाजले आफुलाई कुशको वंश भएको दाबी गर्दै आएका छन् । शवरी र रामको प्रसंगलाई हेर्ने हो भने वा राम र वनवासी हनुमानको प्रसंगलाई हेर्ने हो भने पनि त्यहाँ जातिय विभेदको प्रसंग पाइँदैन । राम र रावणको युद्धमा रामलाई सघाउने अधिकांश समाज वनवासी रहेका छन् ।

    यी विभिन्न प्रसंगलाई आधार मान्ने हो भने वैदिककालमा जातलाई कहीं पनि प्राथमिकता दिइएको देखिंदैन । कर्मको आधारमा मानिसले आफ्नो वर्ण वदल्न सक्थे भनेर भन्न सकिने आधारहरू प्रशस्त पाइन्छन् । जसलाई आजको अर्थशास्त्रमा डिवीज़न अफ लेबर भनेर पढ्न पाइन्छ ।

    भारतवर्षकै कुरा गर्ने हो भने, मगध राज्यमा नन्द वंशको शासन रहेको थियो । जो नाई अर्थात हजाम जातिका थिए । नन्द वंशको शुरुवात महापद्मनंदले गरेका थिए, जो नाई जातिबाट थिए र उनी राजासमेत बनेको ऐतिहासिक प्रसंग छ । पछि गएर त्यही नाई (नापित/हजाम) वंशका सन्तान क्षत्रियको रूपमा चिनिएको प्रसंग पाइन्छ । मौर्य वंशको इतिहास हेर्ने हो भने पनि यसको शुरुआत चन्द्रगुप्त मौर्यबाट भएको पाइन्छ, जो मयुर पाल्ने जातिसँग सम्बन्धित थिए । जसलाई आजको समयमा दलित समुदाय भनेर भनिन्छ । जसलाई चाणक्यले आफ्नो शिष्य मात्र बनाएनन उनलाई क्षत्रीय परम्परा अनुसार जनै धारण गराई दिएर आफ्नो गुरुकुलमा राखेर शास्त्र र शास्त्र विद्यामा निपूण बनाइ कालान्तरमा पूरै देशको सम्राटसमेत बनाएका थिए । भारतमा ५०६ वर्षसम्म मौर्य शासनको राज थियो ।

    भारतमा शासन गर्ने अर्को वंश अर्थात गुप्त वंशकै कुरा गर्ने हो भने उनीहरू घोडा पालक थिए र घोडाको व्यापार गर्दथिए । जसको १४० वर्षसम्म शासन रहेको थियो । आज जसलाई दलित भनेर भनिएको छ र इतिहासमा दलितलाई कहिले सम्मान दीइएन भनेर रोइलो मच्चाइएको छ, त्यही दलित समाजको प्रतिनिधित्व गर्ने पुष्यमित्र शुंग र उनको वंशले समेत यहाँ कैयौ वर्ष शासन गरेको प्रमाण पाइन्छ । मराठा साम्राज्यको शक्तिशाली सेनापति बाजी राव पेशवा जो स्वयं ब्राह्मण थिए तर उनले गाईपालक गायकवाड़लाई गुजरातको राजा बनाएका थिए भने चरवाहा जातिलाई उनले मालवाको राजा बनाएका थिए । अहिल्या बाई होलकर एकदम नै प्रशिद्ध शिवभक्त थिईन । उनले इतिहासमा कैयौ मंदिर र गुरुकुल बनाएको थिइन् । मीरा बाई जो स्वयं राजपूत (क्षत्रीय) थीईन, तर उनको गुरु एक चर्मकार (सार्की) रविदास थिए अनि तिनै सार्की रविदासको गुरु ब्राह्मण समाजको रामानन्द थिए । तर, यस्तो हुँदा पनि यहाँ जातिय शोषण र विभेद भएको देखिंदैन ।

    मुग़लको राज्य समयदेखि भारतमा पर्दा प्रथा, गुलाम प्रथा, बाल विवाह, सती प्रथा जस्ता कैयौं फोहोरी प्रथाहरूको शुरुवात भएको पाइन्छ । हिन्दु नारीलाई देख्यो वा भेट्यो भने बलात्कार गर्ने, हत्या गर्ने गरेको प्रसंग, बिधुवा नारीलाई बलात्कार गर्ने दासी बनाउने मुगल साम्राज्यको अत्याचारको कारण पतिको मृत्युपछि अपहेलित भएर डरमा बाँच्नु भन्दा मर्नु निको भनेर सतीत्व रक्षाको लागि कैयौ महिला पतिको मृत्युसँगै सती गएको प्रसंगसमेत पढ्न पाइन्छ । सांस्कृतिक समानता र भौगोलिक सीमाका कारण यसको प्रभावबाट नेपालसमेत अछुतो रहन सकेन । त्यसैगरी मुगलहरूद्वारा नालन्द विश्व विद्यालयमाथि गरेको आक्रमण र मुस्लिमहरूले कृष्णप्रणामीमाथि गरेको अन्यायले धेरै कुरा प्रष्ट पारेको छ । प्रणामी शास्त्रभित्र मुगल सम्राटद्वारा थप्न लगाईएको पदहरू प्रणामी सम्प्रदाय एवं निजानन्द सम्प्रदायभित्रका बितक कथाहरू हेर्दा थाहा हुन्छ ।

    सन १८००-१९४७ सम्म भारतमा अंग्रेजको शासन थियो । यही समयमा भारतमा जाति प्रथाले चरम रुप लिएको प्रमाणहरू छन् । “फुटाउ र राज गर” भन्ने अंग्रेजहरूको नीति बमोजिम नै भारतमा जाति प्रथाले स्थायित्व प्राप्त गर्यो । उनीहरूद्वारा हाम्रा शास्त्रहरूमाथि हस्तक्षेप मात्र भएन कि कैयौं शास्त्रहरू जलाइयो पनि । शास्त्रलाई अपव्याख्या गर्ने, शास्त्र भित्र विभिन्न किसिमका विवादित श्लोकहरू राख्ने र शास्त्रको हवाला दिदै नचाहिने र अप्रासंगिक कुरा लेखेर समाजमा छरियो । डर त्रास देखाएर बन्दुक तेर्साएर शास्त्र भित्र अंग्रेजले चाहेबमोजिमका विवादित कुराहरूलाई लेख्न लगाईयो । स्वयं अंग्रेजहरूले पनि संस्कृत सिकेर हिन्दु शास्त्रलाई पुनर्लेखन गरेको इतिहास हिन्दुत्व द्रोही म्याक्समुलरहरूलाई पढ्दा धेरै कुरा प्रष्ट हुन आउँछ । अंग्रेजको एक उच्च अधिकारी निकोलस डार्कको एक किताब “कास्ट ऑफ़ माइंड” लाई पढ्ने हो भने भारतीय नेता र राजालाई हातमा लिएर अंग्रेजले भारतवर्षमा जातिवाद र छुवाछुतलाई बढाएर कसरी आफ्नो स्वार्थ अनुकूलको राजनीति गरे भन्ने कुरा प्रष्ट बुझ्न सकिन्छ । १३औं शताब्दीमा समेत फ्रान्समा राजा फिलिप चौथोको शासन कालमा सती प्रथा भएका प्रसंग प्रशस्त पढ्न पाइन्छ ।

    जाति व्यवस्थाको कारकको रूपमा हाम्रो शास्त्र एवं हिन्दु धर्मले सदैव आरोप खेप्दै आएको छ तर हिन्दु शास्त्रमा वर्ण व्यवस्थाको प्रावधान रहेता पनि जातिवाद कहीं कतै उल्लेख गरिएको पाईदैन । जातिवादको शुरुवात हेर्ने होभने केही वर्ष यता आएर मात्र यसको शुरुवात भएको पाइन्छ । ब्रीटिशले जब वर्तमान भारतमाथि शासनको शुरुवात गर्यो तबदेखि उसले हरेक व्यक्तिको नामको पछाडि थर लेख्न अनिवार्य बनाएको प्रसंग पढ्न पाइन्छ । राज्यद्वारा संकलित तथ्यांक र राज्यको आँकडामा जात र थर अनिवार्य भयो । यसैलाई तथ्यांक वर्गीकरणको मापदण्ड मानियो । जसको प्रभाव वर्तमान नेपालमा पनि पर्यो ।

    राज्य राष्ट्रले वैश्विक मान्यता पाएपछि नेपालमा पनि लिखित संविधानको निर्माण भयो । नागरिकता मै जाति र धर्म उल्लेख गरिन थालियो । कसको थर के हो ? कसको जात के हो ? कसको धर्म के हो ? भनेर त्यसको खोजी गर्न थालियो । पहिचान पत्रमा थरलाई  अनिवार्य गरिन थालियो । प्रहरी एवं अदालतले हरेक व्यक्तिको थर के हो ? जात धर्म के हो ? धर्म के हो ? भनेर विवरण राख्न थाल्यो । शिक्षालयमा भर्ना हुनको लागि जात थर अनिवार्य लेखाउन थालियो । जागिर खानदेखि लिएर लास जलाउनसम्म थर र जातको उल्लेख गरिन थालियो । बच्चा जन्मिदा नै उसको पहिचानपत्रमा जात, धर्म र थर लेखिन थालियो । जातिय आयोग खोलेर कुन कुन थरका मानिसको जात के हो भनेर थरको आधारमा जातको वर्गीकरण गर्न थालियो । राजनीतिमा नेता बन्नदेखि आईएनजीओमा जागिर खानको लागि समेत जातको प्रमाण पत्र देखाउने अवस्थाको सिर्जना भयो । राज्यले नै जातिय परिचय पत्र लिनको लागि फारमको व्यवस्था गर्ने र पैसा लिएर जातको प्रमाण पत्र वितरण गर्न थाल्यो । हाम्रो शास्त्रमा कहीं कतै नभएको जातको प्रसंगलाई ल्याएर हिन्दु धर्मको हवाला दिदै विभिन्न किसिमका तर्क वितर्क राख्न थालियो । हिन्दु धर्म व्यवस्थामा वर्ण व्यवस्था मात्र थियो । तर वर्ण व्यवस्थाको अपव्याख्या गरेर त्यसलाई जातिय व्यवस्थाको रूपमा लेभल लगाईयो । जाति व्यवस्थाको बारेमा हिन्दु शास्त्रमा कहीं कतै केहि उल्लेख नगरिएको भएता पनि जाति व्यवस्थाको बारेमा बाईबल र कुरानमा भने प्रष्टसँग लेखिएको पाइन्छ । त्यही पढेर हुर्किएको शिक्षा प्रणालीले हिन्दु समाजमा समेत जातिवादको जरो गाड्न सफल भयो ।

    शास्त्र अनुसार नै कुरा गर्ने हो भने, सीता माताको थर के थियो भन्ने कुरा कहीं कतै उल्लेख भएको पाईदैन र उक्त थरलाई प्राथमिकतामा राखेर उनलाई थरको आधारमा महत्व दिइएको पाईदैन । राजा जनकको थर के थियो ? राजा शुद्धोधनको थर के थियो ? गौतम ब्राह्मण थिए कि किराँती थिए ? बुद्धको थर के थियो ? रामको थर के थियो ? कृष्ण र राधाको थर के थियो ? वेद लेख्ने व्यासको थर के थियो ? कहीं कतै कुनै प्रसंग उल्लेख भएको पाईदैन । किनभने त्यस समयसम्म पनि मानिस उसको कर्मले चिनिन्थ्यो न कि उसको जात र थरले ।

    सप्तऋषि कश्यप, अत्री, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ आदि ऋषिको थर के थियो ? मरीची, अंगिरस, पुलस्त्य, पुलह र क्रतुको थर के थियो ? राम, लक्ष्मण, भरत र शत्रुघ्नको थर के थियो ? वामदेव, शौनक आदिको थर के थियो ? प्रजापति, अनुसुया, देवहुती, मनु, सोम, कर्दम आदिको थर जात के थियो ? कणाद, कपिल, चरक, सुश्रुत, आर्यभट, भास्कराचार्य, बौधायन, कौमारभृत्य जीवक, वराह मिहिर, ब्रह्मगुप्त, वाग्भट, नागार्जुन आदिको जात थर के थियो ? रावण, कंस, जालन्धर, महिषासुरको थर के थियो ? कहि कतै त्यो कुरालाई महत्त्व दिइएको पाईन्न । तर ईसाइ र मुस्लिमद्वारा गरिएको शासन व्यवस्थामा शुरूवात गरिएको जात व्यवस्था र उक्त व्यवस्थाले घोलेको विषले आज पनि हिन्दु समाजमा प्रदुषणको भूमिका खेलिरहेको छ र यसको दोष हिन्दु समाजलाई भिराइएकोछ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्