images
images
  • नयाँ संसद् भवन समयमा निर्माण सम्पन्न गर्न निर्देशन

    काठमाडौं। राष्ट्रिय सभा सदस्यहरूले सिंहदरवारभित्र बन्दै गरेको संघीय संसद्को नयाँ भवन समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् ।

    राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बसेको बैठकमा उनीहरूले नयाँ संसद् भवन समयमा सम्पन्न गर्न सहरी विकास मन्त्रालयलाई आग्रह गरेका हुन् ।

    भवन निर्माणको गति सुस्त भएको टिप्पणी गर्दै उनीहरूले द्रूत गतिमा निर्माण गर्न निर्देशन दिएका हुन् । समितिका सदस्य सुमित्रा बिसीले झन्झटिलो निर्माण प्रक्रियाका कारण संसद्को नयाँ भवन निर्माण प्रक्रियाले गति लिन नसकेको बताइन् ।

    अर्की सदस्य गोमादेवी तिमल्सेनाले समयमा नयाँ भवन निर्माण हुन नसक्दा भाडाको घरमा संसद चलाउनु परेको बताइन्। उनले बढी श्रमिक प्रयोग गरेर भए पनि समयमा काम सक्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिइन्।

    समितिकी सदस्य रुक्मिणी कोइरालाले पनि विगतमा भएका गल्ती कमजोरीलाई सच्चाएर अब जतिसक्दो छिटो नयाँ भवनको काम सक्न आग्रह गरिन् । समितिका सदस्य गोपाल भट्टराईले नयाँ भवन निर्माणको प्रगति नभएकाले समयमा निर्माण सम्पन्न गर्ने विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिइन् ।

    संघीय संसद्का दुवै सदन ‘प्रतिनिधि सभा र राष्ट्रिय सभा’का संसदीय समितिहरू, संसदीय दलका कार्यालय रहने गरी भवन निर्माण भइरहेको छ ।

    समितिले दिएको सुझावमा सहरी विकास मन्त्रालयले जतिसक्दो छिटो निर्माण सम्पन्न गर्ने जवाफ दिएको छ । सिंहदरवारको उत्तरपूर्वी भेगमा करिब एक सय ५१ रोपनी क्षेत्रफलमा नयाँ संसद् भवन निर्माण भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

    मन्त्रालयका अनुसार संघीय संसद् भवन, राष्ट्रियसभा भवन, भीभीआईपी भवन र सेन्टर लभीलगायत १२ वटा भवन हुनेछन् । बफरजोन, उत्तरतिर फराकिलो सडकसहित दायाँबायाँ रुखहरू रोपिने र भवन परिसर प्रवेश गर्न चार वटा प्रवेशद्वार हुने बताइएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै