images
images
  • Latest Update

    Trending

    “ऐतिहासिक शहर दोलखा”

    निरोज तोलाङे— बिहानीको मिरमिरेसँगै हिमालको शिरबाट मन्द मन्द मुस्कुराउँदै जब सूर्यको आगमन हुन्छ, निन्द्राबाट भर्खर खुलेका तपाईका आँखाले देख्ने ती तस्बिर संसारकै अविस्मरणीय बन्नेछन् ।

    बिहानीको शुभ सन्ध्यासँग तपाई जति नै अल्छी बन्न खोजे पनि गौरीशंकर हिमाल सर्माउँछीन, शैलुङ्गको सय थुम्का मुस्कुराँउछ, विभिन्न बनस्पतीले तपाईको शरीरमा मन्द मन्द हावाको स्पर्श छरिदिन्छ अनि कसरी लाग्छ अल्छी बरु सुरुहुन्छ त्यसपछि तपाईको दैनिकी ।

    विविध प्रकृति छटाहरुको मनोरम दृश्य,खोला, नाला, झर्र्ना, बन पाखा, पखेरा, भिर, पहाड यी र यस्तै सुन्दरताको खानी हो दोलखा । यी नै सुन्दरलाइ सजाइ राख्न साक्षी बनेका विभिन्न धार्मिक मठ मन्दिरके त वर्णन गरेर सकिन्न ।
    दोलखा नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा पाँचौ नम्बरमा भए पनि प्रचार प्रसारको अभावका कारण यसले गति लिन सकेको छैन । यहाँका धेरै पर्यटकीय गन्तव्यहरु अझै पनि भर्जिन नै छन् । विदेशी पर्यटकले भर्जिन प्राकृतिक छटाको स्पर्श गर्न पाएका छैनन् भनौ वा स्पर्श गर्न दिएइको छैन ।

    दोलखाको काखमा रहेका विभिन्न हिमश्रृंखला, नागबेली आकार लिएर बगेको तामाकोशी नदी, तामाकोशीको शिरमा सदैव मुस्कुराई रहेको गौरीशंकर लगायत हिमाल, शैलुङडाँडा, कालिञ्चोक भगवती, भीमेश्वर मन्दिर, बिगु गुम्बा, बेदिङ गाउँ, जिरी बजार, च्छोरोल्पा हिमताल, रोल्वालिङ उपत्यका, जिरीबजार, जटापोखरी, गाईखुरा महादेवका साथै घना बनजंगलको रमणीय दृश्य हेर्न चाहनुहुन्छ भने एक पटक दोलखा किन नजाने ?

    राजधानी काठमाडौँबाट लगभग ५ घण्टाको मोटर यात्रा पछि पुगिन्छ दोलखाके सदरमुकाम चरिकोट । यहाँ पुगेर आफ्नो विविध ठाँउको यात्रा तय गर्न सकिन्छ । यदि तपाईँ शैलुङ जान चाहनुहुन्छ भने मुडेबाट दायाँ तर्फ लाग्नु पर्छ । काठमाडौँबाट १ सय ३१ किलोमिटरको दूरीमा पर्छ चरिकोट बजार, बजारमा करिब ५ हजार मानिस बस्छन् । नेवार, थामी, तामाङ र दमाई जाती बढी छन् । बजार प्रवेश गर्ने ठाउँमा भर्खरै राजा जयइन्द्रसिहं देवमा समर्पित ढोका निर्माण गरिएको छ । मन्दिर र विहार मात्रै होइन्, कलात्मक आँखीझयाल भएका घर र दरबार पनि छन् यहाँ । दोलखा नेपाल भाषाको लिपि छैन् । काठमाण्डौँ र दोलखाका नेवारले प्रयोग गर्ने भाषाको फरक बुझन भने अलि असहज नै छ ।
    दोलखा जिल्लाको इतिहासलाई हेर्ने हो भने दोलखा करिव ५०० वर्ष स्वतन्त्र राज्यकोरूपमा रहेको पाइन्छ । लिच्छवी शासन अन्तर्गत आउनु अघि दोलखा किराँत राज्यको खुम्बुआन क्षेत्र अन्तर्गत पर्दथ्यो । खुम्बुआन सुनकोशी भेगदेखि दुधकोशी भेगसम्मको क्षेत्र थियो र यसलाई माझकिराँत वा राईकिराँत समेत भन्ने गरिन्थ्यो । किराँत अन्तर्गतको प्राचीन दोलखा हालको किराँतीछाप इलाका थियो ।

    वि.सं. २००७ साल पूर्व र त्यसपछि २०१८ सालसम्म पनि पूर्व २ नं. गोश्वराको प्रशासनिक इकाइको रूपमा रहेको दोलखालाई २०१८ सालदेखि मात्र अलग जिल्लाको रूपमा अस्तित्वमा आए पनि २०२४ सालदेखि मात्र अदालत, मालपोत, प्रहरी, हुलाक, स्वास्थ्य जस्ता जिल्ला स्तरीय कार्यालयहरू स्थापना हुन थालेका हुन् ।
    ऐतिहासिक स्थल दोलखाको नामबाट नामाकरण गरिएको यस जिल्लाका केही स्थानहरूमा किरात वा लिच्छवीकालदेखि नै वस्ती बसेको अनुमान छ भने वि.सं. २०१८ सालमा देशलाई १४ अञ्चल ७५ जिल्लामा विभाजित गरिएपछि मात्र अलग जिल्लाको रुपमा अस्तित्वमा आएको पाइन्छ ।

    दोलखा जिल्लाको सिमानामा उत्तरमा चीनको स्वसासित क्षेत्र तिब्बत, दक्षिणमा रामेछाप जिल्ला, पूर्वमा रामेछाप र सोलुखुम्बु जिल्ला र पश्चिममा सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्ला रहेको छ । यस जिल्लाको भौगोलिक बनावट अधिकांश भुभाग उच्च पहाड र हिमालले ढाकिएको छ । पहाड र हिमालको खोच, नदी किनार, ताल र वेशी गरी जम्मा १० प्रतिशित भुभाग मात्र समतल भएको अनुमान छ । भू–धरातलीय स्वरुपको आधारमा ३५ प्रतिशत भूभाग उच्च हिमाली भेगमा, ४० प्रतिशत भूभाग उच्च पहाडी भागमा र २५ प्रतिशत भुभाग मध्य पहाडी भेगले ओगटेको छ ।

    करिब सबै गन्तव्यको पनि गन्तव्य हो दोलखा जहाँ धार्मिक तथा प्राकृतिक सौन्दर्यको मज्जा लिन चाहने पर्यटकलाई आकर्षक स्थान हो । सदरमुकाम चरिकोटबाट ४ कि.मी. उत्तरपूर्व रहेको ऐतिहासिक शहर दोलखामा अवस्थित भिमेश्वर मन्दिर भने नेपालकै प्रसिद्ध देवस्थल हो । यसको स्थापना किरातँकालमा नै भएको अनुमान छ । देशमा संकट आउनुपूर्व भीमेश्वरको मूर्तिमा संकेतको रुपमा पसिना आउने गर्दछ । नेवार समुदायको इष्ट देवताको रूपमा समेत लिइने दोलखा भीमेश्वर मन्दिरलाई दोलखा भीमसेन पनि भनिन्छ । जुन धार्मिक तथा प्राकृतिक सौन्दर्यको मज्जा लिन चाहने पर्यटकलाई आकर्षक स्थान हो । चरिकोटबाट चार किलोमिटर पूर्वतर्फ रहेको सो मन्दिरमा द्धापर युगमा किच्चकलाई मार्न र कौरवहरुको संहार गर्न भीमसेनले महादेव र भगवतीको स्तुति गर्दा रुद्र एवं भगवतीको अंश पनि उनैमा समाहित भएको भन्ने धार्मिक कथन रहेको पाइन्छ । बल र साहसको प्रतीक मानिने भएकाले आपत् विपत पर्दा बलदेउ भीमशेन भनेर पुकारिन्छ ।

    देशमा कुनै राजनीतिक परिवर्तन वा अन्य दैवी प्रकोपका घटना हुन थालेको खण्डमा भीमेश्वरको शिलामा पसिना आउने गर्दछ । भीमेश्वरको शिलामा बाँयापट्टी पसिना आएमा जनतालाई पिरोल्ने र दाँया पट्टी पसिना आए दरबारमा कुनै अनिष्ट हुने जनविश्वास रही आएको छ । पौराणिक कालमा दोलखा सहरमा पाण्डबहरू गुप्तवास बसेको र सो गुप्तावास बस्दाको समयमा प्रयोग गरिएको सांकेतिक भाषा नै हाल दोलखाली नेवारहरूले बोल्ने नेवार भाषा हो भन्ने किम्बदन्ती रहेको छ । सो मन्दिरमा नित्य पूजा बाहेक भिम एकादशी, वालाचर्तुदशी, चैतेदशै, बडादशै इत्यादिमा मेला लाग्ने गर्दछ । दोलखाको धार्मिक स्थलमध्ये कालिन्चोक भगवती पनि एक हो; सदरमुकाम चरिकोटबाट करिव १५ कि.मी. उत्तरमा पदयात्राको दृष्टिकोणले रमणीय स्थल कालिञ्चोक गाविसमा अवस्थित यो मन्दिर ३८४२ मी.को उचाईमा छ । कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौँको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ । कालिन्चोक डाँडाबाट मनोरम रोलवालिङ हिम शृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ ।
    चरिकोटदेखि करिव १७ किलोमीटर दुरीमा रहेको कुरी बजारसम्म कच्ची मोटरबाटो बनेको छ । जुन बाटोमा जीप गाडी र मोटरसाइकल चलाउन सकिन्छ । सुख्खा याममा यदाकदा मिनीबस पनि चलाउन सकिन्छ । यद्यपि यस बाटोमा नियमित सार्वजनिक सवारी साधन उपलब्ध छैन । कुरी बजार देखि उकालो करिव १ घण्टा पैदल यात्रा गरी कालिञ्चोक भगवती स्थानमा पुग्न सकिन्छ ।

    पर्यटकीयस्थलको अर्को उद्यमस्थल हो दोलखाको जिरी उपत्यका जिरी बजार सदरमुकाम चरिकोटबाट ५६ कि.मी पूर्वमा रहेको जिरी बजार (उपत्यका) सगरमाथा प्रवेशद्वार हो । समुन्द्र सतहबाट १९५१ मी.को उचाईमा रहेको जिरी मनोरम प्राकृतिक सौन्दर्यले भरिएको छ । यसलाई नेपालको स्वीटजरल्याण्ड पनि भन्ने गरिन्छ । नेपालको स्वीजरल्याण्ड भनिने पहिचान बनाएको दोलखाको जिरी पुग्न सदरमुकाम चरिकोटबाट २ घण्टाको यात्रा तह गर्नु पर्छ । काठमाण्डौंबाट एक सय ८४ किलोमिटरका यात्रा पछि पुगिने जिरी सिमान्तकृत जिरेलहरूको बसोबास रहेको छ । १९०५ मीटरको उचाईमा रहेको जिरी उपत्यका सन् १९३८ सालमा स्वीस सरकारले पक्की सडक पु¥याएको थियो । सगरमाथाको प्रवेशद्धार पनि भनिने जिरीमा जिरेल जातिको मात्र बसोबास रहेको छ । स्वीट्जरल्याण्डको जुरिच सहरको रूपमा जिरीलाई चिनिन्छ । सगरमाथा आरोहणमा जानेहरु र सगरमाथा क्षेत्रमा जाने पैदल यात्रीहरु जिरीहुँदै जाने गरेका छन् । विशेष गरी विदेशी पर्यटकहरु रोल्वालिङ क्षेत्र घुम्न सिंगटी हुँदै जाने गर्दछन् । जिरी आसपासका चेर्दुङ र हनुमन्तेबाट रोल्वालिङ क्षेत्रका हिमालहरु, दोलखा र रामेछापका अधिकांश गाउँहरु देखिने र चेर्दुङ महादेवको दर्शन गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
    यी यस्ता धार्मिक तथा पर्यटकीय स्थानहरु दोलखा जिल्लाको मात्र नभई समग्र नेपालको धार्मिक आस्थाको देवस्थल पनि हो । प्रकृतिले दिएको धार्मिक र पर्यटकीय क्षेत्रले भरिभराउ खानी दोलखाका धार्मिक तथा पर्यटकीय प्रसिद्ध ठाउँहरू पनि छन् जसले वेग्लै इतिहासलाई दर्शाउने गरेको छ । जस्तै, गौरिशंकर हिमाल, च्छोरोल्पा हिमताल, प्रसिद्ध दोलखा भिमसेन मन्दिर, शैलुङ्गेश्वर महादेव, टसी गुम्बा, देलाउङेश्वर महादेव, रोल्वालिङ उपत्यका, च्छोरोल्पा हिमताल, वेदिङ गाउँ, जटा पोखरी, वहुला पोखरी, शैलुङ्गे डाँडा, गाईखुरा महादेब मन्दिर, खिम्ती जलविद्युत आयोजनाको पावर हाउस (किर्ने), म्याग्नेसाईट खानी (खरिढुङ्गा), चरिकोट, जिरी, किर्नेटार आदि रहेका छन् ।

    परम्परागत र धार्मिक विश्वसका साथ अहिले देश विदेशबाट दोलखाको ऐतिहासिक पौराणीक देवस्थलको भ्रमण गर्न र दर्शन गर्नका लागि हजारौँको संख्यामा भक्तजनहरु आउने गर्दछन् । सुन्दर दोलखाका पर्यटकीय क्षेत्रमा पाइला टेक्न र आफनो नाँगो आँखाले हेर्न र पर्यटकीय स्पर्शको अनुभुत गर्दा सबै दुखःहरुको अवसान हुन्छ र शान्ति तथा आनन्दको अनुभव हुन्छ । दोलखामा धार्मिक पर्यटनका महत्वपूर्ण गन्तब्यका रुपमा विकास हुने सम्भावना देखिएको छ । यी धार्मिक देवस्थलहरु पर्यटकहरुका लागि निकै महत्वपूर्ण स्थान हो, जसले ऐतिहासिक सांस्कृतिक, धािर्मक तथा पुरातात्विक महत्व बोकेको छ । यसको स्थापनाका विषयमा अध्ययन र अनुसन्धानको जरुरी छ ।

    प्रचार प्रसारको अभावले यो ठाँउमा पर्यटक अझै प्रचुर मात्रामा आउन सकेको छैनन् । यसका लागि आज सम्म कुनै पनि निकायले यो स्थानमा धार्मिक पर्यटक प्रवर्दका लागि कुनै पहल गरेका छैनन् । जसका कारण दोलखाले मात्र नभई समग्र पर्यटन विकासबाट राज्यले धार्मिक तथा पर्यटक प्रर्वद्धनतर्फबाट आयआर्जन गर्न सक्ने राजश्व गुमाउनु परेको छ । यो दोलखा जिल्लाको मात्र नभई राष्ट्रका लागि अप्रत्यक्ष नोक्सानी पनि हो । बागमती प्रदेशमा पर्ने यस क्षेत्रमा रहेका प्राचीन संस्कृति, ऐतिहासिक विविधता, सम्पदास्थल, धार्मिकस्थलका साथै नयाँ पर्यटकीय गन्तव्य क्षेत्रमा प्रदेश सरकारले एउटा धार्मिक तथा पर्यटकीय प्रवद्धन विकासको द्धिर्घकालिन योजना बनाएको खण्डमा धार्मिक पर्यटनका महत्वपूर्ण गन्तव्यका रुपमा विकास हुने सम्भावना देखिएको छ ।

    किम्बदन्तीहरु पल्टाउँदै जाने हो भने विक्रम संवत् १८३२ मा राजा प्रतापसिहं शाहको मृत्यु हुँदा भिमसेनले गर्दा २ अंगुलमाथि उठेको कथन छ । यति सुन्दर ठाँउ जहाँ प्रचारप्रसार नभएका कारण धार्मिक, सांस्कृतिक तथा पदयात्री पर्यटक लैजान सकिएको छैन । यसमा सरोकारवाला निकायले समयमा नै सोच्नु पर्ने बेला भएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्