images
images
  • Latest Update

    Trending

    “खुशी कहिल्यै फर्केन”

    निरोज तोलाङे— सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदीका साइला तामाङ्गको जीवनमा खुशी कहिल्यै आएन । ४० बर्षको उमेरमा पनि उनको दैनिकी खड्का काजिको घाँस दाउरामै वित्ने गरेको छ । अर्काको घरमा घाँस दाउरा गरेर जिविकोर्पाजन गर्दै आएका साइलाको लागि गत साउन ३० गते शुक्रवार विहान गएको पहिराले झन ठूलो पीडा बनेर बज्रन पु-यो । २०७२ बैशाख २९ को त्यो घट्नाले साइँलाको आँखा अहिले पनि रसाउँछन् । उनी भन्छन्–बैशाख २९ गते दिएको राहत लिन १२ बर्षको छोरालाई लिएर जलवीरे पुगेका थिए साइँला । तर राहत लिएर घर फर्कदा बैशाख २९ गतेको भुकम्पका कारण पहिरो आई उनीहरु चढेको मिनिट्रकलाई पुरेपछि साइँलाले छोरा गुमाउनु प-यो ।

    विनाशकारी भुकम्पका पुरानै ती आफुमाथि आइलागेको कहालीलाग्दो आलो पीडालाई अझै पनि भुल्न नसेकेका साइलाले पहिरोले गर्दा सबै परिवार सखाप भएको घटनाले झन आफूलाई सम्हाल्न सकेनन् । पहिरोमा पुरीएर सपरिवारको मृत्यु भएको खबर सुनेपछि बेहोस जस्तै भएका थिए साइँला । चौतारा अस्पतालमा उपचार गराईरहेका उनले त्यतिबेला आशु बगाएर टोलाउने शिवाए अरु केहि गर्न सकेनन् । २०७७ साउन ३० गते जुगल ३ लिदीमा गएको पहिरोमा परी ३६ जनाले ज्यान गुमाएका छन् भने अझै तीनजना बेपत्ता छन् ।

    विशानकारी पहिरोले तहस नहस बनाएको झण्डै एक वर्ष वित्न लाग्दा समेत लिदीका पहिरो पीडित परिवारको पीडा घटेको छैन । लिदीबाट सबै गाउँ नै सरेर बाँसखर्कमा अस्थायी बसोबास गर्दै आएका उनीहरुको जनजीवन पहिरो पश्चात झनै कष्टकर र पीडादायक छ । त्यसैगरी बाह्रबिसेमा पनि २०७२ सालको विस्मयकारी भूकम्पले सिन्धुपाल्चोक नागपुजेको रूप नै उलटफेर ल्याइदिएको थियो । गुजुमुज्ज परेको बस्ती । एउटै लहरमा उभिएका र एकै दामलका जस्ता देखिने घर–गोठ ।

    बाह्रबिसे नगर क्षेत्रभरिकै उम्दा ठाउँ थियो, नागपुगे । तर, २०७२ वैशाख १२ र २९ गतेको विनाशकारी महाभूकम्पले इतिहासको गर्तमा विलीन गराइदियो । नागपुजेका परम्परागत पिता पुर्खाको पसिना नामेट भयो । तीन पुस्ताको कमाइ एकै झट्कामा स्वाहा भयो ।तथापि, मानिसहरूलाई भूकम्पको धूलो टक्टक्याएर उठ्न र जीवनको लयमा फर्कन समय लागेन ।
    भूकम्पपछिको दिन सम्झँदै तेम्बानोर्बु तामाङ भन्छन्, “भूकम्पबाट मानिसहरू आफ्नै बुतामा तङ्ग्रिँदै थिए, सरकार र सङ्घ–संस्थाले मद्दत गरेपछि छिट्टै नागपुजे उभियो । पहिलेको भन्दा भिन्न र राम्रो स्वरूपमा उभियो । गाउँको विकास पनि भयो ।” तेम्बानोर्बु सम्झन्छन्, भूकम्पले छिमले पनि नागपुजेसँग अपुग्दो केही थिएन । ठुल्ठूला, चित्ताकर्षक फाँट । आयस्ता प्रशस्तै हुने बारी । भीरखर्कको छाती रसाएर बग्ने पयुँखोला ।
    पयुँखोला नागपुजेको प्राण नै थियो । बस्तीको समीपबाट बाह्रैमास बग्ने पयुँ खोलाले सिङ्गै फाँटलाई सिञ्चित तुल्याएको थियो । घट्ट–मिल गर्न पनि टाढा जानुपर्दैनथ्यो । हिउँदवर्षा त्यही पयुँ खोलाको पानीले घट्ट–मिल घुमाउँथ्यो । नागपुजेबासीको दैनिकी सहज तुल्याउँथ्यो ।

    भदौ २७ गते नागपुजेले अर्को भयानक त्रासदी बेहो-यो । भीरखर्कबाट खसेको पहिराले भोटेकोसीसम्मको बाटो तय गर्दा नागपुजे खण्डहर–बगरमा परिणत भयो । बाह्रबिसे ७ का हेमविक्रम थापा त्यसदिनको विपत्ति सम्झन्, अघिल्लोदिन साँझदेखि परेको अविरल पानी मध्यरातसम्म थामिएको थिएन । बस्तीको पुछार भएर बग्ने भोटेकोसी उर्लिएर आएको थियो । भोटेकोसीको उच्चाटलाग्दो सुसाइ विपत्ति निम्त्याउन उद्दत प्रतीत हुन्थ्यो । “भोटेकोसी यसरी कराउँथ्यो हामीहरू त्राहित्राहि थियौं, कतै बाह्रबिसे बजारै निल्ने त होइन । सखुवा बजारलाई नै आफ्नो आहारा त बनाउने पो हो कि भनेर हामी थर्कमान् थियौं,” उनी त्यसदिनको त्रासदी सम्झँदै भन्छन् । राति साढे एक भएको हुँदो हो, हेमविक्रम यकिन गरेर भन्न सक्दैनन् । पानी झन्झन् दर्कन थाल्यो । ग्वार्र..पहिरो चलेको आवाज आयो ।

    “मध्यरात छ । भोटेकोसी झन् ठूलो स्वरले चिच्याउँदै छ । कतै बत्ती बलेको छैन । कहाँ के भयो कसरी ठम्याउनु ? भगवान जप्नुबाहेक के उपाय थियो र ?,” उनी भन्छन् । ग्वार्र.. आवाज आएको केही क्षणमै डाँडै बज्यो । पर्वत खसेजस्तो आवाज आयो । हेमविक्रमले पहिरो नै भएको यकिन त गरे । तर, मध्यरात भएकाले पहिराले कहाँ, के निल्यो ? ठम्याउन सकेनन् ।
    “ठूलो पहिरो चलेको, पर्वत नै खसेजस्तो अवाज आएपछि पारितिर हेरेर बसेँ । मानिसहरू रोएको, चिच्याएको आवाज नआएपछि पहिरोले बस्ती छलेछ भनेर ढुक्क भएँ,” उनी सुनाउँछन् ।
    एकैछिनमा गाउँमै भौगदौड मच्चिन थाल्यो । कङ्कलाशब्द सुनिन थाल्यो । सामूहिक रुवाइको उराठलाग्दो ध्वनीले सबैको निद्रा खल्बलियो । ज-याकजुरुक उठे ।
    “किन रोए होलान् भनेर छक्क पर्दैथेँ । मेरो घर बगाएर भोटेकोसीमा झा-यो, परिवार पनि लग्यो भनेर एकजना रुँदै आउनुभयो,” उनी भावुक हुँदै सुनाउँछन्, “त्यसपछि मात्रै पहिरोले आफ्नै गाउँ पो छिमलेछ भन्ने थाहा पाएँ ।”
    हेमविक्रमले मानवीय क्षति त बेहोरेनन् । तर, ३० मुरी धान फल्ने खेतको नामोनिशान छैन । पहिरोमा वेपत्ता भएका लालबहादुर श्रेष्ठ, जसको परिवारमा उनीसहित तीनजना हराइरहेका छन् । पहिरोको भँगालो नै उनको घरबाट सोझिएकाले भेटिने सम्भावना पनि न्यूनः प्राय छ । उनको घरभन्दा ठीक माथि हेमविक्रमको ठूलो एउटा गह्रा र ५–७ वटा फगटा थिए । ३० मुरी आयस्ता हुन्थ्यो । तर, पहिराले नामेट तुल्याइदियो । “खेत हुँदा आयस्ता हुन्छ, त्यसैले बाँचौंला भन्ने हुन्थ्यो । खेत नभएपछि कसरी बाँच्ने होला भनेर अत्यास लाग्दो रहेछ,” उनी निरुपाय हुँदै सुनाउँछन् ।

    भदौ २७ यता उनी दिनरात पहिरोमा टोलाएर बस्छन् । पहिरोमा हराइरहेका १५ जनामध्ये कसैको शव भेटिन्छ कि भन्न आश पनि लाग्छ । बढ्ता चिन्ता लालबहादुरकै लागेको छ । “परिवारै वियोग हुँदा रुने मानिस पनि बाँचेनन्, मूली बगाएपछि बालबच्चाले दुःख पाउलान् पहिरोले दया गरेको हो कि, सबैलाई सोहो-यो,” उनी अवाक् हुन्छन् । भीरखर्कबाट सुरु भएको पहिराले नेवार टोलतिर पनि शाखा फिँजारेको थियो । बढ्ता क्षतिचाहिँ नागपुजेमै ग-यो । भीरखर्क, नेवारटोलमा गरेर ११ जना बेपत्ता थिए । बिहीबारसम्म सबैजनाको शव फेला परिसकेको हेमविक्रम बताउँछन् । नागपुजेका अधिकांशको अवस्था अज्ञात छ । बिहीबार दिनभर स्काभेटरले पहिरो पन्छाए पनि बेपत्तामध्ये कसैको नामोनिशान भेटिएन । नेपाली सेना, प्रहरी र सशस्त्र बलको दिनभरको मिहिनेत खेर गयो । व्यर्थ भयो । “एकजनाको शव झण्डै ३० किलोमिटर तल बलेफी छेउमा भेटियो । अर्कोको लास बसेरीमा फेला प-यो । रङ्गशाला बनाउन मिल्ने समथर खेत–बस्ती पहिराले भीरखर्क बिर्साउनेगरी भीरमा परिणत गरिदिएको छ, कसको घर कहाँनेर थ्यो भनेर ठम्याउन मुस्किल छ, कसरी फेला पर्लान् र खै ?” हेमविक्रम निराश हुन्छन् ।

    नन्दमाया श्रेष्ठले बिहीबार दिनभर स्काभेटर पछ्याइन् । स्काभेटरले जताजता पहिरो पन्छाउँछ उनका आँखा त्यतैत्यतै दौडिइरहे । पहिराले सासु भक्तिमाया श्रेष्ठ, देवर करण श्रेष्ठ र देवरानी मनकुमारी श्रेष्ठ बेपत्ता बनाएपछि उनीहरूको खोजपड्तालमा लागेकी छन् । उनीहरू फेला पर्ने छाँट छैन । तर, उनले आश मारिसकेकी छैनन् । पहिराले सास बुत्याए पनि लास त्यतै छाडिदियो कि भन्ने लागिरहन्छ । “शव भेटिएका परिवारहरूले काजकिरिया गर्न पाए । सद्गत पनि भयो,” उनी रुँदै व्यथा सुनाउँछिन्, “शव नभेटिएकाको किरिया गर्न पनि पाएको छैन ।” सुसराको शव बलेफीनजिक भेटिएको थियो । सासु, देवर र देवरानीलाई पहिराले भोटेकोसीमै पु-यायो भन्नेमा उनी यकिन छैनन् । पीपलको रूख छेउमा अड्काएको पनि हुनसक्छ भनेर केहीबेर त्यहाँ पनि खोतल्न लगाइन् उनले । सबैभन्दा ठूलो पिरलो देवरानीकै छ । उनी गर्भिणी थिइन् । चिकित्सकले बिहीबार (असोज १ गते) कै मिति तोकेका थिए । विडम्बना पहिराले उनलाई पनि छाडेन । ती शिशु, जसले धर्तीको अनुहार देख्नै पाएको थिएनन्, गर्भभित्रै रहँदा पहिरो बेहोर्नु उनको नियति बन्यो । “त्यो बच्चाको लेखान्त नै त्यही रहेछ, जन्मनु अगावै मृत्यु बेहोर्नुप-यो,” उनी डाँको छाडेर रुन्छिन् ।

    नन्दमाया पहिरोजाँदा नागपुजेमा थिइनन् । २०७२ सालको भूकम्पले घर उखेलेपछि उनी काठमाडौं बस्न थालेकी छन् । साढे १ बजे पहिरोले सासुससुरा बगाएपछि छरछिमेककाले उनलाई खबर गरे । राति नै हान्निएर नागपुजे आउन मन थियो । तर, कोरोना सङ्क्रमणको कहर र लकडाउनले हातखुट्टा बाँधिदियो ।
    भोलिपल्ट हारगुहार गरेर साधन खोजेर आइन् । गाउँको हालत देखेर उनको भक्कानो छुट्यो । नचिताएको भवितव्य बेहोर्दा अहिले पनि उनको होस ठेगानमा छैन । “भीरखर्क त पहिराको जोखिममै थियो । तर एक किलोमिटर तल नागपुजेमा पहिरो जाला भनेर कसैले चिताएको थिएन । नेवार, बाहुन, क्षत्रि, विश्वकर्मा, नेपाली, तामाङ जाति सबै मिलेर बसेका, स्वर्गको एकटुक्रा थियो यो गाउँ, पहिराले यहीँ आँखा लगायो,” उनको आँसु थामिँदैन ।

    दिलबहादुर नेवारको घर भीरखर्कको ठीकमुनि थियो । घरछेउबाट खोल्सो बग्थ्यो । ६४ वर्ष उमेर झेल्दा पनि उनले यस्तो त्रासदी बेहोरेका थिएनन् । २०७२ वैशाख १२ र २९ गतेको भूकम्पले पनि उनको मथिङ्गल यसरी मच्चाएको थिएन । पहिराले उनलाई आहत तुल्याएको छ । पहिराको भँगालो आफ्नै घरबाट सोझिँदा खहरेमा परिणत हुनपुग्यो ।
    “छिमेकी, सँधियार कोही पनि बाँकी राखेन । सँगै रुखो–पीठो खाएका, दुःख–सुख बेहोरेका छिमेकी बेपत्ता छन् । न जीवितै आए नि त भनेर खुसी हुन पाइएको छ, न शव भेटियो भनेर रुन पाइएको छ । गाउँको यस्तो हालत छ,” उनी दुःखेसो पोख्छन् ।

    बिहान साढे १ बजेतिर खसेको पहिरो र दिलबहादुरबीच प्रतिस्पर्धा नै चल्यो । “बालबच्चा च्यापेको छु । पछिपछि पहिरो आउँदैछ, अघिअघि म भाग्दैछु । कहाँ पुगेर छोप्ने हो भन्ने लागेको थियो । धन्न छलिएछु,” उनी त्यसदिनको त्रासदी शब्दमा वर्णन गर्छन् । अहिले गाउँ नै विस्थापित भएर टेन्टमा समेटिएको छ । फूल खेल्न थालेको कोदाबारी फाँडेर टेन्ट टाँगिएको छ । नगरपालिकाले खडा गरेको सामूहिक मेसमा भातभान्छा चलेको छ । “दुईचार दिन त यसरी चल्ला पनि । भूकम्पपछि दुःख गरेर उभ्याएको घर पहिराले भोटेकोसीमा मिलाइहाल्यो । खेतबारी पनि भोटेकोसीमै पुग्यो । अब के खाएर जिन्दगी गुजार्ने होला । म त बुढो पनि भएँ, बालबच्चाहरू जसको सिङ्गै जीवन बाँकी छ, उनीहरू के खाएर बाँच्लान् ? सम्झीसम्झी मन कहालिन्छ,” उनी भन्छन् ।

    प्रकाशित मिति : जुलाई २०, २०२० 

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्