images
images
  • अर्थसंक्षेप : सहकारीपीडितको बचत फिर्ता गर्ने प्रधानमन्त्रीको वाचा, कैलालीका तीन सय उद्योग बन्द

    काठमाडौं – काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा गरिरहेको फटपाथ विस्तार कार्यलाई आगामी मंसिर २ गतेसम्म रोक्ने सहमित जुटेको छ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक सयले बढेको छ । बङ्गुरमा देखापरेको स्वाइन फिभरका कारण जिल्लाका किसानले बङ्गुरपालन छाडेका छन् ।

    यी हुन् अर्थसंक्षेप समाचारहरू :

    सहकारी पीडितको बचत फिर्ता हुन्छ, कर्जा सुरक्षण कोष स्थापना हुँदैछ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले जनजीविकाका सवालमा केन्द्रित भएर कार्यसम्पादन गरी सुशासन कायम गर्दा मात्रै जनताको विश्वास बढ्ने बताएका छन् ।

    उनले विभिन्न समयमा चर्चामा आएका भ्रष्टाचारकाण्ड र अकूत सम्पत्ति आर्जनका आरोपहरूको निष्पक्ष र स्वतन्त्र छानविनमा सरकार प्रतिवद्ध भएको दाबी गरे ।

    ‘जहाँसम्म सहकारीको विषय छ, यसमा सहकारी क्षेत्र तथा बचतकर्ताहरूले भोग्नुपरेका समस्या सम्बोधन गर्न विगतमा गठित कार्यदलहरूबाट प्राप्त हुन आएका सुझाव एवम् सहकारी पीडितहरुसँग पटक–पटक गरिएका सहमतिहरू कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयबाट विभिन्न प्रयासहरू अगाडि बढेका छन्’, उनले भने, ‘समस्याग्रस्त सबै सहकारी संस्थाका बचतकर्तासँग अनलाइनमार्फत मागदाबी माग गरिए बमोजिम ५९ हजार ५८७ वटा मागदाबी निवेदन प्राप्त भएको छ। ३५ अर्ब ५१ करोड ७२ लाख ३५ हजार रूपैयाँ बराबरको दायित्व एकिन गरिएको छ ।

    रोकियो न्यूरोडमा फुटपाथ निर्माण, महानगरले मंसिरसम्म काम अघि नबढाउने

    काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा गरिरहेको फटपाथ विस्तार कार्यलाई आगामी मंसिर २ गतेसम्म रोक्ने सहमित जुटेको छ ।

    फुटपाथ विस्तार र निर्माणको काम नगर्न स्थानीयवासीहरूसँग महानगरपालिकाले सहमति गरेको हो ।

    सुमनराज भण्डारीको संयोजकत्वमा समितिले दिएको प्रतिवेदनका आधारमा उक्त सहमति जुटेको हो । त्यही सहमतिका आधारमा अब न्यूरोड क्षेत्रमा तत्काल निर्माण कार्य अघि नबढाइने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

    सोमबार न्यूरोड क्षेत्रमा थप फुटपाथ विस्तार गर्ने बिषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने सहमति भएको हो ।

    झिनो अंकले बढ्यो नेप्से, कारोबार १४ अर्ब नजिक

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार झिनो अंकले बढेको छ । आज बजारमा करेक्सन आएसँगै नेप्से झिनो अंकले बढेको हो । निरन्तर बुल ट्रेन्डमा रहेको बजारमा आज निकै उतारचढाव देखिएको थियो ।

    आज नेप्सेमा देखिएको उतारचढाव नेप्सेको करेक्सनको रुपमा लगानीकर्ताले हेरेका छन् । आज नेप्से २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा पुगेको छ । आज नेप्से झिनो अंकले बढेको भएपनि सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स भने घटेको छ ।

    सुनको मूल्य बढ्यो

    स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक सयले बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ४६ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४६ हजार तीन सय निर्धारण भएको छ ।

    त्यस्तै, आइतबार प्रतितोला एक लाख ४५ हजार पाँच सयमा कारोबार भएको तेजाबी सुन आज एक लाख ४५ हजार छ सय निर्धारण भएको छ ।

    कैलालीमा दुई सय ८९ उद्योग बन्द

    जिल्लामा सञ्चालित दुई सय ८९ घरेलु तथा साना उद्योग बन्द भएका छन् । कच्चापदार्थ अभाव, उत्पादित सामग्रीले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्नुलगायतका कारण ती उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ।

    कतिपय उद्योग सञ्चालक रोजगारीका लागि वैदेशिक रोजगारीमा गएकोसमेत देखिएको छ । कार्यालयका लेखा अधिकृत टिकेन्द्रप्रसाद जोशीले खाने तेल, सिमेन्ट ब्लक, पोल्ट्रीफार्म, ब्युटीपार्लर जस्ता घरेलु उद्योग बन्द भई खारेजीमा परेको जानकारी दिए ।

    पूर्वीनाकाबाट १९ अर्बको कृषिजन्य वस्तु निर्यात

    पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०-८१ मा कृषिजन्य उपभोग्य एवम् औद्योगिक वस्तुको आयातभन्दा निर्यात बढी भएको छ । यसवर्ष यी वस्तुको व्यापारमा पूर्वीनाका नाफामा गएको हो ।

    प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार आर्थिक वर्ष २०८०-८१ मा रु १४ अर्ब ३४ करोड ५१ लाख ९५ हजारको विभिन्न कृषिजन्य वस्तु आयात भएको छ ।

    सोही अवधिमा काँकडभिट्टा नाका भएर १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार मूल्य बराबरको वस्तु विदेश निर्यात भएको उनले जानकारी दिए। गत आवको आयातको तुलनामा आव २०८०-८१ मा रु चार अर्ब ६१ करोड २६ लाख ९० हजार मूल्य बराबरको कृषिजन्य वस्तु बढी निर्यात भएको हो ।

    महाकाली भन्सारमा राजस्व संकलनमा वृद्धि, निर्यात शून्य

    सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रुपमा रहेको महाकाली भन्सार कार्यालय झुलाघाटबाट गतवर्ष निर्यात शून्यमा झरेको छ । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ भने निर्यात शून्य देखिएको छ ।

    यस नाकाबाट कुनै पनि सामान निकासी नभएको भन्सार कार्यालयले जनाएको छ । केही वर्ष अघिसम्म घ्यू निर्यात हुने गरेकामा गत वर्ष त्यो पनि निर्यात नभएको भन्सार कार्यालयका प्रमुख अनिल झाले जानकारी दिए। उनका अनुसार आयातबाट लक्ष्यभन्दा एक सय ७० प्रतिशत बढी राजस्व संकलन भएको छ ।

    मेची भन्सार कार्यालयबाट १४ अर्ब २३ करोड राजश्व सङ्कलन

    पूर्वीनाका काँकडभिट्टाबाट भारत, बङ्गलादेशलगायत देशसँग हुने व्यापारघाटा २० अर्ब ३५ करोड ३० लाख ४० हजार पुगेको छ ।

    मेची भन्सार कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०–८१ मा ४४ अर्ब ७५ करोड ६६ लाख ९४ हजार बराबरको आयात हुँदा २४ अर्ब ४० करोड ३६ लाख ५४ हजार बराबरको मालवस्तु निर्यात भएको हो ।

    चितवन राष्ट्रिय निकुञ्जमा ७६ जनावर मरे, २२२ वटाको उद्धार

    चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८०–८१ मा पन्ध्र प्रजातिका ७६ जनावार मरेका छन् । ती मध्ये सबैभन्दा बढी चित्तल छन् ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आवमा कुकुरको आक्रमणबाट दुई र २२ प्राकृतिक कारणले २४ चित्तल मरेका थिए ।

    यसैगरी सो अवधिमा गैँडा २१ मरेका छन् । ती मध्ये १८ प्राकृतिक कारणले हो भने दुई चोरी सिकारीले र एउटाको कारण खुल्न नसकेको उनको भनाइ छ ।

    यसैगरी प्राकृतिक कारणले आठ बाघ मरेका छन् । उनले रतुवा छवटा मरेको अवस्थामा भेटिएको बताए । ती सबै प्राकृतिक कारणले मरेका हुन् । पाँचवटा हात्ती र जरायो चारवटा प्राकृतिक कारणले मरेका छन् ।

    व्यावसायिक मौरीपालनमा जुटे भोजपुर बैकुण्ठेका स्थानीय

    भोजपुरको रामप्रसादराई गाउँपालिका– ६ बैकुण्ठेका स्थानीयबासी व्यावसायिक मौरीपालनमा जुटेका छन् । स्थानीय सरकारले मौरीपालनसम्बन्धी तालिम दिएपछि उनीहरु व्यावसायिक मौरीपालनमा जुटेका हुन् ।

    मौरीपालनको प्रशस्त सम्भावना रहेकाले किसानलाई व्यावसायिक मौरीपालनमा प्रोत्साहन गरिएको वडा कार्यालयले जनाएको छ । यहाँका अधिकांश किसानले व्यावसायिक मौरीपालन गरिरहेका छन् । नजिकै प्रशस्त वन क्षेत्र रहेकाले यहाँका बाक्वा, भामला, छापगाउँलगायतका स्थानमा मौरीपालन हुने गरेको छ ।

    मौरीपालनसम्बन्धी प्राविधिक ज्ञान र आधुनिक घार बनाउने तालिम पाएपछि व्यावसायिक मौरीपालनमा लाग्न सहज भएको स्थानीय किसान शरणकुमार बोहोराले बताए। विगतमा परम्परागत मुढेघारमा मौरीपालन गरिरहेको भए पनि अहिले आधुनिक घारमा मौरीपालन थालेको उनले बताए । दुई चरणमा तालिम लिएपछि आफैले घार निर्माण गर्न थालेको उनको भनाइ छ । अहिले उनले ३५ घार मौरीपालन गरिरहेका छन् ।

    ‘स्वाइन फिभर’को जोखिमले बङ्गुरपालन छाडे किसानले 

    बङ्गुरमा देखापरेको स्वाइन फिभरका कारण जिल्लाका किसानले बङ्गुरपालन छाडेका छन् ।

    व्यावसायिक रूपमा बङ्गुरपालन गर्दै आएका किसानले स्वाइन फिभरको जोखिमले पुनः बङ्गुरपालन गर्न आँट गरेका छैनन् । साना व्यवसायीले समेत बङ्गुरपालन गर्न छाडेका छन् ।

    करिब दुई वर्षअघि देखापरेको रोगले व्यवसायीले बङ्गुरपालनमा चासो देखाए पनि फेरि रोग आउने हो कि भन्ने जोखिममा सबैमा उत्तिकै छ । स्थानीयस्तरमा किसान र समूहमा समेत बङ्गुरपालन गर्ने गरेका थिए अहिले त्यो पनि रोकिएको छ ।

    बङ्गुरपालन व्यवसाय कम भएपछि यतिखेर कैलालीमा बङ्गुरको मासु अभाव हुन थालेका छ । एक वर्षअघि प्रतिकिलो तीन सय ५० मा पाइने मासु यतिखेर पाँच सय पर्न थालेको छ ।

    सहकारीको अवस्थाबारे छलफल

    सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारीको अवस्थाबारेमा संघीय मामिला मन्त्रालयका साथै स्थानीय तहका प्रतिनिधिहरूसँग छलफल गरेको छ ।

    सिंहदरबारमा सोमबार बसेको समितिको १९ औं बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवका साथै नगरपालिका संघ, गाँउपालिका राष्ट्रिय महासंघ लगायतका निकायसँग छलफल गरेको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।

    छलफलका क्रममा स्थानीय तहमा रहेका २४ हजार सहकारीमध्ये कुनैमा पनि ठगी सम्बन्धी समस्या नदेखिएको जानकारी प्राप्त भएको उनले बताए । त्यस्तै थापाले स्थानीय तहमा सहकारीलाई थप सुदृढ बनाउनका साथै समस्यामुक्त बनाउन सुझावहरू समेत आएको उल्लेख गरे ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै