images
images
  • टुँडिखेलमा ओली-देउवाविरूद्ध नारा लगाउने युवा ९ हजार धरौटीमा छुटे

    काठमाडौं- यही सोमबार काठमाडौंको टुँडिखेलमा आयोजित गौरा पर्वका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने तीन युवा धरौटीमा छुटेका छन् ।

    ओली र देउवाविरुद्ध नाराबाजीमा संलग्न युवाहरूलाई प्रहरीले मंगलबार पक्राउ गरेर सरकारी वकिलको कार्यालयमार्फत अभद्र व्यवहारसम्बन्धी मुद्दा जिल्ला प्रशासन कार्यालयमा लगेको थियो ।

    उक्त मुद्दाको सुनुवाइ गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढालाई धरौटीमा छाड्न आदेश दिएका हुन् ।

    काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी माधवप्रसाद ढुंगानाले नयाँ देवानी संहिताअनुसार आएको अभद्र व्यवहार मुद्दामा उनीहरू तीनैजनालाई जनही ९–९ हजार रुपैयाँ धरौटी मागिएको बताए । तीनैजनाले जनही ९ हजार धरौटी बुझाएपछि रिहा भएका हुन् ।

    प्रहरीले उक्त प्रकरणमा सुदूरपश्चिमको पर्व मनाउन आयोजित कार्यक्रम बिथोल्न खोजेको अभियोगमा सुर्खेतका गोपीकृष्ण जैशी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढालाई पक्राउ गरेको थियो ।

    टुँडिखेलको गौरा पर्व कार्यक्रममा प्रमुख अतिथि ओली र विशिष्ट अतिथि देउवाविरुद्ध चर्का नारा लगाएका थिए । उनीहरूले प्रधानमन्त्री ओलीलाई चोरको संज्ञा दिँदै देश छोड्न पनि चेतावनी दिएका थिए ।

    दुवै नेताविरुद्ध ‘मुर्दावाद’सहित आपत्तिजनक नारा लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । आपत्तिजनक नारासहित विरोध गरिएपछि दुवै नेताले त्यस दिन छोटो भाषण गरे । देउवाले त मञ्चबाटै नाराबाजी गर्नेलाई अराजकको संज्ञा दिएर आक्रोश पनि पोखे । ओलीले भने युवाहरूमा संस्कृति विरोधी गतिविधि बढेको गुनासो मात्रै गरे ।

    त्यस दिन आपत्तिजनक नारासहित विरोधमा उत्रिएका युवालाई उनै गोपीकृष्ण जैशीले नेतृत्व गरेको प्रहरीले जनाएको थियो । सबैभन्दा अगाडि रहेका उनले त्यहीँ युट्युबरलाई बाइट दिँदै यस्ता नेतालाई देशबाट लखेट्ने पनि बताएका थिए । जैसी वैदेशिक रोजगारीबाट आएका थिए । उनी बिदा सकेर वैदेशिक रोजगारीमा जान लागेका थिए।

    सोमबार नै जैशीले आफ्नो फेसबुक पेजबाट लाइभसमेत गरेको प्रहरीले भेट्टाएको थियो । ओली र देउवाको विरोध गरिएको ठाउँबाटै उनले ‘बालेन साह हाईहाई’ जस्ता नारा लगाएको भिडियो पनि भेटिएको थियो ।

    यो भिडियोका आधारमा माओवादी कार्यकर्ता जैसीले गौराको कार्यक्रम बिथोल्ने नाममा बालेन्द्र साहलाई बदनाम गर्ने कोसिस भएको निष्कर्ष निकालेको थियो । यसबारे काठमाडौंका मेयर साहले केही बोलेका छैनन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै