images
images
  • आज १७औँ पुस्तकालय दिवस मनाइँदै

    काठमाडौं– आज १७औँ राष्ट्रिय पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ । हरेक वर्ष भदौ १५ गने यो दिवस मनाइँदै आएको छ ।

    विसं २०६५ सालदेखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाउँदै आएको हो ।

    राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा विसं १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

    दिवसका अवसरमा दुई साता अघिदेखि नै सरकारी एवं गैरसरकारी स्तरबाट विभिन्न कार्यक्रम सुरु भएको छ । सरकारले पुस्तकालय दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्लेको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ ।

    मूल समारोह समितिले यस वर्षको पुस्तकालय दिवसको नारा ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ तय गरेको छ । यही नाराका आधारमा आज पुस्तकालय दिवसको मूल कार्यक्रम गरिनेछ ।

    कार्यक्रममा पुस्तकालय दिवससम्बन्धी स्मारिका सार्वजनिक गरिनेछ । मूल समारोहको कार्यक्रममा उत्कृष्ट पुस्तकालय र पाठकलाई पनि सम्मान गर्ने गरी तयारी छ ।

    शिक्षा मन्त्रालयको २०७८–७९ को सर्वेक्षणले देशभर नौ सय २८ वटा सामुदायिक तथा सार्वजनिक पुस्तकालय रहेको देखाएको थियो । तीमध्ये हाल दुई सय २७ वटा पुस्तकालय मात्र राम्रोसँग चलेको नेपाल सामुदायिक पुस्तकालय सङ्घको महासचिवसमेत रहेका मूल समारोह समिति अन्तर्गतको प्रचारप्रसार उपसमितिका संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए ।

    पुस्तकालय दिवसका अवसरमा खुलेका सबै पुस्तकालयलाई राम्रोसँग चलाउनुपर्ने र आवश्यकता भएका अन्य स्थानमा नयाँ खोल्न पनि प्रोत्साहन गर्ने नीति लिनुपर्नेमा जोड दिइएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै