images
images
  • माओवादीको दोस्रो सर्कुलर- जनार्दनको प्रतिबद्धतालाई ‘बोल्ड’ गरेर पठाइयो

    काठमाडौं– नेकपा माओवादी केन्द्रको केही दिनअघि सम्पन्न स्थायी समिति बैठकको निचोड पुन: सर्कुलर गरिएको छ। यसअघि पनि परिपत्र गरिएकोमा बोल्ड गरिएका विषय पुन: थपेर पठाइएको हो।

    सर्कुलरमा पछिल्लो समयमा कतिपय सन्दर्भमा माओवादी पार्टी विभाजन हुँदैछ भनेर चर्चा परिचर्चा चलिरहेको र त्यसमा पनी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टी फुटाउने प्रचारमा कुनै सत्यता नरहेको भन्दै पार्टी एकतावद्ध रहेको तथा रहिरहने उल्लेख छ।

    यसअघि पठाइएको सर्कुलरमा जनार्दनले पार्टी फुटाउँदैछ भन्ने भाष्य चिर्नको लागि प्रचण्डको सम्बोधनको सार संक्षेपमा बोल्ड गरेर ‘पछिल्लो समयमा कतिपय सन्दर्भमा हाम्रो पार्टी विभाजन हुँदैछ भनी जसरी चर्चा परिचर्चा चलिरहेको र त्यसमा पनि उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टी फुटाउँदै छ भन्ने प्रचारमा कुनै सत्यता नरहेको विषय स्पष्ट पार्नुभयो, साथै हाम्रो पार्टी एकताबद्ध रहेको र रहिरहने विश्वास व्यक्त गर्दै बैठकको समापन गर्नुभयो’ भन्ने थप गरिएको छ।

    साथै पार्टीभित्र उठेका विषयहरूलाई केन्द्रीय कमिटीको बैठकमा पेश गर्ने दस्तावेजमा प्रचण्डले समावेशन गर्ने विश्वास दिएको विषयलाई पनि थप गरेर बोल्ड गरिएको छ।

    पार्टीले कांग्रेस र एमालेबीचको ७ बुँदै सहमति पश्चगामी र प्रतिगामी कदम भएको निष्कर्ष निकालेको छ। बैठकले संविधान संशोधन गर्ने नाममा मुलुकलाई २०४७ सालतिर फर्काउने संकेत देखिएको निचोड निकालेको छ।

    ‘संविधान संशोधन गर्ने भनिएका विषय सुन्दा १० वर्षको जनयुद्ध र बृहत शान्ति सम्झौता पछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक-समावेशी लगायतका उपलब्धीलाई उल्ट्याएर मुलुकलाई २०४७ साल तिर फर्काउने संकेत देखिन्छ।’

    समिति बैठक सकिएलगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले हस्ताक्षर गरेको परिपत्रमा भनिएको छ। भ्रष्टाचारविरुद्धको सुशासनको अभियानलाई अवरुद्ध गर्ने र भ्रष्टलाई बचाउने अहिलेको सरकारको नियत प्रष्ट भएको पनि निष्कर्ष निकालिएको छ भने संविधानले सुनिश्चित गरेको बहुदलीय प्रतिस्पर्धाको प्रणालीलाई उल्ट्याएर २ दलीय सर्वसत्ताबाटतर्फ लैजाने दिशामा उद्दत भएको पनि निष्कर्ष माओवादीको छ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै