अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन हामी सबैको साझा चुनौती भएको तथा यस साझा चुनौतीको सामाना गर्न हामी सबैको साझा बुझाइ र साझा प्रयास हुनुपर्ने बताएका छन् ।
यही कात्तिक २६ गतेदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको सम्मेलन कोप–२९ अन्तर्गत आज नेपालले आयोजना गरेको विशेष सत्रलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
राष्ट्रपति पौडेलले नेपालका तर्फबाट आयोजना गरेको ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्रमा जलावायु परिवर्तनका उस्तै प्रभावित राष्ट्रहरुलाई एकै ठाउँमा राखेर छलफल गर्दा समस्याको बारेमा बुझ्न र समाधन गर्न सहज हुने धारणा व्यक्त गरे । राष्ट्रपति पौडेलले उक्त विशेष सत्रमा गरेको सम्बोधनको पूर्ण पाठ यसप्रकार छ ।
कीर्गिस्तानका सम्माननीय राष्ट्रपतिज्यू,
माल्दिभ्सका सम्माननीय राष्ट्रपतिज्यू,
अजरबैजानका सम्माननीय राष्ट्रपतिज्यू,
विकास साझेदार संस्थाका प्रमुख र प्रतिनिधिहरु,
विभिन्न देशका प्रमुख र प्रतिनिधिहरु,
मिडिया प्रतिनिधिहरु,
सर्वप्रथम, हाम्रो निमन्त्रणालाई स्वीकार गरी यस कार्यक्रममा उपस्थिति भई सक्रिय रुपमा भाग लिई दिनुभएकामा हार्दिक धन्यवाद दिन चाहन्छु ।
जलवायु परिवर्तन हामी सबैको साझा चुनौती भएको र यस साझा चुनौतीको सामना गर्न हामी सबैको साझा बुझाई र साझा प्रयास बनाउनुपर्ने भएकाले हामीले यस कार्यक्रमको आयोजना गरेका हौँ ।
जलवायु परिवर्तनका उस्तै प्रभावित राष्ट्रहरुलाई एकै ठाउँमा राखेर छलफल गर्दा समस्याको बारेमा बुझ्न र समाधान गर्न पनि सहज हुने हाम्रो विश्वास हो । सबैलाई आ–आफ्नो समस्या ठूलो लाग्नु स्वाभाविकै हो, तर पछिल्ला दिनमा नेपालले भोगेका जलवायु समस्याको चुनौती निकै हृदयविदारक छ ।
तीन महिनाअघि विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकैको हिमताल फुट्दा सम्पूर्ण थामेगाउँलाई बगाएर लग्यो, जबकि त्यस क्षेत्रमा मानवीय गतिविधि शून्य नै थियो । त्यस्तैगरी, विगत तीन महिनामा जलवायुजन्य प्रकोपमा परेर नेपालमा मात्र पाँच सयभन्दा बढी मानिसले ज्यान गुमाउन पुगे भने खर्बभन्दा बढीको हानि–नोक्सानी भएको छ । यस प्रकारको हानि–नोक्सानी भर्खरै स्पेनमा भएको बाढी र डुबानलाई हेर्दा पनि हुन्छ, र गत जुलाईमा क्यारिबियन क्षेत्रमा आएको आँधीबेहरी हेर्दा पनि हुन्छ । भोलिका दिनमा यो मानवीय सङ्कट कसलाई कतिबेला पर्छ, कसैलाई थाहा छैन, तर आज समस्या परेको देशलाई सबै मिलेर सहयोग गर्नु नै मानवीय धर्म हो भन्ने हामी नेपालीको विश्वास पनि हो ।
पहाडी देशमा परेको जलवायु जोखिमको प्रभाव सामुद्रिक देशमा पर्न सक्ने र सामुद्रिक किनार माथि उठ्न सक्ने भएकाले आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न म हार्दिक अनुरोध गर्दछु ।
मुख्यगरी कार्बन उत्सर्जन गर्ने विकसित राष्ट्र र उच्च दरमा आर्थिक वृद्धि गर्ने राष्ट्रले उच्च जलवायु जोखिममा परेका राष्ट्रका लागि बढी सहयोग गर्नुपर्ने हुन्छ, बढीभन्दा बढी जलवायु वित्तको व्यस्थापन गर्न २९औँ जलवायु सम्मेलन सफल हुनेछ भन्ने मेरो विश्वास छ ।
जलवायु परिवर्तनका प्रभाव बहुआयामिक भएकाले हानि–नोक्सानीलाई जलवायुवित्त व्यवस्थापनका लागि नयाँ समिष्टिगत सङ्ख्यात्मक लक्ष्यमा हानि–नोक्सानी समेत समेट्न म विशेष आह्वान गर्दछु ।
अन्त्यमा, पुनः एकपटक सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद दिँदै यस कार्यक्रमलाई म यही अन्त्य गर्दछु । प्रकृति संरक्षणका लागि विश्वलाई अपिल गर्दै वेद्को यो उद्धरणलाई उद्धृत गर्दै आफ्नो भनाइ टुङ्ग्याउँछु ।
ॐ द्यौः शान्तिरन्तरिक्षं शान्तिः
पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्तिः ।
वनस्पतयः शान्ति विश्वेदेवाः शान्ति ब्रह्म शान्तिः
सर्वं शान्तिः शान्तिरेव शान्तिः सा मा शान्तिरेधि ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्