सिरहा– आम जनता पार्टी ((आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको शिक्षा ध्वस्त बनाउन लागेको आरोप लगाएका छन् ।
विद्यार्थीको अनुपातमा तहगत र विषयगत शिक्षक दरबन्दी कायम गरी शिक्षकको व्यवस्था गर्नुपर्ने भए पनि सरकारले मधेसमा त्यसो नगरी यहाँको शिक्षा व्यवस्था ध्वस्त बनाउन लागेको उनले बताए ।
आजपा मधेस प्रदेश कमिटीद्वारा आयोजित ‘भ्रष्टाचार विरुद्ध मधेस यात्रा’ कार्यक्रमको आज दोस्रो दिन सिरहा जिल्लाको मिर्चैया बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले विगतमा मधेसको शिक्षा ठिक भए पनि पछिल्लो समय मधेसवादी भनाउँदाको प्रदेश सरकार र ओली सरकारले शिक्षा, स्वास्थ्य, रोजगार, उद्योग व्यापार लगायतका क्षेत्र बरबाद बनाएको बताए ।
मधेसमा गुणस्तरीय शिक्षाको व्यवस्था गर्नुपर्ने माग गर्दै अध्यक्ष साहले भने, ‘विगतमा गुणस्तरीय शिक्षा लिन विद्यार्थीहरू पहाडबाट मधेसमा आउँथे । अहिले ठिक उल्टो भएको छ । यहाँ तहगत र विषयगतको अभाव छ तर सरकारले त्यसको दरबन्दी कायम गरेर शिक्षकको व्यवस्था गरेको छैन । एउटै कक्षा कोठामा १०० भन्दा बढी विद्यार्थी कोचिएर पढ्नुपर्ने बाध्यता छ । तर यो अन्धो र बहिरा सरकारले बेखबर छ ।’
साहले भ्रष्टाचारी र अपराधीलाई संरक्षण गर्नका लागि बनेको वर्तमान सरकारको नेतृत्व गरिरहेको एमाले अहिले सत्ता र सडकबाट आतंक मच्चाएको आरोप लगाए । सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक र जनताका लागि काम गर्नुको साटो तर्साउने, डराउने, आतंक मच्चाउन सडकमा प्रदर्शन गर्न लागेको बताए ।
एमालेको सडक प्रदर्शन सत्ताको उन्मादको प्रहसन भएको टिप्पणी उनले गरे । प्रधानमन्त्री नै सडक प्रदर्शनमा उत्रिनु भनेको लोकतन्त्रको उपहास भएको टिप्पणी उनले गरे । ‘सरकारले सडकबाट काउन्टर गर्ने जुन स्थिति निर्माण गरिरहेको छ त्यो भनेको बच्चालाई कुट्ने र रुन पनि नदिने क्रूरता हो’ आजपा अध्यक्ष साहले भने ।
प्रतिक्रिया दिनुहोस्