म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ की हिमा छन्त्यालले यस वर्ष चारमुरी कोदो बेचेर १७ हजार आम्दानी गरिन् । छन्त्यालले गत असारमा चार हजार खर्च गरेर बाँझो बारीमा कोदोखेती गरेकी थिइन् ।
वर्षौंदेखि बाँझिएको बारीमा खनजोत, मल र खेतालाका लागि असारमा चार हजार खर्च गरेकी छन्त्यालले ३० हजार बराबरको सात मुरी कोदो उत्पादन भएको बताइन् ।
उत्पादन भएको कोदोमध्ये चार मुरी बिक्री गरेर तीन मुरी घरायसी प्रयोजनका लागि राखेकी उनले बाँझो रहेको आफ्नो सबै बारीमा अर्को वर्षदेखि कोदोखेती गर्ने बताइन् ।
छन्त्याल मात्रै होइन पछिल्लो समय म्याग्दीका किसान कोदोखेतीतर्फ आकर्षित हुँदै गएका छन् । माग बढेसँगै आम्दानी पनि वृद्धि हुँदै गएपछि ग्रामीण भेगका महिला किसान कोदोखेतीतर्फ आकर्षित भएका हुन् । राम्रो मूल्य पाउने र उत्पादन गर्न पनि सजिलो भएकाले कोदोखेतीतर्फ आकर्षण बढेको जिल्ला कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
म्याग्दीका छ वटै स्थानीय तहमा कोदोको राम्रो उत्पादन हुन्छ । थोरै बीउमासमेत धेरै उत्पादन गर्न सकिने कोदो पाखो जमिनमा लगाउने गरिन्छ ।
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा दुई हजार सात सय ५० हेक्टर क्षेत्रफलमा कोदोखेती हुँदै आएकामा गत वर्षदेखि बाँझो जग्गामा पनि किसानले कोदोखेती विस्तार गर्न थालेका छन् ।
गाउँगाउँमा सञ्चालित होमस्टे (घरवास) मा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ । उत्पादित कोदो बिक्री गर्नाका साथै घरेलु मदिरा उत्पादन गर्ने, ढिँडो र रोटी बनाएर खान बजारमा माग बढिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्