images
images
  • विदेश जाने बढेको बढ्यै, तर रेमिटेन्स स्वाट्टै घट्यो

    काठमाडौं । विदेश जानेको संख्या बढिरहेको भए पनि रेमिटेन्स भित्रिने दर लगातार घटेको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार यस वर्षको पहिलो ६ महिनामा रेमिटेन्स सात खर्ब ६३ अर्ब रुपैयाँ भित्रिएको छ । यो अघिल्लो वर्षको यही अवधिको तुलनामा ४.१ प्रतिशत मात्रै धेरै हो ।

    गत वर्षको यही अवधिमा रेमिटेन्सको वृद्धिदर २२.२ प्रतिशत थियो । अमेरिकी डलरमा रेमिटेन्सको वृद्धिदर झन् थोरै छ । पुससम्म रेमिटेन्स (अमेरिकी डलरमा) १.१ प्रतिशतले मात्रै बढेर पाँच अर्ब ८५ करोड डलरमा सीमित छ । यो गत वर्षको यही अवधिमा १९.५ प्रतिशतको वृद्धिदर थियो । विदेशी मुद्रासँगको सटही दरमा परिवर्तन आइरहने भएकाले अमेरिकी डलरमा भित्रिएको रेमिटेन्स तुलनाका लागि बढी यथार्थपरक हुन्छ ।

    वैदेशिक रोजगारी तथा अध्ययनका लागि जाने नेपालको संख्या बढिरहँदा रेमिटेन्सको वृद्धिदर घट्नुले नेपाल भित्रिनुपर्ने रेमिटेन्स हुन्डीमा प्रयोग भएको वा पुँजी पलायनमा प्रयोग भएको हुन सक्ने आशंका बढाएको छ । यो वर्ष नयाँ र पुनः श्रम स्वीकृति गरी पुससम्म तीन लाख ९३ हजार जनाले वैदेशिक रोजगारीका लागि अनुमति लिएका छन् । गत वर्ष वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने (पुनः सहित) तीन लाख ४० हजार ३३० मात्रै थिए ।

    नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखरेलले रेमिटेन्सको आकार ठूलो भइसकेकाले वृद्धिदर सधैँ उच्च हुन कठिन हुने बताए । उनले भने, ‘आधार नै ठूलो भइसकेकाले वृद्धिदर घटेको हुन सक्छ, तर यसमा निचोड निकाल्न थप अध्ययन चाहिन्छ ।’

    पछिल्ला तीन आर्थिक वर्षमा मात्र करिब २५ लाख नेपाली काम र अध्ययनका लागि वैदेशिक रोजगारीमा गएका छन् । कोभिड–१९ का तीन वर्ष न्यून हुन पुगेको रेमिटेन्सको वृद्धिदर आव २०७९/८० मा २३.१७ र आव २०८०/८१ मा १६.४९ प्रतिशतले बढेको थियो । तर यस आर्थिक वर्षमा रेमिटेन्सको वृद्धिदर घट्ने देखिएको छ । गत आर्थिक वर्षमा नेपालमा १४ खर्ब ४५ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो ।

    यस वर्षको पुससम्म देशको चालू खाता भनिने देशमा भित्रिने र बाहिरिने रकमबीचको अन्तर एक खर्ब ४८ अर्ब रुपैयाँले बचतमा छ । अर्थात् देशमा बाहिरिनेभन्दा भित्रिने रकम ज्यादा छ । यद्यपि गत वर्षको तुलनामा यो केही घटेको छ । एक वर्षअघि देशको चालू खाता एक खर्ब ६२ अर्ब रुपैयाँ बचतमा थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्