
काठमाडौं । स्थानीय तह कर्मचारी युनियन नेपालले काठमाडौं महानगरपालिकामा देखापरेका समस्या तत्काल समाधान गर्न माग गरेको छ ।
कर्मचारी युनियन अध्यक्ष नरबहादुर साउदले मङ्गलबार विज्ञप्ति जारी गर्दै २५ चैतभित्र प्रमुख प्रशासकीय अधिकृतको विधिवत् उपस्थिति सुनिश्चित गरी कार्यालय सञ्चालन समुचित प्रबन्ध नहुने हो भने आन्दोलन हुने बताएका हुन् ।
युनियनले भनेको छ, ‘मुलुककै राजधानी सहरको समग्र व्यवस्थापन प्रणाली नै ठप्प हुन पुगी सेवा प्रवाहमा जटिलता बढ्दै जाँदा समेत सम्बद्ध पक्षमा वाञ्छित संवेदनशीलता नदेखिनु आफैंमा खेदजनक छ ।’
‘विगत केही समयदेखि कार्यालयको कामका सिलसिलामा कर्मचारीलाई केही अनधिकृत मानिसले गैरकानुनी दबाब दिने, निम्नस्तरको भाषा प्रयोग गरी कर्मचारीको मानमर्दन गर्ने, त्रासको वातावरण सिर्जना गरी कर्मचारीलाई मनोवैज्ञानिक दबाब दिने र कानुनसम्मत काम गर्न पाउने कर्मचारीको नैसर्गिक हक नियन्त्रण गरी हुकुमी शैलीको प्रशासनिक व्यवस्थापन लाद्न खोज्ने प्रवृत्ति बढ्दै गएको हुँदा त्यस्तो अनुचित कार्यलाई प्रश्रय नदिन र अविलम्ब बन्द गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्