
काठमाडौँ–पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीआरसीसँग कुलमान साटेको आरोपको खण्डन गरेका छन्।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्रीले रोष्टममा आएर जवाफ नदिएसम्म हाउस चल्न नसक्ने बताएका छन्।
प्रचण्डले प्रधानमन्त्रीले सदनमा आएर चित्तबुझ्दो जवाफ दिएमात्रै सदन खुल्ने बताए। यो आरोप बेइमानीपूर्ण र आपराधिक प्रचार बाहेक केही नहुन स्पष्ट पारे।
प्रचण्डले भने, ‘हामीले प्रधानमन्त्रीले संसदको रोष्ट्रममा आएर जवाफ नदिएसम्म हाउस चल्न सक्दैन भनेका छौं । प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्ने हुन्छ । उहाँले स्पष्टीकरण दिनुपर्ने हुन्छ । स्पष्टीकरण चित्तबुझ्दो भए तुरुन्तै हाउस चल्छ । स्पष्टीकरण पनि जालझेलको भयो भने आन्दोलन अगाडि बढ्छ ।’
प्रमुख प्रतिपक्ष दलको नेतासमेत रहेका उनले प्रधानमन्त्री केपी ओलीको नियतमाथि प्रश्न उठाए।
‘प्रचण्डले टीआरसीसँग कुलमान साट्यो ! योभन्दा झुटो, योभन्दा बेइमानीपूर्ण आपराधिक प्रचार केही हुनसक्छ। सिंहदरबार गएर टीआरसी लगत्तै गर्नुपर्ने केही बाध्यता थिएन। त्यसले मलाई फेरि स्वर्ग र नर्क सम्झायो। फेरि एकचोटी जालझेल मलाई महसुस भएको छ। एक दुई दिन पर्खेको भए पनि हुन्थ्यो ?’, ओलीको नियतमाथि प्रश्न उठाउँदै प्रचण्डले भने।
सोमबार सिंहदरबारमा प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीको बैठकले सङ्क्रमणकालीन न्याय(टीआरसी) सिफारिस समिति गठन गर्ने निर्णय लगत्तै ओलीले मन्त्रिपरिषद् बैठक राखेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो।
यसै विषयलाई लिएर राप्रपाका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रचण्डमाथि गम्भीर आरोप लगाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्