images
images
  • देशको वर्तमान परिस्थितिलाई गम्भीरता पूर्वक लिऔँ: सम्मानित नेता खनाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देशको वर्तमान अवस्थालाई गम्भीरताका साथ लिन आग्रह गर्नुभएको छ।

    शनिबार एक विज्ञप्ति जारी गर्दै उहाँले देशको परिस्थितिलाई गम्भीरतापूर्वक लिन र देशलाई अग्रगामी दिशातिर अघि बढाउनु सबैलाई अपिल गर्नु भएको हो।

    जारी विज्ञप्तिमा भनिएको छ, ‘आज १५ चैत २०८१ मा राजधानी काठमाडौँमा एकातिर गणतन्त्र पक्षधर चार वामपन्थीहरूको जन प्रदर्शनको आयोजना थियो, भने अर्कोतिर राजावादीहरूले काठमाडौँको तिनकुनेमा कथित प्रदर्शनको आयोजना गरेका थिए । वामपन्थीहरूको जनप्रदर्शन शान्तिपूर्ण ढंगले भव्य रुपमा सफल भयो । तर राजावादीहरूको कथित गणतन्त्र विरोधी, संविधान विरोधी र व्यवस्था विरोधी प्रदर्शन सुरुदेखि नै प्रहरीका विरुद्ध निरन्तर उत्रिन थाल्यो, केही समयमा उनीहरूको जमघट अत्यन्त अराजक र हिंस्रक बन्न थाल्यो ।  हेर्दाहेर्दै उनीहरू प्रहरीमाथि ढुङ्गामुढा गर्न थाले, वरिपरिका घरपरिवारमाथि हमला गर्न थाले, तीनकुने स्थित मार्बल हाउसमा तोडफोड र आगजानी गरे । बिभिन्न मिडिया हाउसहरु माथि समेत हमला गर्न थाले र एक पत्रकारको समेत हत्या गरे।
    हुदाँ हुँदै हाम्रो पार्टीको केन्द्रीय कार्यालयमा राजावादी गुण्डाहरूको एउटा जथ्थाले व्यापक तोडफोड र आगजानी गरे । त्यसरी नै हाम्रो पार्टीका अध्यक्षको घर तोडफोड गर्ने दुष्प्रयास समेत गरे । त्यति मात्र होइन भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने, ठाउँठाउँमा नीजि पसलहरु समेत लुट्ने र जडीबुटी उत्पादन कारखाना समेत जलाउने काम गरे । यी अत्यन्त निन्दनीय, बिध्वंसकारी, अराजक र अराजनीतिक कृयाकलापहरु हुन् । यी सम्पूर्ण कार्यहरूको म हाम्रो पार्टीको तर्फबाट घोर भत्सना र विरोध गर्दछु । साथै सरकारले यस्तो बिध्वंसक गतिविधिलाई पनि किन नियन्त्रण गर्न सकेन? समयमै पूर्व तयारी गर्न किन सकेन? म सरकारको यो अकर्मण्यता र असक्षमताको बारेमा पनि प्रश्न उठाउन चाहन्छु । यस्तो अबस्थामा सरकारलाई यी बिध्वंसकारी र हत्यारा अपराधीहरुलाई तुरुन्त पक्राउ गर्न र कडा कार्यबाही गर्न म जोडदार माग गर्दछु ।

    सम्पूर्ण जनसमुदायहरु,

    क्रान्तिकारी शक्तिहरू, देश भक्तशक्तिहरू, वामपन्थीहरु १ देशमा बिकास हुदैँ गएको यो जटिल परिस्थितिलाई गम्भीरतापूर्वक विश्लेषण गरौं । सत्तामा रहेका यथास्थितिवादीहरूको अकर्मण्यताको बिरोध गर्दै पूनरुत्थानवादी राजावादीहरूको बिध्वंसक गतिविधिको देशव्यापी रुपमा विरोध र भण्डाफोर गरौं र गणतन्त्रको रक्षा गर्दै जनता र राष्ट्रलाई आमूल परिवर्तनको दिशातिर दृढतापूर्बक अघि बढाऔँ ।’

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्