
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज राजधानी काठमाडौँमा विरोध प्रदर्शन गर्ने भएको छ । पार्टीले विभिन्न स्थानबाट र्याली निकाल्दै बल्खुमा केन्द्रीय विरोध सभा गर्ने तयारी गरेको छ । यसका लागि राप्रपाले प्रशासनसँग पूर्व स्वीकृति लिइसकेको जनाइएको छ ।
विरोध सभामा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत शीर्ष नेतृत्वले सम्बोधन गर्नेछन् । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय झण्डासहित एकजुट हुन आह्वान गरेका छन् । उनले लेखेका छन्, ‘यी भ्रष्टहरूको देशप्रेम र राष्ट्रियता हराएको । लुटतन्त्रका सरदार नाइकेहरू कति डराएको। जाबो एउटा कार्यक्रमको डरले थुरथुर कापेर अनुमति नै दिएका छैनन् तर पनि राप्रपाको कार्यक्रम रोकिँदैन । २६ गते राष्ट्रिय झण्डासहित एकजुट बन्ने हो युवा बेच्ने, देश बेच्ने, सानादेखि ठूलासम्म भ्रष्टाचारका काण्ड मच्चाउने भ्रष्टाचारीका देशद्रोहीका विरुद्ध बिगुल फुक्ने हो ।’
काठमाडौंको माइतीघरदेखि बबरमहल सडकमा शिक्षक आन्दोलन विगत केही दिनदेखि जारी रहेको छ । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले शान्तिबाटिकादेखि राष्ट्रपति भवन शितलनिवास नजिकसम्म प्रदर्शन गर्दै आएका छन् । यसरी छुट्टाछुट्टै प्रदर्शनका कारण काठमाडौं उपत्यकाको आवागमन प्रभावित हुने अनुमान गरिएको छ।
यसैबीच सवारी आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको छ । एक सूचना जारी गर्दै प्रहरीले सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानहरूबारे जानकारी गराएको हो ।
डाइभर्सन गरिने मुख्य क्षेत्रहरू यस्ता छन्:
- खसीबजार – मकालु – कलङ्की चोक– बाफल
- बल्खु चोक– कुलेश्वर– कालीमाटी चोक– टेकु
- कीर्तिपुर– सुन्दरीघाट– सानेपा– एकान्तकुना
आवश्यक परेमा थप डाइभर्सन गरिने सम्भावित क्षेत्रहरूमा त्रिपुरेश्वर, बालाजु, हलचोक, नैकाप, सीतापाइला, चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर समावेश गरिएका छन् । ट्राफिक महाशाखाले सोमबार सूचना जारी गर्दै सवारी चालकहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह समेत गरेको छ ।
पार्किङ स्थानहरूको व्यवस्था
कार्यक्रममा सहभागी भएर सवारी साधन लिएर आउने व्यक्तिहरूका लागि विभिन्न पार्किङ स्थानको समेत व्यवस्था गरिएको छ। ती स्थानहरू यस्ता छन्:-
- टियू गेटदेखि चोभार सडक खण्ड
- सानेपा करिडोर सडक (दुबै तर्फ)
- चोभार सुख्खा बन्दरगाह क्षेत्र
- नयाँ बसपार्क
- सीतापाइला–बाफल सडक खण्डमा एक साइड
सुरक्षा व्यवस्था कडा
विभिन्न समूहको प्रदर्शन र सम्भावित भिडभाडलाई ध्यानमा राख्दै सुरक्षा निकायहरूले राजधानीका संवेदनशील क्षेत्रमा अतिरिक्त प्रहरी फोर्स परिचालन गरेका छन् । जनताको सुरक्षालाई प्राथमिकता दिँदै शान्तिपूर्ण प्रदर्शन सुनिश्चित गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्