images
images
  • आर्थिक कारोबारबारे थाहा छैन, गोरखा मिडियाको ऋणको जिम्मा म लिन्नँ : रवि लामिछाने

    काठमाडौं । सहकारी ठगीको आरोमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारी ठगी छानबिन विशेष समितिमा इन्कारी बयान दिएका छन् । समितिमा उपस्थित भएका उनले बयानका क्रममा आफूले कुनै पनि सहकारीबाट ऋण नलिएको यसअघिकै दाबीलाई दोहोर्‍याएका हुन् ।

    समितिको कार्यालय सिंहदरबारमा अपराह्न साढे ३ बजे सुरु भएको बयान राति १ बजेसम्म चलेको थियो । करिब १० घण्टा चलेको बयानमा समितिका सदस्यहरूले विभिन्न सहकारीबाट गोर्खा मिडियामा आएको रकम र तत्कालीन प्रबन्ध निर्देशकका रूपमा लामिछानेका दायित्वका विषयमा ५१ मूल प्रश्न सोधेका थिए । लामिछानेले भने आफू १४ महिना प्रबन्ध निर्देशक रहेको कम्पनीको आर्थिक कारोबारबारे थाहा नभएको, सहकारीबाट आएको रकमको कानुनी दायित्व आफूमा नरहेको भन्दै इन्कारी बयान दिएका हुन् ।

    उनले गोरखा मिडियाले लिएको ऋणको जिम्मा आफूले नलिने बताएका छन् । ‘म सहकारीको सदस्य हैन र कुनै पनि लोन सहकारीबाट लिएको छैन । म सहकारीबाट मिडियाले लिएको लोनको जिम्मा लिन सक्दिनँ‚’ लामिछानेको भनाई उद्धृत गर्दै समितिका सदस्यले भने । जबकि उनको नाममा बुटवलको सुप्रिम सहकारीबाट ऋण प्रवाह भएको सार्वजनिक भइसकेको छ । बयानमा लामिछानेले आफूले गोरखा मिडिया नेटवर्कमा पसिनाको १५ प्रतिशत शेयर लिएको र त्यसैका आधारमा एमडी भएको बताएका छन् ।

    बयानपछि सञ्चारकर्मीसँग कुराकारी गर्दै लामिछानेले सहकारीको एक पैसा पनि आफ्नो पेटमा नपरेको दाबी गरेका छन् । ‘सहकारीको एक पैसा पनि मेरो पेटमा परेको छैन, मैले ती नामका सहकारीबाट एक पैसा पनि लिएको थिइनँ ,’ बयानबाट निस्कँदै गर्दा उनले भने, ‘यो कुरा मैले आफ्नो ढंगबाट प्रस्ट पारेको छु ।’

    करिब ५० हजार सर्वसाधारणले चार सहकारीमा जम्मा गरेको करिब ९६ करोड रुपैयाँ गीतेन्द्रबाबु (जीबी) राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा सारिएको थियो । ८० करोड रुपैयाँ सार्दा लामिछाने प्रबन्ध निर्देशक थिए । समिति सभापति सूर्य थापाका अनुसार सहकारी छानबिन प्रकरणमा सबैभन्दा लामो बयान लामिछानेसँग लिइएको हो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै