
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाजवादी मोर्चाले गणतन्त्रको समर्थनमा आयोजना गर्न लागेको जनप्रदर्शनलाई प्रतिगमनको विरुद्धको सकारात्मक कदमको रूपमा व्याख्या गरेका छन् ।
बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा विचार व्यक्त गर्दै पोखरेलले विपक्षी दलहरूले प्रतिस्पर्धा, आलोचना र विरोध गर्नु स्वाभाविक भए तापनि गणतन्त्र र लोकतान्त्रिक व्यवस्थामाथि हुने कुनै पनि आक्रमणको सामना गर्न सक्नुपर्ने बताए । उनका अनुसार, राजनीतिक दलहरूबीच प्रतिस्पर्धा भए पनि जब लोकतन्त्र र जनताको सार्वभौमसत्तामाथि खतरा आउँछ, तब एकजुट भएर त्यसको प्रतिकार गर्न आवश्यक हुन्छ ।
उनले इतिहासले यस कुरालाई पटक-पटक प्रमाणित गरिसकेको उल्लेख गर्दै, वर्तमान समय लोकतान्त्रिक चेतनाले परिपूर्ण युग भएको पनि बताए । समाजवादी मोर्चाले आयोजना गर्न लागेको यो प्रदर्शन गणतन्त्रको रक्षा तथा लोकतान्त्रिक मूल्य र मान्यताहरूको प्रवर्द्धनका लागि महत्वपूर्ण हुने महासचिव पोखरेलको धारणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्