
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताएका छन् ।
नयाँ वर्ष २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै उनले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, प्रगति, सफलता र नयाँ उत्साह पैदा होस् भन्ने कामना गरेका छन् । अनेकौं कठिनाइका बाबजुद हासिल भएका उपलब्धिलाई आधार बनाएर उज्यालो भविष्यतर्फ अगाडि बढ्न सकिने विश्वास उनले व्यक्त गरेका छन् ।
‘नयाँ वर्षमा हामी नयाँ ऊर्जा, नयाँ सङ्कल्प र नयाँ सम्भावनाको खोजी गर्छौं । यस वर्षले हामी सबैमा आशा, उत्साह र सकारात्मक सोचको विकास गर्न प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु । देशलाई समृद्ध र जनतालाई सुखी बनाउने हाम्रो साझा संकल्प हो’ प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।
राष्ट्रको साझा आकांक्षा साकार पार्न सरकार एक्लैले मेहनत गरेर पुग्दैन भन्दै उनले देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास, मेहनत र योगदान आवश्यक हुने बताएका छन् । जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधता राष्ट्रका साझा सम्पत्ति भएको उल्लेख गर्दै उनले तिनलाई परस्पर विरोधी शक्तिका रूपमा नभई एकताको आधारका रूपमा विकास गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
विकास आज केवल सपना नभई यथार्थ बन्न थालेको र ग्रामीण भेगमा बनेका भौतिक पूर्वाधारले जनजीवनमा पारेको प्रत्यक्ष प्रभाव लोकतान्त्रिक प्रणालीको उपलब्धि भएको प्रधानमन्त्रीले बताएका छन् । युवापुस्ता राष्ट्रका सम्भावना भएकाले उनीहरूको जोश, जाँगर र सिर्जनशीलतालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउन सरकारले उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर र आत्मविश्वासी बनाउने नीति अवलम्बन गरेको जानकारी पनि उनले दिएका छन् ।
‘मुलुकको लोकतान्त्रिक प्रणालीले ल्याएको परिवर्तनलाई हामीले हेर्ने मात्र होइन, अँगाल्ने, उत्सवको रूपमा मनाउने र अझ सकारात्मक दिशामा अघि बढ्ने सङ्कल्प लिनुपर्छ’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्दै राष्ट्रप्रेम, एकता र प्रगतिमा भरोसा गर्दै अघि बढ्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्