
काठमाडौँ । काठमाडौंको टोखाबाट बरामद करिब २५ करोड रुपैयाँ बराबरका विदेशी मुद्रा तस्करीमा दुई जनाविरुद्ध अभियोगपत्र दायर भएको छ ।
राजस्व अनुसन्धान विभागले ट्रकका चालकसमेत रहेका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका फुच्चे भनिने कुसाङ लामा र नारायण पौडेललाई मुख्य अभियुक्त बनाई अभियोगपत्र दायर गरेको हो ।
मंगलबार जिल्ला अदालत काठमाडौंमा उनीहरूविरुद्ध विदेशी विनियम ऐनअन्तर्गत मुद्दा दर्ता गराई २५ करोड ३४ लाख ७८ हजार ८ सय ४२ रुपैयाँ बिगो दाबी गरिएको हो ।
युरो र डलर बरामद भएलगत्तै पौडेल भने सम्पर्कविहीन छन् । पौडेलविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।
ट्रकको ‘फल्स बटम’मा लुकाएर स्थल नाका हुँदै रसुवागढीबाट चीनको केरुङतर्फ तस्करी गर्न लागिएको १३ लाख ७५ हजार १ सय ५० युरो र ३ लाख २० हजार ८ सय ५० अमेरिकी डलरसहित चैत ४ मा कुसाङ लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो ।
बरामद विदेशी मुद्रा र ना ७ ख १६५२ नम्बरको ट्रकसहित लामालाई प्रहरीले राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्