काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसद्का दुई ठूला दल मिलेर सरकार निर्माण गर्दा राजनीतिक स्थायित्वको आशा बढेको र यसबाट नेपालका सानादेखि ठूला लगानीकर्ता, नेपालको बजार एवं उद्योगीहरूमा उत्साह बढेको बताएका छन् ।
अध्यक्ष ढकालले नेपालमा स्वदेशी तथा विदेशी लगानी बढ्न नसक्नुको एउटा प्रमुख कारण राजनीतिक तथा नीतिगत अस्थिरता रहेको उल्लेख गर्दै नयाँ बनेको सरकारले नेपालमा राजनीतिक तथा नीतिगत स्थायित्व दिने र लगानीकर्तामा आत्मविश्वास बढ्न गई मुलुकमा आर्थिक गतिविधिमा वृद्धि हुने अपेक्षा गरिएको बताए ।
‘कोभिड महामारीपछि विभिन्न कारणले हाम्रो अर्थतन्त्र शिथिल बनेको छ । यसमा राज्यका विभिन्न निकायले लिएको नीतिका बाबजुद राजनीतिक अस्थिरता पनि एउटा प्रमुख कारण हो । यो सरकारले स्थायित्वको सुनिश्चितता दिएपछि आन्तरिक तथा बाह्य दुवै लगानीकर्ता, उद्योगी र आम उपभोक्ता तथा नागरिकमा उत्साह र आत्मविश्वास बढ्न सक्छ र यसबाट अर्थतन्त्र चलायमान बन्न सहयोग पुग्नसक्छ,’ ढकालले भने ।
अध्यक्ष ढकालले भने, ‘अहिले मुलुकको अर्थतन्त्र अप्ठेरो अवस्थामा छ । सरकार, निजी क्षेत्र र अन्य सरोकारवाला निकायको निरन्तरको प्रयासबाट बिस्तारै आफ्नो लयमा फर्किन लागेको मुलुकको अर्थतन्त्रले अनुभवी अर्थमन्त्री खोजेको समयमा विष्णु पौडेलको नेतृत्वले यस क्षेत्रमा पनि सकारात्मक सन्देश प्रवाह गरेको छ ।’
‘अर्थमन्त्रीका रूपमा विष्णु पौडेल एक अनुभवी व्यक्ति हुन् । उनले आफूलाई एक सफल अर्थमन्त्रीका रूपमा स्थापित गरिसकेका छन् । अहिलेको अर्थतन्त्रका चुनौतीहरू सामना गर्न उनी एक सक्षम व्यक्ति हो भन्ने हामीलाई लागेको छ’, उनले भने । नेपालको समग्र निजी क्षेत्र अर्थमन्त्रीसँग सहकार्य गरेर अर्थतन्त्रमा देखिएको अहिलेको समस्या समाधान गर्न सधैँ तयार रहेको पनि अध्यक्ष ढकालको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्