images
images
  • गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण सुरु

    चितवन– भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण थालेको छ ।

    महानगरपालिकाको सहरी पूर्वाधार महाशाखका प्रमुख सन्तोष आचार्यका अनुसार प्यारापिट मुनि ढुङ्गाको सोलिङको धमाधम भइरहेको छ । निर्माणमा प्रयोग हुने स्थानीय सामग्रीको महानगरपालिकाको प्रयोगशालामा परीक्षण भइरहेको छ भने रड प्रयोगशाला परीक्षणका लागि काठमाडौ पठाइएको छ ।

    यसैबीच, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्धारित समयमा काम पूरा गर्न कम्पनीका प्रमुख एवं प्राविधिकलाई अनुरोध गर्दै नगरपालिकाका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरिन् ।

    उनले कुनै समस्या भएमा तत्काल समाधान गर्न कर्मचारीलाई निर्देशन दिइन् । निर्माणमा सहजीकरणका गर्न महानगरपालिकाले निर्माणस्थलमा कार्यालय स्थापना गरिने उनको भनाइ छ ।

    महानगरपालिकाका उपनिर्देशक इन्जिनियर जगन्नाथ अर्यालका अनुसार १० हजार दर्शक बस्नमिल्ने प्यारापिटसहित मैदान तयार गरिने छ ।

    रङ्गशाला निर्माणको लागत ७५ करोड ५० लाख ९१ हजार १ सय ८९ छ । विसं २०८३ पुस २२ गतेसम्ममा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको छ ।

    चालु आर्थिक वर्षमा सङ्घीय सरकारले २५ करोड र भरतपुर महानगरपालिकाले चार करोड ८० लाख बजेट विनियोजन गरेका छन् । बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत व्यहोर्ने सहमति गरेको छ ।

    सुरुमा रङ्गशाला निर्माण थालेको धुर्मस सुन्तली फाउण्डेशनले पाँच हजार जना अट्ने प्यारापिट तयार गरिसकेको छ । त्यसका लागि दुई सय ८६ वटा पिलर खडा भइसकेका छन् ।

    त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० विघा १९ कट्ठा जग्गा रङ्गशालाले चर्चेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै