images
images
  • डेंगी परीक्षण र उपचारका निम्ति सबै संघीय अस्पतालमा छुट्टै डेस्क स्थापना हुने

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रण र रोकथामका लागि सार्वजनिक स्थलको निगरानी बढाउनुपर्ने बताएका छन्।

    डेंगु रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई बिहीबार मन्त्रालयमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विद्यालय, अस्पताल, क्याम्पस, तरकारी बजार, हाटबजार, खुला ठाउँ, सार्वजनिक स्थलमा पालिकाले वडालाई क्रियाशील बनाइ निगरानी गर्न आवश्यक रहेको बताए ।

    उनले बढी मानिसहरूको उपस्थिति हुने ठाउँलाई निगरानी गरेको खण्डमा नियन्त्रणमा योगदान पुग्ने बताए । उनले लामो बाहुले लुगा लगाउने जस्ता जनचेतना अभिवृद्धि गर्नसके पनि महत्वपूर्ण उपलब्धि हुने बताए । उनले जनचेतना अभिवृद्धि गर्ने क्रममा संघ, प्रदेश र स्थानीय तहले समन्वयात्मक रुपमा भुमिका खेल्नुपर्ने उल्लेख गरे । उनले टेलिफोनको रिङटोनमा डेंगुबाट बच्ने उपायहरूको सूचना दिने व्यवस्था मिलाउने पनि बताए ।

    उनले कार्यालय सफा गर्ने अभियान हरेक हप्ताको शुक्रवार बिहान १० देखि ११ बजेसम्म सञ्चालन गर्न आग्रह गरे । भदौ र असोज महिनामा आफ्नो कार्यालय सफा गर्ने अभियान चलाउनसके मात्रै पनि डेंगु नियन्त्रणमा सहयोग पुग्ने बताए ।

    उनले भने ‘विद्यालय, अस्पताल, कलेज, तरकारी बजार, हाटबजार, खुला ठाउँ, सार्वजनिक स्थल यो सबैमा पालिकाले वडालाई क्रियाशील बनाएर निगरानी गर्न आवश्यक छ । यो बढी मानिसहरूको उपस्थिति हुने ठाउँलाई निगरानी गरियो भने नियन्त्रणमा योगदान पुग्छ । विशेष गरी जनचेतना अभिवृद्धि गर्ने, लामो बाहुले लुगा लगाउनुपर्दो रहेछ भन्नेकुरा पनि सबैलाई बुझाइयो भने यो पनि ठूलो कुरा हुन्छ । त्यसैले जनचेतनाको पक्ष असाध्यै महत्वपूर्ण छ । जनचेतना अभिवृद्धि गर्ने क्रममा संघ, प्रदेश र स्थानीय तहले कसरी काम गर्न सक्छन् ? डेंगुबिरुद्ध कसैले केही पोस्ट ग¥यो भने त्यो चेतनामूलक सूचना रहेछ भने सबैले शेयर गर्ने गर्नुपर्छ । टेलिफोनको रिङटोनमा यसको बारेमा हामी सूचना दिनेकुरा गर्नेछौँ । टायर नष्ट गर्ने सन्दर्भमा पनि यहाँहरूले विशेष ध्यान दिन जरुरी छ । आफ्नो कार्यालय सफा गर्ने अभियान शुक्रवार गरौँ । मन्त्रालयले तोकिदिएको नै छ, तपाईँहरूले पनि सोही समय तोकिदिनुभयो भने शुक्रवार १० देखि ११ बजेसम्म सबै प्रमुखदेखि सहयोगीसम्म काममा जुट्नुपर्छ । त्यसले चेतना अभिवृद्धि गर्न सकिन्छ । भदौ र असोज महिनामा आफ्नो कार्यालय सफा गर्ने अभियान चलाऔँ ।’

    मन्त्री पौडेलले नसर्ने रोगहरूबाट नेपालीहरू आक्रान्त रहेको बताए । उनले सबै संघीय अस्पतालमा डेंगी उपचारका निम्ति छुट्टै डेस्क स्थापना गर्ने बताए । डेंगी संक्रमण देखिए निःशुल्क उपचार हुने पनि बताए । डेंगी खोज र नष्ट गर्ने कार्यलाई प्रभावकारी बनाउन आग्रह गरे ।

    डेंगी रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय वातावरणीय हेरफेर र परिमार्जन हो । जुन खोज र नष्ट विधिमार्फत प्राप्न गर्न सकिने चिकित्सकहरू बताउँछन् । खोज र नष्ट विधि घरदेखि ठूला सामुदायिक अभियानहरूसम्म सबै स्तरहरूमा लागू गर्न सकिने विज्ञहरूको भनाइ छ ।

    यसका लागि कुनै परिष्कृत उपकरण तथा विशेष सीप वा विशेषज्ञको आवश्यकता नपर्ने र सामुदायिक सहभागिताबाटै गर्न सकिने भएको हुँदा यो विधि लागत प्रभावी रहेको विज्ञहरूको सुझाव छ । समुदायहरूलाई नियमित खोजी र नष्ट गतिविधिहरूमा संलग्न गरेर, यसले डेंगी रोकथाम प्रयासहरूमा स्वामित्व र जिम्मेवारीको भावनालाई बढवा दिनुका साथै दिगोपनलाई सुनिश्चित गर्न सकिने विज्ञहरू बताउँछन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै