images
images
  • संसद भवनको निरीक्षण गरेपछि सभामुखले भने– अझै डेढ वर्षसम्म बन्ला जस्तो छैन

    काठमाडौँ । सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद भवनको काम सकिन अझै डेढ वर्ष लाग्ने देखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

    आगामी चैत्र २० गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौता रहेको भएपनि समयावधि भित्रै सक्नेगरी काम हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

    बिहीबार निर्माणाधीन नयाँ संसद भवनको निरीक्षण अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख घिमिरेले सात महिना भित्रमा बाहिरको भौतिक पूर्वाधारसम्म बनाउन सके पनि भित्रका फिनिसिङका कुराहरू सम्पन्न गर्न समयावधि पछिका ७ महिना जति लाग्ने देखिएको उल्लेख गरे ।

    उनले अझै डेढ वर्ष भन्दा अगाडि नयाँ संसद भवनबाट काम गर्न सकिने अवस्था नरहेको भन्दै छिटो काम सम्पन्न गर्न आग्रह गरे । निर्माणका लागि कुनै जटिलताहरू भए सरकारसँग छलफल गरी समाधान गर्न पनि आग्रह गरे ।

    उनले भने  ‘एउटा चिन्ताको विषय के हो भने हामी चैत्र २० भनेको अब ७ महिना छ । सात महिना भित्रमा यसको बाहिरको भौतिक पूर्वाधारसम्म बनाउला तर यसका भित्रका कुराहरू फिनिसिङका कुराहरू सबै कुराहरूले अरु पाँचदेखि सात महिना लाग्ने देखिन्छ । अझै डेढ वर्ष भन्दा अगाडि यहाँ कार्यक्रम गर्न नसक्ने देखिन्छ । कसरी छिटो गर्न सकिन्छ, यसमा सबैको साथ र सहयोग खासगरी उत्साहजनक वातावरण बनाएर जानुपर्छ ।’

    सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले असार मसान्तसम्म भौतिक प्रगति मूल्याङ्कन ८१ प्रतिशत रहेको बताए । उनले भवनहरूमा छानाको काम सबै सम्पन्न भइसकेको पनि बताए । उनले इलेक्ट्रिफिकेशन स्यानेटरीको कामहरु अघि बढिरहेको जानकारी दिए ।

    १९ प्रतिशत बाँकी निर्माण कार्य चैत्र २० गतेभित्र सम्पन्न गर्न निर्माण व्यवसायीसँग निर्धारित कार्यतालिकासमेत माग गरेर अघि बढेको जानकारी दिए ।

    महानिर्देशक महर्जनले निर्माण कार्य समयमै सक्न दुई चरणमा काम गर्न निर्देशन दिएपनि अहिलेसम्म सुरु नभएको बताए । निर्माण कार्य निर्धारित समयमै सक्नेगरी काम गर्नुपर्नेमा सरकारको जोड रहेको बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै