सिन्धुपाल्चोक । बलेफी गाउँपालिकाले सुनकोसी नदि र ब्रम्हायणी नदि किनारमा अवैध रुपमा भण्डारण गरी राखेको बालुवा नियन्त्रण एवं नियमन गर्न पत्र काटेको छ ।
असोज ६ गते उपाध्यक्ष सरु लामा तामाङको संयोजकत्वमा बसेको राजस्व परामर्श समितिको बैठकले विभिन्न स्थानमा मेशिनको प्रयोग गररी उत्खनन गरी थुपारेको बालुवाबारे सूचना आएपछि उक्त निर्णय गरेको हो ।
अवैध बालुवा, गिट्टी नियमन गर्ने निकायहरु जिल्ला अनुगमन समिति, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई आवश्यक कारबाहीको लागि पत्र पठाएको प्रशासकीय अधिकृत सुर्य बहादुर तामाङले बताउनुभयो ।
स्थानीयका अनुसार वर्षातको समयमा केही व्यक्तिहरुको समुहले रातारात खोलामा स्काइभेटर प्रयोग गरि बलेफी ४ र ५ मा पर्ने सानीटार, छातीखोला,ब्रम्हायणी नदि किनारहरुमा सयौं टृफर अवैध बालुवा निकालेर भण्डारण गरि राखेको बताउँछन् ।
हामीलाई जानकारी प्राप्त भए अनुसार स्थानीय तह, जिल्ला समन्वय, जिल्ला प्रशासन र प्रहरी प्रशासनले आवश्यक कारबाही नगर्दा खुलेआम लाखौंको कानुन विपरीत अवैध बालुवा थुपारेको छ ।
यस विषयमा जिल्ला समन्वय समितिका सभापति बालकृष्ण श्रेष्ठसंग बुझ्दा शुक्रबार यसै विषयमा छलफल गर्न बैठक बोलाएको जानकारी दिनुभयो । श्रेष्ठका अनुसार जिल्लाभरका क्रसरहरुमा समेत भण्डारण (स्टक) रहेको गिट्टी, बालुवा प्रमाणित गर्न पत्र काट्दा कोहि पनि नआएकोले भोलि बस्ने बैठकले छलफल गरेर आवश्यक कदम चाल्ने भनाइ छ ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी किरण थापाले यस विषयमा उजुरी संगै नियमन गर्न भनि पत्र प्राप्त भएकोले समन्वय समितिले बोलाएको भोलिको बैठकमा छलफल हुने बताउनुभयो ।
जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार सूचना प्राप्त भए बमोजिम अवैध क्रियाकलाप हुन नदिने उनको भनाइ छ ।
जिल्लाका दर्जनौं क्रसरहरुमा हजारौं ट्रिप बालुवा, गिट्टी स्टक रहेको समेत प्रमाणित गराएका छैनन् । त्यस्तै सुनकोसी खोला किनारमा समेत २४ सै घन्टा हेभी इस्काइभेटर खडा राखी नियम विपरीत बालुवा उत्खनन गरी भण्डारण गरेर राखेको तस्वीर र भिडियो हाम्रो मिडियालाई प्राप्त भएको छ ।
सामान्य जनतालाई १ रुपैयाँ राजस्व नछाड्ने सरकारी निकायले खुलेआम नदि दोहन गरी अवैध क्रियाकलाप सञ्चालन गर्दा हेरेर बस्नु शंकास्पद रहेकोले समयमा नै सम्बन्धीत निकायको ध्यान जान जरुरी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्