images
images
  • कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री

    काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्ने बताएका छन् ।

    राष्ट्रिय कृषि प्राविधिक कार्य समूह बैठकलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषि अनुसन्धानमा काम गर्ने वैज्ञानिकको विदेश पलायन हुने अवस्था नरोकिएको बताए । नेपालमै काम लाग्ने वैज्ञानिकलाई स्वदेशमै रहन सक्ने वातावरण बनाउन जरुरीे रहेको उनको भनाइ थियो ।

    वैज्ञानिक तथा कर्मचारीमा देखिएको विदेश पलायन रोक्न आफूले सक्दो प्रयास गरिरहेको उल्लेख गर्दै मन्त्री अधिकारीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा धेरै वर्षदेखि नसुल्झेका जटिलता सुल्झिँदै गएका र समस्या समाधान गर्न ध्यान दिएको बताए । मन्त्री अधिकारीले समकक्षताको समस्या समाधान गर्न समिति गठन गरिएको जानकारी दिए ।

    कृषि अनुसन्धान प्रणालीलाई व्यावहारिक बनाउन आवश्यक छ भन्दै मन्त्री अधिकारीले कतिपय अनुसन्धान द्रुतगतिमा गरी नतिजा निकाल्नुपर्ने भएकाले नार्कको अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । कृषिउपज आयातको ठूलो आकारले चुनौती थपेको उल्लेख गर्दै उहाँले यो चुनौतीको सामना गर्न नार्कले अन्वेषण गर्ने बालीका जात पनि सोही अनुकूलको हुनुपर्नेमा जोड दिए ।

    “कृषिउपजको आयातलाई कम गर्न छिमेकी देशले कृषिमा गरेको प्रगतिबाट नेपालीले पनि सिक्न जरुरी छ”, मन्त्री अधिकारीले भने । कृषिमा तीनै तहको सरकारको समन्वय र सहकार्य अनिवार्य रहेको तथा सबैको सामूहिक प्रयासले मात्रै आयात कम गरी निर्यातको बाटोतर्फ लाग्न सकिने उनको भनाइ थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्