
काठमाडौं । समाजवादी मोर्चाले हालैका घटनाक्रमको गम्भीर समीक्षा गर्दै प्रतिगामी कदमलाई असफल बनाउन बुद्धिजीवि र नागरिक समाजसँग अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।
शुक्रबार नेकपा (एकीकृत समाजवादी) को आलोकनगरस्थित कार्यालयमा बसेको बैठकले वर्तमान परिस्थितिलाई जटिल भन्दै आगामी चैत्र १५ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
नेकपा नेता खड्गबहादुर विश्वकर्माका अनुसार, उक्त प्रदर्शनलाई भव्य बनाउँदै हजारौँ जनताको सहभागिता सुनिश्चित गर्ने योजना छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै समाजवादी मोर्चाले प्रतिगामी हर्कतविरुद्ध एकजुट भएर प्रतिकार गर्ने निष्कर्ष निकालेको छ । यसैअनुसार, विरोध कार्यक्रमको तयारीस्वरूप भोलि बिहान ११ बजे बुद्धिजीवि र नागरिक समाजसँग अन्तरक्रिया गर्ने तथा दिउँसो साढे २ बजे पत्रकार सम्मेलन आयोजना गर्ने तय गरिएको छ ।
साथै, मोर्चाले संसदवादी दलहरूसँग मात्र नभई संसदीय राजनीतिबाहिर रहेका अन्य राजनीतिक दल तथा नेताहरूसँग पनि छलफल गर्ने रणनीति लिएको छ । समाजवादी मोर्चाले प्रतिगामी प्रवृत्तिलाई परास्त गर्न सबै लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्