काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आज सोमबार नै २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारी, परराष्ट्र मन्त्री डा आरजु राणा बनेकी छन् ।
यस्तै खानेपानीमन्त्री प्रदीप यादव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको जिम्मेवारी नवलकिशोर साह सुडीलाइ दिइएको छ ।
यसै गरी, देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्दा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी बनेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा प्रदीप पौडेल आएका छन् भने कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी अजयकुमार चौरसियालाई दिइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, रक्षामन्त्री मानवीर राई, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्