images
images
  • बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्दै कांग्रेस संसदीय दलका नेता लामा

    बागमती- नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता बहादुरसिंह लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन्। कांग्रेस र नेकपा एमालेको समर्थनमा लामाले मुख्यमन्त्रीमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न लागेका हुन्।

    ‘दुई दलबीच पहिला नै मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्ने सहमति भइसकेको छ,’ लामाले भने, ‘कांग्रेस संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्रीका लागि मेरो दाबी पेस हुन्छ, हाम्रो पार्टी भित्र मुख्यमन्त्रीका लागि कुनै विवाद छैन।’

    नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु हुनासाथ बहुमत प्रदेश सभा सदस्यको हस्ताक्षर सहित मुख्यमन्त्रीमा कांग्रेसका नेता लामाले दाबी पेस गर्ने सहमति भएको एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए।

    ‘मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोलि विश्वासको मत लिनुहुन्छ। उहाँले विश्वासको मत पाउन नसकेपछि नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु हुन्छ,’ थपलियाले भने, ‘प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गर्नुहुन्छ र त्यसलगत्तै हाम्रो दुई दलको तर्फबाट कांग्रेसका नेताले मुख्यमन्त्रीमा दाबी पेस गर्नुहुन्छ।’

    सङ्घीय सरकार निर्माणका क्रममा भएको नयाँ राजनीतिक समीकरणपश्चात् बागमती सरकारबाट एमाले बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाबाट विश्वास लिन लागेका छन्। विश्वासको मतका लागि आइतबार दिउँसो १ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ। प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलमध्ये कांग्रेस, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ।

    कुल एक सय १० सदस्यीय प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का २१, राप्रपाका १२, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सात, नेमकिपाका तीन र हाम्रो नेपाल पार्टीका दुई जना प्रदेश सभा सदस्य छन्।

    जसमध्ये कांग्रेस र एमालेले मुख्यमन्त्री कट्टेललाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ। राप्रपा पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने मनस्थितिमा छ। राप्रपा संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने कुरामा हामी एकमत रहेको बताए।

    प्रदेश सभाका तीन दलले विश्वासको मत नदिने भएपछि मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको प्रदेश सरकार परिवर्तन हुने निश्चितजस्तै छ। मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएपछि कांग्रेस–एमाले गठबन्धको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी भएको कांग्रेस संसदीय दलका नेता लामाले जानकारी दिए।

    कांग्रेस भित्र संसदीय दलका नेता लामा र इन्द्रबहादुर बानियाँबीच सरकारको नेतृत्वलाई लिएर विवाद छ। केन्द्रबाट हस्तक्षेप नभए वा दलको नेता परिवर्तन नभएको खण्डमा लामा नै मुख्यमन्त्री बन्ने सम्भावना बलियो रहेको कांग्रेसका प्रदेश सभा सदस्यहरूले बताएका छन्।

    विश्वासको मतका पक्षमा तीन दल
    बागमती प्रदेशका मख्यमन्त्री शालिकराम जम्कट्टेललाई माओवादी केन्द्रसहित तीन दलले विश्वासको मत दिने भएका छन्। भोलि बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदैछन्।

    मुख्यमन्त्री जम्कट्टेललाई माओवादी केन्द्र, एकीकृत समजावादी र हाम्रो नेपाल पार्टीले विश्वासको मत दिने भएको हो। तीन वटा दलको केही दिनअघि बसेको संयुक्त बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको एकीकृत समाजवादीका प्रदेश सभा सदस्य डा राजेन्द्रमान श्रेष्ठले जानकारी दिए।-रासस

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै