images
images
  • गाजामा ६ जना बन्धक मारिएपछि हजारौं इजरायली नागरिक सरकारविरुद्ध सडकमा

    एजेन्सी– हमासले इजरायलबाट बन्धक बनाएर लगेकामध्ये छ जनाको शव गाजा स्ट्रिपमा फेला परेपछि इजरायलका विभिन्न स्थानमा हजारौँ मानिसले इजरायल सरकारसँग असन्तुष्टि व्यक्त गर्दै विरोधप्रदर्शन गरेका छन्।

    बन्धक मुक्तिको सम्झौता गर्न दबाव दिने उद्देश्यले इजरायलको एउटा ठूलो ट्रेड यूनियन ‘हिस्टाड्रूट’ले सोमवार देशव्यापी हडताल आह्वान गरेपछि त्यसको पूर्वसन्ध्यामा देशभरि जुलुस निकालिएको हो।

    इजरायलको झण्डा अङ्कित लुगा लगाएर सडकमा भेला भएका प्रदर्शनकारीहरूले तेल अभिभ, जेरुसलेम र अन्य सहरमा इजरायल सरकार र प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले बाँकी बन्धकहरूको मुक्तिका लागि हमाससँग सहमति गर्न पर्याप्त काम गरेको आरोप लगाए। आइतवार आयोजित विरोधप्रदर्शन प्रायः शान्तिपूर्ण रह्यो। यद्यपि तेल अभिभमा भिडले प्रहरीको घेरा नाघ्दै एउटा राजमार्गमा अवरोध गरेको थियो। हडताल गर्ने निर्णयमा विपक्षी दल, तेल अभिभका नगरप्रमुख र प्रमुख उत्पादक सङ्घको समर्थन छ।

    यद्यपि हडताल रोक्नका लागि सरकारले अदालतको आदेश ल्याउने प्रयत्न गरिरहेको छ। नेतन्याहूले आफू बाँकी बन्धकको रिहाइ सुनिश्चित गर्न र देशको सुरक्षालाई संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन्। इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले शनिवार दक्षिण गाजाको रफाह क्षेत्रस्थित भूमिगत सुरुङमुनि छ जनाको शव फेला परेको जनाएको थिए। मृतकमध्ये पाँच इजरायली र एक अमेरिकी नागरिक थिए।

    आईडीएफका अनुसार इजरायली सैनिकहरू घटनास्थलमा पुग्नु केही समयअघि मात्रै ती बन्धकको हत्या भएको थियो। उक्त समाचार प्रकाशित भएपछि सरकार र प्रधानमन्त्री नेतन्याहू हमाससँग भएका बाँकी बन्धकको रक्षा गर्न विफल भएको आरोप लगाउँदै चर्को विरोध हुन थालेको हो।
    आइतवार राति प्रहरीको घेरा नाघ्दै तेल अभिभस्थित एउटा मुख्य राजमार्गमा पुगेका कतिपय प्रदर्शनकारीहरू उक्त भेला कत्रो ठूलो छ भनेर हेर्न बसको छत तथा फोहोर सङ्कलन गर्न राखिएका ‘बिन’माथि पनि चढेका थिए।

    सडकमा नारा लगाइरहेका कतिपयले नेतन्याहूको मुखुन्डो लगाएका व्यक्तिलाई घेरा हाल्दै, “हामीलाई उनीहरू जीवित चाहियो, जीवत, जीवित, जीवित…” भनेर नारा लगाएका थिए। एक प्रदर्शनकारीले बोकेको प्ल्याकार्डमा लेखिएको थियो, “तिमी प्रमुख हौँ। दोष तिम्रो हो।” प्रदर्शनकारीहरूले प्रहरीविरुद्ध पनि नाराबाजी गरेका थिए। कतिले बन्धकहरूप्रति ऐक्यबद्धता व्यक्त गर्न हातमा पहेँलो पट्टी बाँधेका थिए।

    लेबर पार्टीकी सांसद नामा लाजिमीले बीबीसीलाई बताएअनुसार चर्को आवाज निस्किने र प्रकाश छर्ने ग्रिनेड प्रहरीले फ्यालेपछि उनी लडेकी थिइन् र उनलाई सामान्य चोट लागेको छ। उनले उक्त प्रदर्शनलाई “उल्लेखनीय र महत्त्वपूर्ण” भन्दै सोमवार के हुन्छ त्यो मुख्य प्रश्न भएको बताइन्। प्रदर्शनमा सहभागी हुनेमा गाजामा बन्धक बनाइएका इडानका पिता एलि श्टिभी पनि थिए।

    “निर्णयकर्ताहरू अब बिउँझिएलान् कि भन्ने हाम्रो अपेक्षा छ। हामीसँग समय छैन।” उनका अनुसार आइतवार आयोजित जुलुसमा इजरायली समाजको सबै वर्गका मानिसहरू सहभागी थिए र उनीहरू बन्धकहरू फिर्ता होऊन् भन्ने पक्षमा छन्।

    “मलाई मेरो छोराको धेरै न्यास्रो लागेको छ। सबै परिवारहरू पनि एक किसिमले बन्धकजस्तै भएका छन्।” तेल अभिभको जुलुसमा सहभागी अर्की प्रदर्शनकारी नोगा बुर्क्मानले आफू “घरमा बस्न नसकेको” बताइन्।

    “मानिसहरूले बुझेका छन् कि अब हामीले नियम तोडेर भए पनि केही गर्नैपर्छ। यो थालनी मात्रै हो।” जेरुसलेममा प्रदर्शनकारीको एउटा ठूलो समूह प्रधानमन्त्री कार्यालयबाहिर भेला भएको थियो। एक ५० वर्षे व्यक्तिले आइतवार आयोजित प्रदर्शन विगतको तुलनामा सबैभन्दा ठूलो भएको बताए। “आज अवस्था फरक छ, योभन्दा अघिको भन्दा भिन्न परिस्थिति छ।”

    स्थानीय सञ्चारमाध्यमहरूले विपक्षी नेता तथा पूर्वप्रधानमन्त्री याअर लापिड पनि प्रदर्शनमा सहभागी भएको जनाएका छन्। उनी ‘येश आतिड’ पार्टीका नेता हुन्। पूर्वप्रधानमन्त्री लापिडले बन्धकहरूको रिहाइका लागि नेतन्याहूलाई बाध्य पार्नका लागि हडतालप्रति आफ्नो समर्थन रहने बताएका थिए। हडताल आह्वान गर्दै ट्रेड यूनियन नेता आर्नोन बार-डेभिडले भने, “हामी एउटा समझदारीमा पुग्नैपर्छ। सम्झौता अरू कुराभन्दा धेरै महत्त्वपूर्ण छ।”

    “हामीले सम्झौताको सट्टामा शवहरू प्राप्त गरिरहेका छौँ।” हमासले बन्धक बनाएका व्यक्तिका परिवारहरूले नेतन्याहूको सरकारलाई र हमाससँग युद्धविराम गर्न दबाव दिने उद्देश्यले विगत केही सातादेखि आमहडताल गर्नुपर्ने बताउँदै आएका थिए। बन्धकका परिवारजनको एउटा समूहले अहिले शव भेटिएका छ जनाले “विगत ११ महिनादेखि हमासको नियन्त्रणमा हुँदा दुर्व्यवहार, यातना र भोक खप्नुपरेको” र अहिले उनीहरूको “हत्या भएको” जनाएको छ।

    “सम्झौतामा हस्ताक्षर गर्न भएको विलम्बले उनीहरूको र अन्य धेरै बन्धकको मृत्यु भएको छ,” उक्त समूहले भनेको छ। प्रधानमन्त्री नेतन्याहूले आफू बाँकी बन्धकको मुक्ति र देशको सुरक्षा सुनिश्चित गर्ने सम्झौताका लागि प्रतिबद्ध रहेको बताए। “तर जसले बन्धकहरूको हत्या गर्छ, उनीहरू सम्झौता चाहँदैनन्,” उनले भने। इजरायलका अतिदक्षिणपन्थी अर्थमन्त्रीले अहिले हडताल आह्वान गर्नेहरूले “हमासको स्वार्थको प्रतिनिधित्व गरिरहेको’ बताए।

    तर अरू कतिपय उक्त हडतालको पक्षमा खुलेर आएका छन्। तेल अभिभका नगरप्रमुखले आफ्नो कार्यालयका कर्मचारीहरू “बन्धक र तिनका परिवारप्रति ऐक्यबद्धता” व्यक्त गर्ने हडतालमा सहभागी हुन स्वतन्त्र रहेको बताएका छन्। गाजामा कति बन्धक बाँकी छन् भन्ने स्पष्ट छैन। गत वर्ष अक्टोबर ७ मा हमासका लडाकुहरूले २५१ जनालाई बन्धक बनाएर लगेका थिए। तीमध्ये एक नेपालका विपिन जोशीसहित केही विदेश नागरिक पनि थिए।

    हमासले गरेका आक्रमणमा परेर केही नेपाली नागरिकसहित १,२०० जनाको मृत्यु भएको थियो। उक्त अनपेक्षित आक्रमणपछि इजरायलले गाजामा थालेको सैन्य कारबाहीमा परेर ४०,००० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको तथ्याङ्क हमासले गाजामा सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले दिएको छ। मृतकमध्ये महिला र बालबालिकाको सङ्ख्या उल्लेख्य भएको बताइएको छ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै