images
images
  • ऐन विपरीत मेयर साम्पाङले दिए वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी

    सुनसरी – बेलायत भ्रमणमा जान लागेका धरानका मेयर हर्क साम्पाङले वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन्।

    चर्चा र विवादमा आइरहने मेयर साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का वडा अध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन्। उनले बुधवार असोज २८ गतेबाट लागूहुने गरी फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन्।

    कानूनत: नगर प्रमुख वा गाउँपालिका अध्यक्ष ७ दिन वा बढी समय उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिकामा उपस्थित नहुने भएमा उपप्रमुख वा उपाध्यक्षलाई कार्यभार सुम्पने व्यवस्था छ। तर मेयर साम्पाङले वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन्।

    उपमेयर पनि कार्यालयमा अनुपस्थित हुने भएमा मात्र कुनै पनि सदस्यलाई कार्यभार सुम्पने व्यवस्था भए पनि मेयर साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा अध्यक्षलाई कार्यभार दिने पत्र तयार गरेका हुन्। उपमेयर आइन्द्र विक्रम बेघाले आफू बाहिर जाने कुनै कार्यक्रम नभएको बताए ।कार्यवाहक दिने विषयमा आफूसँग कुनै सल्लाह नभएको उपप्रमुख बेघाले बताए।

    स्थानीय तह सञ्चालन ऐन २०७४ को दफा १६ को (क) १२ मा नगर प्रमुख वा गाउँ प्रमुख सात दिन भन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उप प्रमुखलाई कार्यवाहक दिनुपर्ने व्यवस्था छ।

    यदि उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने उल्लेख छ। मेयर साम्पाङले भने ऐन विपरीत उप प्रमुख हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन्।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै