काठमाडौं— नेपाली ख्रीष्टियनहरूको हकहितको निम्ति संघर्ष तथा अल्पसंख्यक धार्मिक समुदायको अधिकारको पक्षमा निरन्तर पैरवी गर्दै आएको नेपाली ख्रीष्टियनहरुको संगठन नेपाल ख्रीष्टियन समाजको अध्यक्षमा एलबी चौधरी सर्वसम्मत चयन भएका छन् ।
यहि कार्तिक २० देखि २२ गते ललितपुरमा सम्पन्न समाजको २८ औँ राष्ट्रिय महाधिवेशनले चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
देशभरका विभिन्न चर्चहरू, विभिन्न संघसंस्थाबाट सयौंको संख्यामा पास्टर तथा ख्रीष्टियन अगुवाहरूको प्रतिनिधिमुलक सहभागिता रहेको सो महाधिवेशनले ५३ केन्द्रीय समिति र १८१ विस्तारित समिति सर्वसम्मत चयन गरेको छ । जसमा, सहअध्यक्ष वर्णवास श्रेष्ठ, चन्द्र श्रेष्ठ र डिल्लीराम पाडेल सर्वसम्मत चयन भएका छन भने उपाध्यक्षमा सातवटै प्रदेशका अध्यक्षहरु र महासचिवमा राजेन्द्र मल्ललाई सर्वसम्मत चयन गरेको छ । यस्तै उपमहासचिवमा मुकुन्द कुमार शर्मा, विजय थापा, किरण दास र कोषाध्यक्षमा सुरेन्द्र श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
नवनिर्वाचित महासचिव राजेन्द्र मल्लले आफनो कार्यकालमा सरकारसँगको सम्बन्धलाई थप मजबुद बनाउँदै ख्रीष्टियन हकअधिकारको पक्षमा निरन्तर पैरवी गर्नुका साथै अन्तरधार्मिक समुदायबीच आपसी सदभावलाई कायम राख्ने बताउनुभयो । उहाँले नेपाली चर्चहरुको सशक्तिकरण र सार्वाङिण विकासलाई ध्यानमा राखी समाज रुपान्तरणमा नेपाली चर्चहरुको भूमिकालाई फराकिलो बनाउँदै एनसीएसको विभिन्न विभागहरुलाई टिओआर तयार गरी सक्रिय बनाउने बताए ।
एनसीएसलाई अहिलेको वृहत्तर अवस्थासम्म ल्याउन ठूलो भूमिका निर्वाह गर्नुभएका पूर्वमहासचिव तथा नवनिर्वाचित सहअध्यक्ष डिल्लीराम पौडेलले समाजका हरेक विषयहरुमाथि गहन छलफल गर्नुका साथै सबै सम्प्रदाय, संघसंस्था र व्यक्तिहरुले आफनोपनको महशुस गर्ने एनसीएस सबैको साझा थलो भएकोले आजदेखि मेरो भूमिका र जिम्मेवारी थपिएको बताउनुभयो ।
एनसीएसले नेपाली ख्रीष्टियनहरूसँग प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सम्बन्ध राख्ने बिभिन्न समसामयिक विषयहरुmलाई समेटदै नेपाली मण्डली, संघसंस्था र अन्तरसम्प्रदायबीचको सम्बन्धलाई थप मजबुद बनाउँदै सहकार्यको विकास गरी देशको समग्र क्षेत्रको विकासमा रुपान्तकारी प्रभाव र योगदान दिन नयाँ कार्यसमिति थप सक्रिय भएर दृढ संकल्पका साथ सँगसँगै अघि बढने बताउनुभयो ।
विहिवार सम्पन्न महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई नेपाली ख्रीष्टियनहरुको जेठो अग्रणी संस्था नेपाल राष्ट्रिय मण्डली संगतिसहित विभिन्न संघसंगठनले बधाई तथा शुभकामना दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्