काठमाडौं । गत सातादेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले आज नेपालभरका हलमा तीन सय ८० भन्दा बढी ‘शो’ पाएको छ ।
यसले नेपाली चलचित्र इतिहासमा एकैदिन सबैभन्दा धेरै ‘शो’ पाउने नेपाली चलचित्रको रेकर्डसमेत बनाएको चलचित्र निर्माण कम्पनी सेभेन सिसले जनाएको जनाएको छ ।
चलचित्रको मुख्य भूमिकामा रहनुभएका कलाकार विजय बरालले काठमाडौँ उपत्यकामा एक सय ८० र उपत्यका बाहिरका दुई सय गरी देशभरका ८९ हलमा तीन सय ८० भन्दा बढी ‘शो’ पाएर चलचित्र उत्साहजनक रूपमा प्रदर्शन भइरहेको जानकारी दिए ।
हालसम्म चलचित्रले बक्स अफिसमा प्रदर्शनमा आएको एक हप्तामै रु आठ करोड २५ लाख सङ्कलन गरेको प्रारम्भिक विवरण प्राप्त भएको पनि बरालले जानकारी दिए ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा बराल मुख्य भूमिकामा रहनुभएको छ भने प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वयम केसी, जान्वी पौडेललगायतको यसमा अभिनय रहेको छ ।
सेभेन सिस सिनेमा र बासुरी फिल्मस्को प्रस्तुति रहेको चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी तथा कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल रहेका छन् ।
यो चलचित्र गन्धर्व परिवारको कथावस्तुमा आधारित छ । चलचित्रले एउटा बुबाले छोराको सफलताका लागि गरेको सङ्घर्षको कथा समेटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्