काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गत कार्तिक २ गतेदेखी प्रहरी हिरासतमा छन् । सहकारी ठगी,सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ । राजनीतिक प्रतिशोध साँधेर लामिछानेलाई हिरासतमा राखिएको भन्दै रास्वपा नेता,कार्यकर्ता आन्दोलित छन् ।
लामिछानेलाई पछिल्लो पटक वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा रकम हिनामिना गरेको प्रकरणमा बयान लगिएको थियो ।
त्यहाँ बयान सकिएपछि लामिछानेलाई बुधवार फेरी पोखरा ल्याइएको छ । यसअघि चितवन हिरासतमा रहँदा लामिछानेमाथि दुर्व्यवहार भएको घटना सार्वजनिक भएपछि यस विषयमा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गरिरहेको छ ।
लामिछानेमाथि अमानवीय व्यवहार गरिएको विषयमा छानबिन गर्न रास्वपाले आयोगमा उजुरी दिएपछि अनुसन्धान कार्य अगाडि बढाइएको राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले मकालुखबरलाई बताए ।
‘यस विषयमा उजुरी परेपछि हामीले सम्बन्धीत पक्षसंग बुझ्ने काम गरेका छौँ । त्यसक्रमा मानव अधिकारको उल्लंघन भयो,स्वास्थ्य परीक्षण गर्न दिइएन,दुर्व्यवहार गरियो लगायतका जुन कुराहरु रवि लामिछानेले गर्नुभएको छ, यी विषयमा जानकारी लिने काम भइरहेको छ,प्रवक्ता डा.पोखरेलले भने,‘प्रहरीले दुर्व्यवहार गर्यो भनिएपछि प्रहरी अधिकारीहरुसंग पनि बुझ्ने काम निरन्तर जारी छ ।’
राष्ट्रिय मानवअधिकार आयोगले यस विषयमा जानकारी लागि गत सोमबार प्रहरी महानिरीक्षक(आईजीपी) बसन्त बहादुर कुँवरलाई बोलाएको थियो । तर, उनी उपत्यका बाहिर भएपछि उपस्थित हुन् सकेनन् ।
आयोगले केन्द्रीय कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ सहितको प्रहरी उच्चअधिकारीहरुसँग जानकारी लिएको थियो ।
‘रवि लामिछानेको विषयमा आयोगले चितवनबाट मध्यरातमा कास्की लैजाने क्रममा प्रहरी महानिरीक्षकको आदेशले उहाँमाथि अमानवीय व्यवहार गरी मानव अधिकार हनन् गरिएकोले छानविन गरी मानव अधिकार संरक्षण गरीपाउँ भन्ने समेत व्यहोराको आयोगमा परेको उजूरीका सम्बन्धमा आयोगबाट अनुसन्धान प्रारम्भ गरिएको छ,आयोगद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ,‘घटनाबारे आयोगको केन्द्रीय कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ सहितको प्रहरी उच्चअधिकारीहरुसँग आज आयोगले थप जानकारी लिएको छ ।’
कानूनी शासनको प्रत्याभूति सहित स्वच्छ पूर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्नेमा जहिल्यै आयोगको चासो रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आईजीपीसंग छिट्टै सोधपुछ गरिने
राष्ट्रिय स्वतन्त्र पार्टी (रावपा) सभापति रवि लामिछानेमाथि गरिएको भनिएको दुर्व्यवहारका विषयमा आयोगले निष्कर्षमा पुग्न प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरसंग समेत सोधपुछ गरिने प्रवक्ता पोखरेलले बताए ।
उनले भने,‘लामिछानेमाथि दुर्व्यवहार गरिएको भन्ने विषयमा थप बुझुनुपर्ने भएकाले हामीले अनुसन्धानलाई निरन्तर जारी राखेका छौँ,छिट्टै नै आईजीपीसंग बुझ्ने काम हुन्छ ।’ उनले छिटो अनुसन्धान सकेर आयोग निष्कर्षमा पुग्ने समेत बताए ।
लामिछानेमाथि दुर्व्यवहार भएको छैन : डीएसपी रिजाल
यता जिल्ला प्रहरी कार्यालय चितवनले भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि कुनै पनि किसिमको दुर्व्यवहार नगरिएको बताएको छ ।
लामिछानेमाथि प्रहरीले दुर्व्यवहार गरेको भनिएको विषय भ्रामक रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डीएसपी) भेषराज रिजालले बताए ।
लामिछानेलाई प्रचलित कानुन बमोजिम नै सुरक्षा सतर्कता अपनाई प्रहरी नायव उपरीक्षकको कमाण्डमा चितवनबाट सुरक्षित रुपमा जिल्ला प्रहरी कार्यालय कास्की पुर्याइएको चितवन प्रहरीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
लामिछानेलाई कास्की लिएर जाने कुनै पनि प्रहरीले मादक पदार्थ सेवन नगरेको पनि प्रहरीले स्पष्ट पारेको छ ।
‘विगत केही दिन यता विभिन्न समाजिक सञ्जालमा अनुसन्धानको क्रममा रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री माननीय रवि लामिछानेलाई सहकारी ठगि,संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्धामा यस कार्यालयमा ल्याइएकोमा बयान कार्य सकिएपश्चात् मिति २०८१/८/२० गते जिल्ला प्रहरी कार्यालय कास्की,पोखरामा उपस्थित गराउने क्रममा नेपाल प्रहरीका कर्मचारीले राति सुतेको बेलामा हिरासत कक्षबाट उठाएको,दुर्व्यवहार गरेको,अस्वस्थताका बाबजुत लगिएको,प्रहरी कर्मचारीले मादक पदार्थ सेवन गरेको जस्ता भ्रामक,झुट्ठा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरु टिकटक,फेसबुक लगायतका सामाजिक सञ्जालहरुमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालय चितवनको गम्भिर ध्यानाकर्षण भएको छ,जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी भेषराज रिजालद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ,‘मौसम हवाई उडानका लागि प्रतिकूल रहेकोले हवाई उडानबाट लैजान सक्ने अवस्था नरहेको,तत्काल प्राप्त सुचनाको विश्लेषण गर्दा भीडबाट नीजको सुरक्षामा समेत प्रतिकुल असर पर्न सक्ने अवस्था देखिएको र मुद्धा अनुसन्धानका लागि सीमित हदम्याद रहेको विषय समेतलाई मध्यनजर गरी चितवनमा बयान कार्य सकिएपश्चात् हिरासत कक्षमा नलगी आफन्त भेटघाट कक्षमा आफन्त तथा शुभचिन्तकहरुसंग लामिछानेले वार्तालाप गरिसकेपछि भेटघाट कक्षबाटै प्रचलित कानून बमोजिम नै सुरक्षा सतर्कता अपनाई प्रहरी नायव उपरीक्षकको कमाण्डमा चितवनबाट सुरक्षित रुपमा लगि जिल्ला प्रहरी कार्यालय कास्कीमा उपस्थित गराइएको हो ।’
प्रहरीले कोही कसैले अनुमानका आधारमा भनेको,सुनेको तथ्यहीन कुराहरुलाई सम्प्रेषण नगरी,सही, सत्य र तथ्यमा आधारित सुचना,समाचार सम्प्रेषित गर्न आग्रह समेत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनद्धारा जारी प्रेस विज्ञप्ति
गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ परेका लामिछानेमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।
सहकारी समस्याको समाधान खोज्दै बचतकर्ताको रकम फिर्ताका लागि ठोस कदम चाल्न आग्रह
यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले सहकारी सम्बन्धमा देखिएका समस्याको सार्थक समाधान खोज्दै बचतकर्ताको रकम फिर्ताका लागि ठोस कदम चाल्न आग्रह गरेको छ ।
विगतमा सरकारले सहकारीका वचतकर्ताको वचत फिर्ता र अपचलनकर्ताहरुलाई कारवाही गर्ने भनी पीडित पक्षसँग सम्झौता गर्नुका साथै समस्या समाधान गर्ने सार्वजनिक रुपमा प्रतिबद्धता जनाए पनि बचत फिर्ता हुन नसक्दा पीडितहरु पटक-पटक आन्दोलित हुनुपर्ने अवस्थाको सिर्जना हुनु चिन्ताको विषय भएको आयोगका प्रवक्ता पोखरेलले बताए ।
‘यसबाट व्यक्तिको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको हनन् हुनुका साथै न्यायप्राप्तिको अधिकारबाट समेत बञ्चित भएको देखिन्छ । यो विषय लामो समयसम्म अल्मलिँदा मूल विषय विषयान्तर भई पीडितले न्याय नपाउने अवस्थाको सिर्जना हुन सक्नेतर्फ सम्बन्धित सबै गम्भीर हुनुपर्ने देखिन्छ,बुधवार प्रवक्ता पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ,‘अतः राज्य र पीडितहरु बीच यसअगाडि भएका सम्झौता र सरकारले सार्वजनिक रुपमा गरेका प्रतिबद्धताहरुको प्रभावकारी रुपमा कार्यान्वयन गर्न, शान्तिपूर्ण प्रदर्शन तथा सभा सम्मेलन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकारको संरक्षण गर्न एवम् सहकारी सम्बन्धमा देखिएका कानूनी, नीतिगत तथा अन्य सबै प्रकारका समस्याहरु, खासगरी वचतकर्ताको वचत फिर्ता र दोषीलाई कारवाहीको लागि सार्थक र परिणाममुखी कार्य गरी समयमै यो समस्याको समाधान गर्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्