बाग्लुङ। पूर्वऊर्जा राज्यमन्त्री एवं संविधानसभा सदस्य रामजीप्रसाद शर्माको बिहीबार बागलुङस्थित निरयघाटमा अन्त्येष्टि गरिएको छ ।
उपचारका क्रममा भारतको एक अस्पतालमा मंगलबार निधन भएका शर्माको पार्थिव शरिरमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली प्रकट गर्नुभयो । सशस्त्र प्रहरी बलको शोक सलामीसहित गरिएको अन्त्येष्टिमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सचिव श्रीनाथ बराललगायत पार्टीका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।
दिवंगत शर्माको घर र अन्त्येष्टिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका पूर्वप्रधानमन्त्री नेपालले नेपालको राजनीतिक आन्दोलनले असल र निष्ठावान नेतालाई गुमाएको बताउनुभयो । जनगायक जेबी टुहुरेको ‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदोरैछ, देशभक्त छोरो मर्दा देशै रूँदो रैछ’ गीत स्मरण गर्दै पूर्वप्रधानमन्त्री नेपालले व्यक्ति दिवंगत भएर गए पनि उसका सही कर्म र योगदानको सदा स्मरण भईरहने धारणा व्यक्त गर्नुभयो । देश र जनताप्रति जीवन समर्पित शर्मा आफ्ना व्यवहार र आचरणका कारण जनतामाझ लोकप्रिय रहेको नेपालको कथन थियो ।
विसं २०६४ को पहिलो संविधानसभा चुनावमा बागलुङ १ बाट निर्वाचित भई ऊर्जा राज्यमन्त्री बन्नु भएको थियो । बागलुङको कम्युनिष्ट आन्दोलनको अगुवा नेताका रूपमा चिनिने शर्मा नेकपा (एकीकृत समाजवादी)मा स्थायी कमिटी सदस्यको जिम्मेवारी बहन गर्नु भएको थियो ।
कुशल संगठक र विकासप्रेमी नेताका रूपमा परिचित शर्माले पञ्चायतकालमा बागलुङमा तत्कालीन नेकपा (माले) स्थापना र संगठन विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोथियो । मिर्गौला प्रत्यारोपणका लागि भारत गएका शर्माको ६८ वर्षको उमेरमा उपचारकै क्रममा निधन भएको थियो । शर्माका श्रीमती, दुई छोरा र छोरी छन्। ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्